सञ्चालन भयो भैरहवा सेज

सञ्चालन भयो भैरहवा सेज

भैरहवा : निर्माण सकिएको लामो समयपछि भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएको छ। शक्ति मिनरल्स प्रालिले आफ्नो उद्योग सञ्चालनमा ल्याएसँगै सेजभित्र उद्योग सञ्चालन सुरु भएको हो।

उद्योगमन्त्री मातृकाप्रसाद यादवले मंगलबार एक कार्यक्रमबीच उद्योगको उद्घाटन गरे। ‘सेज सञ्चालनमा समन्वय अभाव हुँदा विगतमा बाधा अड्चन उत्पन्न भयो’, उनले भने, ‘तर, पटक–पटकको प्रयासपश्चात सेज सञ्चालनमा आएको छ। यसलाई सबैले सकरात्मक रूपमा लिनुपर्छ।’ सेज सञ्चालनमा आएसँगै स्वदेशी वस्तु सहजरूपमा निर्यात गर्न सफल हुने विश्वास गरिएको छ।

मन्त्री यादवले अब नेपालमा लगानीमैत्री वातावरण बनेको दाबी गरे। उनले यसको प्रत्याभूति दिलाउन बुधबार नै मन्त्रालयले एकद्वार प्रणाली लागू गरी उद्योग दर्तामा सहजता ल्याउने जानकारी दिए।

विगतमा लगानीकर्ता उद्योग दर्ता गराउन निकै दौडधुप गर्नुपथ्र्याे तर अब दौडधुप गर्नुपर्दैन’, उनले भने, ‘फाइल मन्त्रालयमा पुगेपछि त्यसपछिको सबै काम हाम्रो हो। एक ठाउँमा बसेपछि सबै काम त्यहीबाट हुन्छ।’

मुलुकमा उत्पादनको कमी र विलासिताका साम्रगीको बढी आयात हुँदा व्यापार घाटा बढेको उनले बताए। उनले नारा दिएर नै पञ्चायत व्यवस्था ढालेको स्मरण गर्दै समृद्ध नेपाली, सुखी नेपाली नाराबाट नै विकासको सुरुवात हुने उल्लेख गरे।

उद्घाटन भएको ४ वर्षपछि सेजमा उद्योग सञ्चालन भएको हो। चार वर्षअघि तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए। विभिन्न अवरोधका कारण ढिलै भए पनि सेजमा उद्योग सञ्चालन भएपछि अब सेजले फड्का मार्ने विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीप्रसाद भट्टले बताए।

सेजको ६९ वटा प्लटमा उद्योग स्थापनाका लागि २० वटा उद्योगले सम्झौता गरेका छन्। यसमध्ये एउटा उद्योग सञ्चालनमा आएको छ भने अन्य १० उद्योगले पनि निर्माण कार्य थालेको कार्यकारी निर्देशक भट्टले बताए।

रूपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लट छन्।

४० करोड लगानीमा १७ हजार वर्गमिटर क्षेत्रफलमा सञ्चालनमा आएको यो उद्योगले डोलामाइट र फ्लक्स उत्पादन गर्ने शक्ति मिनरल्सका अध्यक्ष विनोदकुमार श्रेष्ठले बताए। यो स्टिल गलाउन स्टिल उद्योग, पेन्ट्सलगायत उद्योगका भट्टीमा प्रयोग हुने गर्छ। उनका अनुसार उद्योगले वार्षिक एक अर्ब रुपैयाँको उत्पादन गर्नेछ। उद्योगको दैनिक १५ सय टन उत्पादन गर्ने क्षमता छ। उद्योगले उत्पादित गर्ने वस्तु विदेश निर्यात गर्न सरकारीस्तरबाट स्विकृति पाइसकेको छ। यो उद्योग नेपालमा पहिलोपटक सञ्चालनमा आएको बताइएको छ।

विशेष आर्थिक क्षेत्रमा विशेष गरी वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुनेछन्। सेजमा विशेष गरी खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल, छालाका वस्तु, तयारी पोसाक, गलैंचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहनेछन्।

विशेष आर्थिक क्षेत्र सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न ल्याएको नीति हो। यो क्षेत्रमा स्थापना हुने उद्योगका लागि प्रारम्भिक आधारभूत विकास निर्माण काम सरकारले नै निर्माण गर्छ। यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ६० प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ।

उद्योगभित्रका कर्मचारीले केही निश्चित वर्षसम्म हड्ताल तथा आन्दोलन गर्न र उद्योग बन्द गराउन पाउँदैनन्। उद्योगले विदेशमा आफ्नो सामान निर्यात गर्दा कुनै पनि भन्सार कर तिनु पर्दैन। विदेशबाट उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा भन्सारमा छुट हुन्छ। यसका कारण स्वदेशमा उत्पादन भएका वस्तु विदेश निर्यात हुनाले विदेशी मुद्रा आर्जन गरी देश समृद्ध बनाउने सरकारको उद्देश्य छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.