आतंकवादको त्रास
विदेशमा अपराध गरेर नेपालमा लुक्नेलाई यहाँको विद्यमान प्रणालीले तत्काल कानुनी दायरामा ल्याउने स्थिति बन्न सकेको छैन
इसाई धर्मावलम्बीको इस्टरको अवसर पारेर श्रीलंकाको राजधानीस्थित गिर्जाघर र पश्चिमी देशका पर्यटकको भीडभाड हुने पाँचतारे होटेलहरूमा एकैदिन अर्थात् २१ अप्रिल २०१९ का दिनमा शृंखलाबद्ध आत्मघाती बम विस्फोटमा करिब ३६० भन्दा बढी मानिसको मृत्यु भयो। पाँच सयजना घाइते भए। इस्लामिक स्टेट नामक अन्तर्राष्ट्रिय आतंकवादी संगठनले गर्व गर्दै भन्यो, ‘यो विस्फोट गराउने काम हाम्रा सहयोगी योद्धाहरूबाट भएको हो।’ श्रीलंका सरकारले यो आत्मघाती विस्फोट गराउने कार्य नेसनल थोहित जमातबाट भएको भनेको छ। यो संगठन श्रीलंकाभित्रै उब्जिएको मुस्लिम अतिवादी संगठन हो, जसको सम्बन्ध इस्लामिक स्टेटसँग रहेकोमा शंका गर्नुपर्ने ठाउँ छैन। सरकार भन्छ– १३० जनाभन्दा बढी मुस्लिमको संलग्नता इस्लामिक स्टेटसँग रहेको र उनीहरूबाट थप खतरा छ।
सन् १९८१ देखि २०१५ को बीचमा संसारका ४० देशमा ४८१४ वटा आत्मघाती बम विस्फोट भए। यसमा ४५ हजार मानिस मारिए।
आतंकवादको नयाँ अनुहार
दक्षिण एसियामा भएको उक्त घटनाले समुच्चा संसारलाई एकपटक फेरि आतंकवादसँग जुध्नका लागि समान धारणासहित सहकार्य गर्नुपर्नेतर्फ घच्घच्याएको छ। विश्वव्यापीकरणले सञ्चार र यसका प्रविधिलाई यसरी उन्नत बनाइदिएको छ कि मानव संहार गर्ने आतंकवादी संगठनहरूको समन्वय, सूचना संकलन, विश्लेषण र तोकेको स्थानमा विस्फोट गराउने वा प्रहार गर्ने तागत र क्षमता दुवैमा सहजता पैदा गरेको छ।
वृद्धि गरेको छ। आतंककारीहरूले मनी, म्यान र म्याटेरियल स्थानान्तरण गर्न विश्वव्यापीकरणको प्रणालीभित्र छिरेर सहजै लक्ष्य भेदन गर्न सक्ने स्थिति विकास भएको छ। ‘सेप्टेम्बर ११’ को हमलापछि संसारभरि आतंकवादका विरुद्धमा अमेरिकालगायत सबै देश एकजुट हुँदा पनि आतंकी घटना दर्दनाक रूपमा भइरहेका छन्। ‘सेप्टेम्बर ११’ को आतंकवादी हमलाले ‘ननस्टेट एक्टरलाई हिंसा गर्ने आतंकी पक्ष र शासन प्रणालीको पद्धतिभित्र बसेर गैरहिंसात्मक कार्य गर्ने पक्ष गरी दुई किसिममा विभाजित गरियो सेप्टेम्बर ११ को घटना गराउनेहरू नन्स्टेट एक्टर थिए। ‘सफ्ट पावर’ को रूपमा व्याख्या गरिने ननस्टेट एक्टरहरू त ती हुनुपर्छ जो तर्साएर वा खतरा पैदा गराएर आफ्नो अभीष्ट पूरा गर्दैनन्।
आतंकवादी उक्त घटनाले संसारको प्रणालीमै रूपान्तरण ल्याएको छ। क्षेत्रीय वा अन्तर्राष्ट्रिय संगठनहरूले आतंवादसँग जुध्ने नयाँ रणनीति तय गर्दै सहकार्यमा जोड दिन थाले। फलस्वरूप अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैनिक कारबाहीले तालिवानको सरकारलाई मात्र विस्थापित गरेन, सेप्टेम्बर ११ को मुख्य योजनाकारको रूपमा रहेको विन लादेनलाई उसकै बंकररूपी घरमा घुसेर सफाया गर्यो।
यसले एउटा अध्यायलाई समाप्त गरे पनि नयाँ अध्यायको पानालाई पल्टाउनबाट रोक्न सकेन। इस्लामिक स्टेट ले इराक र सिरियामा आफ्नो आतंकी गतिविधि बढाउन थाल्यो। उसका गतिविधिले संसारको एकल महाशक्तिका रूपमा रहेको अमेरिका र उसका सहयोगी राष्ट्रहरूका आँखामा नीद आउनै दिएन। आणविक हतियारसम्मको पहुँच राख्न सक्ने क्षमता वृद्धि गरिसकेको उक्त आतंकवादी संगठन मध्यपूर्वका मात्र सीमित नरहेर अफ्रिका र दक्षिण एवं दक्षिणपूर्वी एसियासम्म आफ्नो संगठन विस्तार गर्न सक्षम देखियो। अहिले, सिरिया र इराकबाट हार खाएर पछारिए पनि ऊ चुप लागेर बसेको छ भन्न सकिन्न।
उसले हेर्ने भनेको अफ्रिका र एसियाका विकासशील राष्ट्रहरूमा ‘सफ्ट टार्गेट’ निर्माण गर्ने उद्देश्यतर्फ हो। जुन देशमा सुरक्षाको हिसाबले बलियो आधार तयार भएको छैन वा इस्लामिक स्टेटको आँखाबाट ‘ग्रे एरिया’ जहाँ छ, उसको टार्गेट त्यही हो।
अस्थिरता सिर्जना गराउने हेतुले पश्चिमालाई तर्साउने र बदला लिने उद्देश्यले हिंसा फैलाउने, बम प्लान्ट गर्ने, आत्मघाती विस्फोट गराउने कार्य यहाँ हुन सक्दैन भनेर आँखा चिम्लनु हुँदैन।
उसको आफ्नै उपस्थिति त्यस्तो देशमा अनिवार्य नहुन सक्छ। तर उसले आधुनिक सञ्जाल प्रविधिको प्रयोगद्वारा स्थानीय युवाहरूलाई आफ्ना प्रभाव जालोमा पारेर ‘आत्मघाती बम दस्ता’ तयार पार्दै अमेरिकाविरोधी अभियानलाई परिणाममा ल्याउन खोजिरहेकै छ। प्रतिआतंकवादी लडाइँमा समेत निपुण मानिएको श्रीलंकाको सुरक्षा निकायलाई चक्मा दिँदै जसरी स्थानीय जिहादी संगठनले धार्मिक केन्द्र र होटेलहरूमा आत्मघाती बम विस्फोट गरायो र सयौं मानिसलाई मार्यो, त्यसले एउटा कुराले पुष्टि गर्छ– धार्मिक अतिवादले दक्षिण एसियालाई आफ्नो चपेटामा लिन खोजिरहेको छ। धार्मिक अतिवादले गराएका अनेकौं आतंकवादी घटनाबाट पाकिस्तान आफैं परेसान भइरहेको स्थितिमा, भारतमा समेत केही समयअघि (फेब्रुअरी २०१९) कश्मीरस्थित सुरक्षा क्याम्पमा आत्मघाती बम विस्फोट गराएर ४२ जनाभन्दा बढी सुरक्षाकर्मी मारिनुलाई सामान्य अर्थमा लिन सकिँदैन।
धार्मिक अन्धताले मानवीय मूल्य र मान्यता बिर्सेको छ। राज्यभन्दा धर्मलाई ठूलो मानेको छ। धर्मको नाममा जीवनको बलिदान गर्नुलाई स्वर्ग प्राप्तिको सिँढी ठानेको छ। यही धार्मिक उग्रता र कठमुल्लापनले अबको समाज बढी त्रसित र भयभीत बन्दै छ। आधुनिक कालको आत्मघाती बम आक्रमणको सुरुआत डिसेम्बर १९८१ मा बेरुतस्थित इराकी दूतावासमा विस्फोटकले भरिएको गाडी लगेर जोतेदेखि भएको हो। यसको फैलावट बढ्दो छ। यो हाम्रो घरदैलोनजिक आइसकेको छ। अहिले आतंकवादको अनुहार धार्मिक कट्टरपनाको परिणाममा देखा परेको छ। आतंकी संगठनलाई गरिब परिवारका युवाहरूलाई लोभ, लालच र डरमा पारेर आत्मघाती दस्ताको रूपमा संगठित गर्नु–गराउनु सामान्य बनेको छ।
किनकि आत्मघाती बम विस्फोटबाट आफ्नो शत्रु पक्षको नोक्सान गराएर आफ्नो क्रियाशीलताको परिणामउन्मुख परिचय दिलाउने उद्देश्यमा उनीहरू सफल हुन्छन्। हुन त धर्मले मानसिक शान्ति, मनोवैज्ञानिक समृद्धि, सन्तुष्टि र सन्तोष दिन्छ। यसले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्छ, गर्नुपर्छ। परन्तु, धार्मिक अन्धताले हिंसात्मक गतिविधि बढाउँछ। आतंकवादलाई बढावा दिन्छ। यसले गर्दा समाजको परम्परागत संरचना, शैली र सोचमा द्वन्द्व सिर्जना हुन्छ। जब समाजमा द्वन्द्व सिर्जना हुन थाल्छ, त्यसले सरकारको अस्तित्वमाथि नै प्रश्न उठाउन थाल्छ र मुलुक ‘फेल्ड स्टेट’ मा दरिन पुग्छ। ‘फ्यानाटिसिज्म’ धार्मिक कट्टरपनमा अधिकतम मात्रामा घोलिएको हुन्छ। यसले गरिब परिवारको युवा पुस्तालाई आफ्नो प्रभावमा लिने गरेको छ। हुन त आतंकवादको नयाँ अनुहारलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा मध्यम वर्गका शिक्षित युवाहरू आकर्षित हुन थालेको समाचार आइरहेको पाइन्छ। विशेषगरी मुस्लिम धर्मावलम्बीमा यो अतिवाद झाँगिदै गएको छ। नेपालको सन्दर्भ
टेरोरिज्म इन्डेक्सका आधारमा आतंकवादबाट सबैभन्दा प्रभावित देशहरूमा इराक, अफगानिस्तान, नाइजेरिया, सिरिया र पाकिस्तान संसारका पाँच प्रमुख प्रभावित देशभित्र क्रमैसँग पर्छन्। सन् २०१७ मा नेपालको उक्त इन्डेक्स २०१६ को तुलनामा बढेको देखाएको छ, जुन ४.३९ बाट ५.३० पुगेको छ। यद्यपि नेपालमा आतंकवादले खासै प्रभाव पारेको छैन र जनजीवन शान्त छ भन्ने विश्लेषण गरिन्छ। दक्षिण एसियामा आतंकवादबाट ज्यादै पीडित पाकिस्तानजस्तो स्थिति नेपालमा छैन। तर श्रीलंकाको हालैको घटनालाई एउटा सूचकका रूपमा लिने हो भने नेपाल पनि आतंकी छायाको संकट जोनभित्र पर्ने स्थितिलाई नकार्न सकिँदैन। यसका केही कारण छन्।
नेपालको खुला सिमानाले अतिवादी संगठनबाट निर्देशित आतंककारीहरूको भूमिगत आवतजावतलाई अनुगमन गर्ने र नियन्त्रण गर्ने वैज्ञानिक प्रविधि र प्रणालीको कमी छ। भारतले, नेपालमा आतंकवादीहरू लुकेर बस्छन् भन्ने गुनासो पटकपटकमा द्विपक्षीय छलफलमा उठाउन गरेको छ, जसको चिन्ता नेपालमा बसेर भारतमा घटना गराउँछन् वा त्यहाँ घटना गराएर नेपालमा पस्छन् भन्नेसँग सम्बन्धित हुन्छ। धेरैपटक नेपाल र भारतको सिमानाबाट आतंकवादीलाई भारतले पक्रने गरेको छ।
नेपालको अध्यागमनसँग व्यक्तिको विगत अभिलेख जाँच्ने र हेर्ने गतिलो प्रविधि र पद्धति छैन। त्यै भएर गलत तत्वहरूको प्रवेश हुँदा, अध्यागमनले चिन्न सक्दैन। विदेशमा अपराध गरेर नेपालमा लुक्नेलाई यहाँको विद्यमान प्रणालीले तत्कालै कानुनी दायरामा ल्याउने स्थिति बन्न सकेको छैन।
संसारमा धार्मिक अतिवादी संगठन विशेषगरी मुस्लिम धर्मावलम्बीहरूको सन्दर्भमा पश्चिमी देशहरू बढी चिन्तित छन्। किनकि, यी अतिवादी आतंककारीको दुस्मनी अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूसँग रहेको छ। श्रीलंकाको आतंकवादी घटना यसको एउटा उदाहरण हो। उनीहरू इसाई र अमेरिकी नागरिकप्रति बढी असहिष्णु बनेका छन्। नेपाल धार्मिक सहिष्णुता र धार्मिक एकताको राम्रो उदाहरण रहेको मुलुकमा गनिन्छ। छिटफुट घटनाबाहेक यहाँ हिन्दु, बौद्ध, मुस्लिम र क्रिस्चियन धर्मावलम्बीका बीचमा कहिल्यै दुर्घटना भएको देखिँदैन। तर, अवस्थिति फरक बन्दै गएको छ। क्रिस्चियनिटी आक्रामक ढंगले विस्तार हुँदैन। यसले हिन्दुहरूलाई चिन्तित तुल्याएको छ। उता मुस्लिम धर्मावलम्बीहरूको हजारौं संख्याका मदरसामा पढाइने विषय कानुनसम्मत ढंगले हिँडेको छैन भन्ने कुरा पनि अगाडि आइरहेको छ। केही मदरसाका शिक्षकले अतिवादी सोचका विचार विद्यार्थीलाई दिने गर्छन् भन्ने चर्चा पनि सुनिन्छ।
त्यसो हो भने त्यसतर्फ चनाखो बन्नैपर्छ। हिजोसम्म गरिबी र अशिक्षामा रहेका युवा जिहादको नाममा आफ्नो ज्यान दिन तम्सिनेहरूको पंक्तिमा धनी र शिक्षित युवा पनि समावेश हुन थालेका छन्। श्रीलंका घटनामा दुइटा होटलमा बम प्लान्ट गर्ने युवा दाजुभाइ त्यहाँको धनाढ्य परिवारका थिए।
नेपाल सरकारको ध्यान समृद्ध नेपाल बनाउनेतर्फ उद्यत् रहेको मौका छोपी अस्थिरता सिर्जना गराउने हेतुले प्रायोजित रूपमा वा आफ्ना उपस्थिति देखाएर पश्चिमालाई तर्साउने र बदला लिने उद्देश्यले हिंसा फैलाउने, बम प्लान्ट गर्ने, आत्मघाती विस्फोट गराउने कार्य हुन सक्दैन भनेर आँखा चिम्लनु हुँदैन।
सुरक्षा निकायले आफ्नो सञ्चारप्रणाली र सजाललाई व्यापक र विस्तार गर्ने, शंकास्पद व्यक्तिहरूको पहिचान गर्ने, रोस्टर राख्ने, उनीहरूका अनलाइन कम्युनिकेसनको अनुगमन र विश्लेषण गर्ने, उनीहरूको बोल्ने प्राकृतिक बोली र भाषाको विश्लेषण गर्ने कार्य गर्नु जरुरी छ। यसका लागि आधुनिक प्रविधि भिœयाउने, दक्ष व्यक्तिहरू राख्ने गर्नु जरुरी भइसकेको छ। फिल्डमा आधारित इम्पेरिकल रिसर्च गर्नुपर्छ। यसले व्यक्तिगत अभिलेखलाई बढी प्रामाणिक गर्छ। यसो गरिरहँदा व्यक्तिको अधिकार र स्वतन्त्रताको अवरोध नहोस् भन्नेतर्फ सजग रहनुपर्छ नै। फाल्स निगेटिभ (भूmटो नकारात्मक) को बीचमा ‘ट्रेड अफ’ गर्न सुरक्षा निकायलाई चुनौती छ तर असम्भव छैन।