नारायणी नायक
भीम विरागलाई मैले पहिलोपल्ट जुवाको खालमा भेटेको हुँ। पछि थाहा भो, उनी जुवातास खेल्नै जान्दैनन्। हेटौंडाले आजको आकार लिइसकेको थिएन। हुप्रको चौर जुन पछि नगर विकासको व्यवस्थित योजनाले राम्रो देखियो, त्यो पनि थिएन। मूल सडकबाट भुटनदेवी मन्दिर जाने मोडको एउटा घरको चोटामा जुवाको खाल जमिरहेको थियो। मेरो बुवा दसैंतिहारमा जुवामा रमाउनुहुन्थ्यो। एक प्रकारको खेलाडी नै हुनुहुन्थ्यो। हेटौंडाको हाम्रो मूल घर जुवा जितेर नै बनाइएको थियो।
जुवाको खाल जमिरहेको ठाउँमा एक हूल मानिस ग्वारग्वार्ती आए। एउटा अलि कुप्रो मानिसलाई सबैले अभिवादन गर्दै भीम दाइ बसौं बसौं भने। त्यो हूलमा आएका एकाधले जुवामा च्याँखे थापे, कसैले कौडा पनि हाने। अनि केही बेरमा त्यो हूल खालबाट बाहिरियो। त्यो हूलसँगै भीम दाइ पनि बाहिरिए।
म स्कुले केटो थिएँ। भाषासाहित्यको बारेमा कुनै ज्ञान नभएको बेला थियो।
कालान्तरमा तिनै भीम दाइसँग झन्डै सहोदर दाइजत्तिकै स्नेहवत् सम्बन्ध भयो म साहित्यमा टुकुटुकु हिँड्न थालेपछि। अनि यो पनि थाहा भो, पहिलोपल्ट जुवाको खालमा भेटिएका उनी जुवा तास खेल्नै जान्दैनन्। उनी त चाडबाडको रमझमपछि साथीहरूसँग साथ लागेर मात्र आएका रहेछन्।
भीम दाइसँग वास्तवमा म काठमाडौं गएपछि मात्रै संगत सुरु भयो। म काठमाडौं बस्न थालेँ, भीम दाइ हेटौंडा। अनि संगतको सुरुआत भयो साहित्यको कारणले। किनभने मेरो वास्तविक साहित्यको यात्रा काठमाडौंबाटै सुरु भयो। मैले पहिलो रचना हेटौंडामै लेखे पनि, त्यो अल्लारे थियो र साहित्य नबुझीकनै केही थान कविताजस्ता लाग्ने अभिव्यक्ति थिए।
भीम विराग कान्ति राजपथको एउटा घरको माथिल्लो तलामा बस्थे, तल्लो तलामा भने प्रेस थियो। अनि सिंगै घरको वारपार निकै ठूलो अक्षरमा नारायणी अञ्चल प्रेस लेखिएको थियो। भीम विराग भन्थे, ‘राजा महेन्द्रले तराईका अञ्चलहरूमा हिन्दी भाषाले अतिक्रमण गर्दै ल्याएकाले तराई छुने अञ्चलहरूको तराई क्षेत्रमा अञ्चल प्रेस स्थापना गरेर पत्रिका प्रकाशन सुरु गरे। अनि नारायणी अञ्चलको नारायणी प्रेस र नारायणी पत्रिकाको जिम्मा पाए भीम विरागले। त्यसैका लागि उनले आफ्नो थातथलो वीरगन्ज छाडेर हेटौंडा बस्न आए र आजीवन हेटौंडा नै बसे।
त्यसरी खुलेका अञ्चल प्रेस समयको क्रममा सबै नासिएर गए। एक मात्र प्रेस बचेको थियो नारायणी प्रेस। अनि नारायणी पत्रिका। त्यो दुवै भीम दाइले जोगाएका थिए। तर पछि पञ्चायतको अनुदारवादी र उदारवादी दुई खेमाको विकास हुने क्रममा भीम दाइको हातबाट नारायणी प्रेस र नारायणी पत्रिका खोसियो र केही महिनाको अन्तरालमै त्यसको नामनिशाना सदाका लागि मेटियो। पछिसम्म पनि भीम दाइलाई त्यो प्रेस नष्ट भएकोमा दुःख लाग्थ्यो।
म २०३१ सालको एसएलसी परीक्षामा सामेल भएको हुँ। दोस्रो श्रेणीमा पास भएपछि थप अध्ययनका लागि काठमाडौं आएँ। र मेरो स्कुले बेलामा अंकुरित साहित्यिक सिर्जनशीलताले काठमाडौंमा मुना हाल्न थाल्यो। अनि २०३६ सालको जनमतसंग्रहको घोषणापछि २०३७ सालमा बहुदलको पक्षमा भएको ऐतिहासिक सडक कविता क्रान्तिमा सामेल भएपछि र अखबारहरूमा नाम छापिन थालेपछि, कविताहरू छापिन थालेपछि हेटौंडा जाँदा भीम विरागसँग साहित्यिक हिसाबले सम्बन्धको विकास हुन थाल्यो। तर झाँगिन भने २०४१ सालसम्म कुर्नुपर्यो।
लेखनाथ शतवार्षिकीको उपलक्ष्यमा पाल्पामा भएको महत्वपूर्ण साहित्य सम्मेलनमा भाग लिएपछि हेटौंडामा पनि त्यस्तै कार्यक्रम आयोजना गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी ममा पलायो। अनि मैले हेटौंडामा गएर भीम विरागसमक्ष यो प्रस्ताव राखेँ। भीम दाइ वीरगन्जमा छँदा नारायणी साहित्य परिषद्सँग सम्बन्धित हुनुहुन्थ्यो। तर हेटौंडामा कुनै साहित्यिक संघसंस्था थिएनन्। अनि मैले प्रस्ताव गरेँ, ‘त्यसो भए मकवानपुर साहित्य परिषद् गठन गरौं।’ यो प्रस्ताव उहाँले मन पराउनुभयो र मकवानपुर साहित्य परिषद्को गठन, दर्ता सबै भयो। भीम दाइ, मलगायत संस्थापक सदस्य हुने गरी र भीम दाइ सर्वमान्य मकवानपुर साहित्य परिषद्को अध्यक्ष हुनुभयो। त्यही मकवानपुर साहित्य परिषद्ले हेटौंडाको इतिहासमा पहिलो बृहत् साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न गर्यो। यसपछि भने भीम दाइसँग निकटता कति बढ्यो भने हामी सहोदर दाजुभाइ जत्तिकै भयौं।
भीम विरागलाई राजा महेन्द्रले कलकत्तामा उपचारका लागि पठाएका थिए। उनी त्यो गुनका लागि आजीवन महेन्द्रभक्त र महेन्द्रले ल्याएको पञ्चायतको भक्त रहे। मन, वचन, कर्मले सदा समर्पित भइरहे। उनको कलम मात्र चल्ने होइन, संगीत र गायनमा पनि उत्तिकै पकड थियो। त्यसैले मकवानपुरका उच्चस्तरीय सबै औपचारिक अनौपचारिक जमभट र भेलामा उनी अनिवार्य आमन्त्रित हुन्थे। सुराको सुर चढेपछि सबै संगीतप्रेमी हुन्थे, अञ्चलाधीश, सिडिओ र आयोजना प्रमुखहरू, जनरल म्यानेजरहरू। भीम दाइ गाइदिन्थे। पञ्चायतकालमा हुने ती अनेक महफिलमा भीम दाइको खोजी हुन्थ्यो।
मैले २०४५ सालको नारायणी वाङ्मय पुरस्कार वीरगन्जका भीमचरण थापासँग संयुक्त रूपमा पाएँ। त्यो पुरस्कार ग्रहण गर्न म काठमाडौंबाट हेटौंडा गएँ। अनि पुरस्कार ग्रहण गर्ने दिन भीम दाइको मोटरसाइकलको पछाडि बसेर म वीरगन्ज पुगेँ। पुरस्कार वितरण समारोह सकिएपछि रात्रिभोज आयोजना गरिएको थियो। भीम दाइले खुसुक्क कानमा भने, ‘दुई टुक्रा मासु र एक गिलास रक्सी खान आधा रातसम्म यहाँ बस्ने काम छैन। ल जाऊँ, फर्कैां।’ अनि हामीले हेटौंडा आएर समिल रोडको मोमो पसलमा छोयला, मोमो र अयला ग्रहण गरेका थियौं।
भीम दाइ मोटरसाइकललाई खुट्टा भन्थे। शारीरिक अवस्थाले उनलाई हिँड्न कठिन पथ्र्याे। उनी वीरगन्ज हेटौंडा वरिवरि, वीरगन्ज र काठमाडौंसमेत एक्लै मोटरसाइकलमा यात्रा गर्थे। अझ उनले मोटरसाइकल मट्टितेलले चलाएर सबलाई चकित पारेका थिए। अलिकति पेट्रोल हालेर स्टार्ट गरेपछि फुल ट्यांकी मट्टीतेलले भर्थे र मोटरसाइकल मज्जाले चलाउँथे, चल्थ्यो। भीम दाइको परिचित सर्कलमा यो उखानै बनेको थियो।
भीम दाइको कलम कविता, कथा, गीत, काव्यलगायतमा चल्यो। नारायणी अञ्चललाई नै कर्मक्षेत्र बनाएर सिर्जना गर्ने सर्जकमा उनी टाकुरा नै थिए। उनका गीत आफैं गाउँथे नै; नारायणगोपाल, मधु क्षेत्री लगायतले गाएर नेपालीभाषी संसारमा लोकप्रिय भएका थिए। मधु क्षेत्रीको स्वरको गीत ‘फूलै फूल मात्र पनि होइन रैछ जीवन, काँढाबीच फुल्ने फूल रैछ जीवन’ सर्वाधिक लोकप्रिय गीत भएको थियो।
भीम दाइलाई लौह समालोचक कृष्णचन्द्र सिंह प्रधानले ‘कवितामा भीम, गीतमा विराग’ उपमा दिएका थिए। भीम दाइका रचना राष्ट्रिय रूपमा ख्याति भएका सबैजसो पत्रपत्रिकामा प्रकाशित भएका थिए। साझा प्रकाशन र प्रज्ञाप्रतिष्ठानबाट उनका पुस्तक प्रकाशित थिए। तर विडम्बनापूर्ण संयोग मान्नुपर्छ, राष्ट्रिय स्तरका कुनै पनि आधिकारिक संकलनमा उनका रचना समावेश भएनन्। तर उनलाई कहिल्यै गुनासो भएन। कहिल्यै आक्रोश भएन।
भीम विरागले पाएको सबैभन्दा महत्वपूर्ण पुरस्कार छिन्नलता गीत पुरस्कार थियो। तर त्यो पुरस्कारको विषयमा एउटा रहस्य थियो, एउटा अलमल थियो। रहस्य के थियो भने २०४३ सालको छिन्नलता गीत पुरस्कार गीतकार चाँदनी शाहलाई दिन दरबारमा बिन्ती चढाइएको थियो। छिन्नलता राजपरिवारका सदस्य वसुन्धराकी भित्रिनी थिइन्। उनलाई दरबारले परिवारको मान्यता दिएको थिएन। त्यस्तो मान्यता नदिइएका व्यक्तिका नामको पुरस्कार बहालवाला महारानीलाई कसरी स्वीकार्य हुन सक्थ्यो ? अस्वीकार भयो। त्यस वर्षको अस्वीकार गरिएको पुरस्कार कसलाई प्रस्ताव गर्ने भनी छलफल हुँदा ध्रुवचन्द्र गौतमले भीम दाइको नाम सुझाए र उनबाट स्वीकृति ल्याउने जिम्मा पनि उनैले पाए। भीम विरागलाई रानीले छिन्नलता गीत पुरस्कार अस्वीकार गरेको तथ्य बताउँदै स्वीकार गर्नुहुन्छ कि भन्दा उनले सहर्ष स्वीकारे। सम्मान पुरस्कार हो, म स्वीकार्छु, म ठूलो अहम् पाल्दिनँ भने। उनी विनम्र थिए।
भीम दाइका गीतहरू रेडियोमा लोकप्रिय भइरहेको बेला रेडियो नेपालमा एउटा अर्का भीम विराग उत्पन्न भए। त्यतिसम्म त ठीकै थियो। तर तिनले हाम्रा भीम दाइका सबै गीत मेरै हुन् भन्दै प्रशंसकहरू बटुलेर फाइदा लिन थालेको खबर हेटौंडा पुग्यो। भीम दाइ यो प्रकरणले आहत भए। उनी बस्ने हेटौंडामा, कसरी काठमाडौंमा भएको एक प्रकारको षड्यन्त्रलाई चिर्ने ? उनले हारगुहार गर्नुपर्ने अवस्था आयो। आफ्ना मौलिक गीतसंगीतलाई अरू कसैले दाबी गरिरहेको थियो। लामै संघर्षपछि उनले न्याय पाए। ती दुई नम्बरका भीम विरागले लेखेका गीत भीम विराग अधिकारीको नाममा बज्न थाले र भीम दाइका गीतहरू भीम विरागको नाममा। बल्ल उनलाई राहत भयो।
मदन पुरस्कार गुठीका अध्यक्ष तथा अन्वेषणात्मक साहित्यकार कमल दीक्षित साल्ट ट्रेडिङको कामको सिलसिलामा तराई झर्दा भीम विराग उनले अड्ने स्टेसन बनेको थियो। उनले भीम दाइको घरको भुइँतला साल्ट ट्रेडिङका लागि गोदामका रूपमा भाडामा लिइदिएर सहयोग पनि गरेका थिए। नारायणगोपालसँग उनको गहिरो मित्रता थियो। एकपल्ट नारायणगोपालले भीम दाइको गीत रेकर्ड गरेपछि विश्वम्भर प्याकुरेललगायत लिएर त्यो गीत सुन्दै रातभरि गाडीमा चुस्की लगाउँदै आधारात ढल्कँदा भीम विरागको ढोका ढकढक्याउन पुगेका थिए। अनि भीम दाइलाई उनीहरूले यात्रा गरेको मोटरमै डाकेर कार क्यासेटमा गीत सुनाएका थिए। भीम दाइले गायन राम्रो लागेको बताएपछि धन्यवाद भनेर फर्किएको घटना मलाई सुनाएका थिए।
यिनै स्वरसम्राट् नारायणगोपालको मृत्युपछि उनले भनेका थिए, नारायणले आफूलाई चिन्न सकेन। देशको सम्पत्ति हो भन्ने उसले बुझेन। उनको संकेत थियो, नारायणगोपालले रोगलाई बेवास्ता गर्दै जथाभावी खाने प्रवृत्ति। सुनिन्थ्यो, उनी सुगरको रोगी भए पनि लुकीलुकी जेरीस्वारी खान रुचाउँथे। नारायणगोपालको मृत्युपछि भीम दाइले लामो संस्मरण लेखे, त्यो कमल दीक्षितले मदन पुरस्कार गुठीको पत्रिका नेपालीमा छापे र त्यसको अफ प्रिन्टको पुस्तक पनि निकालिदिए।
हेटौंडा आउजाउ गर्ने क्रममै कमल दीक्षितले एकपल्ट एउटा राम्रो खालको कलम उपहार दिए भीम दाइलाई। भीम दाइले त्यही कलमले महाकाव्य नै लेखिदिए। एकपल्ट भीम दाइ दुर्घटनामा परे। फलस्वरूप बस यात्रा गर्न नसक्ने भए, घरिघरि शौचालय जानुपर्ने भएकाले। उसै त मोटरसाइकललाई साथी मान्ने भीम दाइलाई टाढा नजिक जान मोटरसाइकल मात्रै विकल्प भयो।
उनी हरेक कुरालाई सहज रूपमा लिन सक्थे। एकपल्ट मैले दाइको पलेँटीमा गाएको गीतको रेकर्ड सुनौं न भन्दा केको रेकर्ड सुन्नु नि, म गाएरै सुनाइदिन्छु भनेर हार्माेनियम तानेर सुनाएका थिए। उनी सहज रूपले गीत सुनाइदिन्थे। तर यो सहजताले एउटा खराबी पनि गर्यो— नारायणगोपालले भीम दाइको गीत मन पराएका थिए र गाउने तर्खरमा थिए। निकै राम्रो गीत थियो त्यो। उनले धेरैपल्ट हामीलाई त्यो गीत सुनाइसकेका थिए। गीतको बोल थियो :
गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफैं तोडिन्छ जिन्दगी
तर एक दिन थाहा भो, नारायणगोपालले त्यो गीत नगाउने भए। उनी भीम दाइ जहाँ पनि त्यो गीत सुनाउँदै हिँड्छ भनेर रिसाएछन् र गाएनन्। त्यो गीत नारायणगोपालले नगाएको नगायै भयो।अनु भाउजू भीम दाइको मेरुदण्ड थिइन्। मायाको सागर र अनुशासनको कठोर पहाड पनि। संगीत नृत्यले नै उनीहरूलाई एकाकार गराइदिएको थियो। भीम दाइ भन्थे, ‘अनुले खोजेर, रोजेर नै मेरो बिहा भएको हो। म बिहा गर्ने पक्षमा नै थिइनँ।’ यसको कारण थियो, कलकत्तामा राजा महेन्द्रको हुकुमबाट भएको उपचारको क्रममा डाक्टरले उनलाई बताएका थिए, ‘भीम सकेसम्म तिमीले बिहा नगर्नू। किनभने यो उपचारको क्रममा तिम्रो सन्तान हुने अवस्था नष्ट भयो।’
तर बिहा भयो, सन्तान भएनन्। अनि उनले आभालाई छोरीका रूपमा ग्रहण गरे। मैले उनको संक्षिप्त आत्मवृत्तान्त टेप गरेको थिएँ, जसमा उनले आफ्नो सन्तान नहुने कुरा प्रस्ट खुलाएका थिए। मैले टेपबाट उनको लघुआत्मवृत्तान्त उतारिरहेको बताएँ, तर उनले अहिले नछापौं है, आभाले ऊ हाम्रो आफ्नै छोरी होइन भन्ने थाहा पाई भने चित्त दुखाउँछे। त्यसपछि त्यो लघुआत्मवृत्तान्त अप्रकाशित रूपमा मेरो फाइलमा रह्यो, आजपर्यन्त।
हेटौंडेली साहित्यकार तुलसी थापाले भीम विरागको शब्दचित्र यस्तो बनाएका छन्—
भीम विराग आकाश बोकी हिँड्छ
नबोकोस् पनि कसरी
नत्र खसेर चकनाचुर हुन्छ।
जबजब म हेटौंडा पुग्छु, भीम विरागबिनाको हेटौंडा नियास्रो लाग्छ। साँचो अर्थमा उनी नारायणीका नायक थिए।