कंक्रिटमाण्डु
काठमाडौं : काठमाडौं भन्नेबित्तिकै धेरैको मानसपटलमा घरैघर भएको सहरको चित्र आउँछ। खाली जमिन देख्न नपाइने। साँगुरा गल्ली। सवारी र मानिसको अत्यधिक चाप। पुराना बासिन्दालाई भने यहाँको खेतीयोग्य जमिनको स्मरण हुन्छ। पुतलीसडक बस्छिन् धर्मदेवी तन्डुकार। यो ठाउँसँग उनको ८७ वर्षदेखिको सम्बन्ध छ। करिब ५० वर्षको हुँदा पनि पुतलीसडक आसपासमा खेती गर्थिन् उनी। ‘पहिले यो ठाउँमा सबै खेत मात्रै थियो,’ उनले भनिन्, ‘यो सडकको छेउछाउमा धान र तरकारी खेती गरिन्थ्यो।’
त्यसबेला यहाँका सबै मानिससँग प्रशस्त जमिन रहेको उनलाई याद छ। प्रायः खेतीकिसानी गर्थे। अहिले ती टुक्रिएर घरैघर बनेको देख्दा आश्चर्य लाग्छ उनलाई। ‘अहिले प्रज्ञा भवन भएको ठाउँमा आलु/मकै रोपेको हिजोजस्तो लाग्छ,’ उनले भनिन्, ‘यी घर भएको ठाउँमा केही थिएन। खेतको बाटो मात्र थियो यहाँ।’
अहिले पुतलीसडकमा हिँड्दा त्यो बेला खेतको डिलमा हिँडेको सम्झिन्छिन् उनी। ‘यहाँका धेरै जमिन ज्यापूहरूले कमाउँथे,’ उनले भनिन्, ‘तिनै धेरै उत्पादन हुने खेतमा अहिले घर ठडिए। ज्यापूहरू गरिब हुँदै गए।’ पहिले यहीं उत्पादन गरेर खान पुग्ने खेत थियो यहाँका नेवारसँग। अहिले घर भएको जमिन मात्र छ उनीहरूसँग। ‘यहाँका सबै मानिसले आफ्नो जग्गा बेचे,’ उनले भनिन्, ‘कृषियोग्य जमिन बेचेर अन्य काममा लागे।’
सस्तोमा खेत बेचे। व्यवसायीले घडेरी बनाएर महँगोमा बेचे। जमिनदारहरू गरिब भए। काठमाडौंमा घरैघर भए।
सोह्रखुट्टे नयाँबजारका तीर्थनारायण महर्जन (५८) पनि सानैदेखि किसान हुन्। खेतीकिसानीबाटै घर व्यवहार चलाउँथे। ‘२०४० सालतिर पनि सोह्रखुट्टेमा खेती मनग्य थियो,’ उनले भने, ‘यहाँबाट परपरसम्म हेर्दा खाली जमिन देखिन्थ्यो।’ बारीमा आपूmलाई चाहिने सबै कुरा उत्पादन गर्थे उनी। अहिले उनको बारी सकियो।
पहिले खेतीबाट जीवन धान्ने उनी अहिले एक आना जमिनमा तरकारी लगाउँछन्। आफूले उत्पादन गरेको तरकारीले उनलाई पुग्दैन। बजारमा निर्भर छन्। ‘जमिन सबै बेचियो,’ उनले भने, ‘अहिले यही घर भएको अलिकति मात्र बाँकी छ।’ छोराछोरी पनि अन्य पेसामा छन्। अन्य पेसा जस्तो सहज नभएकाले कृषिप्रति रुचि कम भएको उनी बताउँछन्। ‘मेहनतको मूल्य पनि कम भयो कृषिमा,’ उनले भने, ‘कृषिमा भन्दा अन्य व्यवसायबाट बढी आम्दानी हुन थाल्यो। त्यसैले यो पेसा लोप हुँदै गयो।’
तीर्थनारायण जस्तै सोह्रखुट्टे म्ह्पीका बद्री महर्जन (६८) को २०३५/०४० सालतिर निकै जमिन थियो। त्यसको उत्पादनले परिवार चल्थ्यो। ‘यो ठाउँमा काउली, मूला, धान उत्पादन हुन्थ्यो,’ उनले भने, ‘तरकारी बेच्न पनि पुग्थ्यो।’ उनले खेतीयोग्य जमिन बेचेरै सके। त्यहाँ अहिले सहर ठडिएको छ।
काठमाडौंमा मात्र नभएर उपत्यकाका सबै ठाउँमा पहिले खेती गरिन्थ्यो। बढ्दो जनसंख्याका कारण अहिले कृषियोग्य जमिन देख्न पाइँदैन। उत्पादनका हिसाबले उपत्यकाको उर्वर ठाउँमध्ये भक्तपुरलाई पनि राम्रो मानिन्थ्यो। अहिले यहाँ पनि खुला जमिन देख्न मुस्किल हुन्छ।
भक्तपुर, थिमीका कृष्ण श्रेष्ठ (६८) यहीं खेतीपाती गर्दै हुर्किएका हुन्। उनले कृषि पेसाबाटै छोरा डाक्टर बनाए। ‘पहिले–पहिले उत्पादन गरेर बेच्न पनि पुग्थ्यो,’ उनले भने, ‘यहाँ उत्पादन गरेको तरकारी काठमाडौं लगेर बेच्थें।’ तर अहिले उनले खेती गर्ने ठाउँमा ठूलाठूला घर छन्। उनले पनि काम गर्न सक्न छाडे। ‘आपूmले सकुन्जेल खेती गरें,’ उनले भने, ‘अहिले छोराछारीले किनेर खुवाउँछन्।’ थिमीमा ५२ सालदेखि घर बढेको उनको अनुभव छ। अन्य पेसामा संलग्न भएपछि मानिसले जमिन बेच्न थालेको उनी बताउँछन्।
छोपियो उर्वर भूमि
काठमाडौं उपत्यका देशकै उर्वर ठाउँमध्ये मानिन्छ। तर पछिल्लो समय यहाँको उर्वर र उत्पादनको कुनै सम्बन्ध देखिँदैन। उत्पादन हुने भूभागमा कंक्रिटका अग्ला घर मात्र छन्। अहिले खेती भइरहेका जमिन पनि धमाधम प्लानिङ भइरहेको छ।
काठमाडौं, टोखाका माहिला डंगोल (७०) किसान हुन्। ३/४ वर्षअघिसम्म उनको खेत वरिपरि एकदुईवटा मात्र घर थिए। तर अहिले आफ्नो वरिपरि धेरै घर बढेको उनको अनुभव छ। ‘जमिन हुने मान्छे त्यही बेचेर अन्य व्यवसायमा लागे,’ उनले भने, ‘दलालले जमिन किनेर घर बनाउँदै बेच्दै छन्।’
जग्गाकोे मूल्यवृद्धिले पनि किसानले जग्गा बेचेको उनको तर्क छ। टोखाका सानु श्रेष्ठ (५४) खेतीयोग्य जमिन सकिँदै गएकामा चिन्तित छन्। ‘धेरै जमिन हुनेले मूल्यवृद्धिसँगै बेच्न थालेका हुन्,’ उनले भने, ‘पहिले खेती गर्ने ठाउँ अहिले घरले भरियो।’ अहिले यहाँका उत्पादनले स्थानीयलाई पनि पुग्न छाडेको उनी बताउँछन्। ‘हामी उत्पादन गरेर बेच्न लान्थ्यौं पहिले,’ उनले भने, ‘अहिले बजारबाट नल्याई खान पुग्दैन।’
ललितपुर, खोकनाका बद्री शाही (६५) सँग ७–८ रोपनी जमिन छ। तीनचार वर्षअघिसम्म उनको जमिन आसपास खेतीयोग्य धेरै जमिन थियो। अहिले कम हुँदै गएको उनी बताउँछन्। ‘यो तीनवटा घर भर्खर बनेका हुन्,’ उनले भने, ‘बाहिरका मान्छे आएर प्लानिङ गरेर बनाएका।’
लागत मूल्यै उठ्दैन
कृषिमा संलग्न किसान पेसाप्रति सन्तुष्ट देखिँदैनन्। कारण हो– लागतअनुसार मूल्य नपाउनु। भक्तपुर, बोडेका कृष्णबहादुर बाडे (४८) तरकारी खेतीमा संलग्न छन्। उनी करिब ७ रोपनी भाडामा लिएर खेती गरिरहेका छन्।
‘उत्पादन गरेको तरकारीले खान पुग्छ,’ उनले भने, ‘तर कुनै बेला त लागत पनि उठ्दैन।’ तरकारी लिन बिचौलिया खेतमै आइपुग्ने उनी बताउँछन्। ‘आफैंले बजारमा लान भ्याइँदैन,’ उनले भने, ‘बिचौलियालाई दिन बाध्य छौं।’ बिचौलियामार्फत बेच्दा नाफा कम हुने उनी बताउँछन्।
ऊर्वर उपत्यका जहाँका जमिनदार आनाका चिरामा सीमित भए। अव्यवस्थित कंक्रिटको जंगलमा बदलिए हरियाली फाँट। बस्न उकुसमुकुस, खान आयातमा निर्भर।
‘हामीबाट सस्तोमा लगेर महँगोमा बेच्छन्,’ उनले भने, ‘यसले गर्दा उत्पादक र उपभोक्ता दुवै ठगिएका छौं।’ कृष्णबहदुर जस्तै ठिमीका कान्छाभाइ बाडे (४५) पनि कृषि पेसामै निर्भर छन्। उनले अहिले भाडामा जमिन लिएर तरकारीखेती गरिरहेका छन्। ‘रोपनीको दस हजार भाडा तिर्छु,’ उनले भने, ‘कहिले त उत्पादन कम भएर भाडै तिर्न पुग्दैन।’
तरकारीखेतीबाट लागतको मूल्य उठाउन धेरै गाह्रो हुने उनको अनुभव छ। ‘नाफाका लागि बजारमा निर्भर हुनुपर्छ,’ उनले भने, ‘बजारमा भाउ आएन भने हाम्रो लागत उठ्दैन।’
कृषिप्रति विकर्षण
पछिल्लो पुस्ताको कृषिप्रति फिटिक्कै आकर्षण देखिँदैन। कारण धेरै छन्। तीमध्ये केही हुन्– धेरै फाइदा गर्न नसक्नु, सधैं एकैनासको उत्पादन नहुनु, मिहनेत बढी पर्नु, उत्पादित वस्तुले मात्र पछिल्लो पुस्ताको आवश्यकता परिपूर्ति गर्न नसक्नु।
ठिमीकी लक्ष्मी श्रेष्ठको परिवार सानैदेखि कृषि पेसामा संलग्न थियो। अहिले उनीहरुको जमिन आनामा सीमित छ। कृषिले मात्र उनीहरूको परिवार चल्ने अवस्था रहेन। उनका पति पनि मिल चलाउन थाले। ‘कृषि पेसाले मात्र त केही पनि हुन्न,’ उनले भनिन्, ‘त्यसैले पतिले अर्को व्यवसाय थाल्नुभयो।’
ललितपुरका पूर्णलाल डंगोल (६८) ले बल रहुन्जेल खेती गरे। दुई वर्षदेखि थला परे। काम गर्न सक्दैनन्। ‘मैले खेतीबाटै परिवार धानेको थिएँ,’ उनले भने, ‘तर अहिले छोराले गर्दैनन्।’
काठमाडौं, टोखाका ७० वर्षीय शंखनारायण डंगोलले आफ्नो उमेर खेतीमै बिताए। उनको खेती गर्ने जमिन प्रशस्त छ। तर, त्यसलाई भाडामा दिएका छन्। ‘छोराहरू आआफ्नो व्यवसाय गर्छन्,’ उनले भने, ‘खेतीबाट भन्दा व्यवसायबाट राम्रो पैसा कमाउँछन्।’ अबको पुस्ताले खेती गर्छ भन्ने आशा छैन उनलाई। ‘खेतीमा धेरै मिहेनत छ,’ उनले भने, ‘आम्दानी पनि सोचेअनुरुप हुन्न।’
बढ्दो परनिर्भरता
उपत्यकामा तरकारी आयात बढ्दो छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार यहाँको उत्पादनले १० प्रतिशत पनि धान्न सक्दैन। पहिला उपत्यका पूर्ण निर्भर थियो।
२०७४/७५ मा उपत्यकामा खपत हुने तरकारीमध्ये ९० प्रतिशत आयत भएको छ। ‘जसमध्ये ४५ प्रतिशत बाह्य जिल्लाबाट,’ श्रेष्ठले भने, ‘बाँकी बाह्य मुलुकबाट ल्याइएको हो।’ उपत्यकामा धादिङ, रसुवा, काभ्रे र सर्लाहीबाट बढी तरकारी आयात हुन्छ। श्रेष्ठका अनुसार भारतसँग बढी निर्भर हुनुपरेको छ। उपत्पादन हुने भूमि कम हुँदै गएसँगै परनिर्भरता बढ्दो देखिन्छ। उपत्यकामा ०५६/५७ मा भारतबाट १३ प्रतिशत मात्र तरकारी आयात भएको थियो। ०७४/७५ मा आइपुग्दा ४५ प्रतिशत पुगेको छ।