सिन्धुलीमा खडेरीले खायो ५ हजार रोपनीको हिउँदेबाली

सिन्धुलीमा खडेरीले खायो ५ हजार रोपनीको हिउँदेबाली

सिन्धुली : सिन्धुलीको सुनकोसी गढतीर क्षेत्रमा पानीको अभावमा ५ हजारबढी रोपनीमा लगाइएको मकै लगायतका हिउँदेबाली खडेरीले सुक्न थालेको छ।

जिल्लाको गोलन्जोर र फिक्कल गाउँपालिका अन्तर्गत कोसीगढतिरमा पर्ने खुर्कोट, सुगुरे, बारा, मुर्कीबेसी, ग्वाल्टार, च्याकुटार, डुडभन्ञ्याङ, खाङसाङ लगायतका क्षेत्रका किसानको ५ हजारबढी रोपनी क्षेत्रफलमा लगाइएको मकै लगायतका हिउँदेबाली खडेरीले सुकेर नष्ट हुँदै गएको किसानले बताएका हुन्।

गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा मात्र १ हजार ८ सय रोपनी क्षेत्रफलमा लगाइएको मकै पानी अभावमा सुकेर नष्ट हुन थालेको स्थानीय किसान गौरव कार्कीको भनाई छ।

लगातार परेको खडेरीका कारण यस्तो अवस्था आएको हो। स्थानीय किसानको २ सय रोपनी क्षेत्रफलमा सिंचाई गरिँदै आएको ठूलो कुलोमा मध्येपहाडी लोकमार्ग निर्माण गर्दा क्षति पुगेपछि पानी आउन छाडेको ५ वर्ष बढी भयो।

‘१ हजार २ सय रोपनी क्षेत्रफलमा सिंचाई गरिने अर्को कुलो मुहान खोलाको मुहान सुक्दा पानीको अभाव भएको छ। सँगै रहेको मूल कुलो पनि सुक्दा थप ४ सय रोपनी क्षेत्रफलमा गरिने सिंचाई कुलोमा पनि पानी छैन,’ उनले भने।

ग्वाल्टार क्षेत्र अन्नबाली उब्जनीको हिसाले पकेट क्षेत्र मानिन्छ। यस क्षेत्रमा प्रायः आकाशबाट वर्षा कम हुन्छ। अर्का किसान पुरुषोत्तम बराल आकाशको वर्षातको कुनै भर नभएको र वषौंदेखि प्रयोग गर्दै आएको कुलोमा पानी सुक्दा लगाएको अन्नबाली तरकारी तथा फलफुल सबै सुकेर नष्ट हुन थालेको बताउँछन्।

गोलन्जोर गाउँपालिकाको खुर्कोटदेखि फिक्कल गयाउँपालिकाको खाङ्साङसम्मको झण्डै ४५ किलोमिटर क्षेत्र पुरै सुख्खा क्षेत्र हो।

‘खेतबारी तल सुनकोसी नदी बगेको छ। नदीमाथिका सबै जमिन खडेरीले खाइसक्यो। सिंचाईको व्यवस्था गर्न नसक्दा खडेरीसँगै अनिकाल बढ्ने चिन्ता बढ्दै गयो,’ किसान बरालले भने।

‘यस्ता क्षेत्रमा माथिबाट आउने खोला तथा खोल्साहरूमा भूकम्प पछि बर्सेनी बढ्ने तापक्रमले सुक्दै गएका छन्। तल सुनकोसी नदीमा पानी भएपनि कुलोमा आउँदैन। लिफ्ट गर्न धेरै ठूलो रकम खर्च गर्नु पर्छ। त्यो किसानबाट सम्भावना छैन। सरकारले वास्ता गरेको छैन,’ बरालले थपे।

सुख्खा क्षेत्र घोषणा गर्न माग

हरेक वर्ष पानीको अभावमा लगाइएको खाद्यान्न तथा फलफुल र तरकारी बालीमा समेत क्षति पुग्ने गरेपछि कोसी गढतीर क्षेत्रका किसानहरूले उक्त क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। विगद चार वर्षदेखि सिंचाईको व्यवस्था नभएको क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्न गरिएको मागलाई यो वर्षपनि दोहोर्‍याएको किसान गौरव कार्की बताउँछन्।

‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग डेलिगेसन गएर गढतीर क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी सिंचाईको व्यवस्थाका लागि काम गर्न माग गरेका छौं। तर, कुनै तहका सरकारले सुनेका छैनन्,’ उनले भने।

तत्काल सुख्खा क्षेत्र घोषणा गरेर काम नगरे सबै बालीमा आगो लगाएर सरकार विरुद्ध किसानहरू एक भएर आन्दोलनमा उत्रने कार्कीको चेतावनी समेत छ।

खडेरीका कारण किसानहरूको वार्षीक उत्पादन गर्ने, धान, मकै, गहुँ, तोरी तथा फलफुल र तरकारी खडेरीले सुक्दा करोडौं नोक्सान हुने भएकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने खुर्कोटका अर्का किसान दीपेन्द्र आचार्यको माग छ।

‘सिंचाईको सुविधा नभएको क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गर्नुपर्दछ। त्यस्ता किसानहरूलाई क्षतिपूर्ति पनि दिनु पर्छ,’ उनले भने।

आपत्तकालीन बाली संरक्षण गर्ने

उता गोलन्जोर गाउँपालिकाकाले आपत्तकालिन बाली संरक्षणका लागि पहल गर्ने भएको छ। सिंचाई अभावमा बालीनाली सुकेपछि मकै लगायतका बालीलाई सुनकोसीको पानी तानेर सिंचाई गर्ने व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष पुष्प कार्कीले जनाए।

‘तत्काल सिंचाईका लागि कोसीको पानि तानेर सिंचाई गर्ने व्यवस्थाका लागि मोटर, पाइप, तार विद्युतको व्यवस्थापन गाउँपालिकाले गरिदिने छ। अर्को वर्षबाट पालिकाले विशेष कार्यक्रम बनाएर सिंचाईका लागि वैकल्पिक व्यवस्थापनका लागि पहल गर्ने छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.