राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन्। रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा गुरुङले संविधान संशोधनका विषयमा प्रतिपक्षले अनावश्यक प्रचार गरेको आरोप लगाए।
उनले कांग्रेस-एमालेले संशोधनका लागि एजेण्डा तयार गर्ने र त्यसलाई राष्ट्रिय छलफलमा लैजाने बताए। उनले मुलुक र नागरिकको लागि सुशासन कायम गर्न पुराना कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजेको बताए। मन्त्री गुरुङले अध्यादेशको विरोध गर्नुभन्दा पनि यसको विषयवस्तुमा ध्यान दिन आग्रह गरे।
सरकारले ल्याएको अध्यादेशको विभिन्न प्रतिपक्षी दलले विरोध गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ। सहकारीसम्बन्धी विधेयक ल्याएर सहकारी पीडितको समस्या समाधान गर्ने र बचतकर्ताहरूको बचत फिर्ताका लागि सहकारी कोष निर्माण गर्नेगरी सरकार अघि बढ्न खोजेको उनले बताए।
सहकारी ठगीमा संलग्नहरूको कारबाहीका लागि सरकारले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनको दिशामा लगेको पनि मन्त्री गुरुङले बताए। उनले लामो समय अलपत्र परेको बुटवल-नारायण सडक खण्डले अहिलेको सरकार आएपछि गति लिएको भन्दै विकासका काममा सरकार द्रुत गतिमा अगाडि बढिरहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस !
