किशोरी मृत्यु प्रकरण : युवकको नाममा किटानी जाहेरी दर्ता
बैतडी : बैतडीको मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्य प्रकरणमा एकजनामाथि किटानी जाहेरी दर्ता भएको छ । सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
क्षेत्रीले चन्दलाई जबरजस्ती करणी गरी आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाइएको छ । क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चन्दले बताए ।
उनले भने ‘मृतक चन्दका बुवा मदनबहादुर चन्दले किटानी जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा क्षेत्रीलाई प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।’बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो । सावित्रीको कोठामा खानतलासी गर्दा पक्राउ परेका क्षेत्रीको पर्सभित्र फोटो, नागरिकता र दश हजार नगद फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । सावित्री मणिलेक मावि काँडा मेलौलीमा कक्षा १२ मा अध्ययन गरिरहेकी थिइन् ।
बिहीबार साँझ अवेरसम्म मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् । घटनाको विषयमा सत्यतथ्य छानविन हुनुपर्ने, दोषी भनिएका व्यक्तिलाई हदैसम्मको कानुनी कारवाही हुने ग्यारेन्टी हुनुपर्ने, शव जलाएपछि प्रमाण नष्ट हुनसक्ने आशंका रहेकाले शव बुझ्न नमानेको मृतकका आफन्तको भनाइ उद्धृत गर्दै स्थानीय केशवसिंह भाटले बताए ।
प्रतिक्रिया दिनुहोस !