परिवारसँगै प्रचण्डले गरे सुनकोशीमा जलयात्रा
सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी नदीमा जलयात्रा गरेका छन् । विश्रामका लागि परिवारसँगै सिन्धुली आइपुगेका अध्यक्ष प्रचण्डले सुनकोसी गाउँपालिकाको कुशेश्वर दुम्जादेखि मुलकोटसम्म जलयात्रा गरेका हुन्।
उनका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) का अनुसार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी छोरी गंगा, नातिनी, नेकपाका नेता तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलसहित पारिवारिक विश्रामका लागि सिन्धुली आइपुगेका हुन् ।
अध्यक्ष प्रचण्ड शुक्रबार सिन्धुलीको सुनकोशी गाउपालिका ५ स्थित मुलकोटमा रहेको होटल ताज रिसोर्टमा बसेका थिए । उनले सुनकोसी गाउँपालिकाका पदाधिकारी तथा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरेका छन् ।
होटल ताज रिसोर्टले कुशेश्वर महादेव मन्दिर छेउबाट मुल्कोटसम्म जलयात्राका लागि र्याफ्टिङ सेवा संचालन गरेको छ । नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको मदन आश्रित स्मृति दिवसमा सहभागी भएका प्रचण्ड शुक्रबार नै सिन्धुली आइपुगेका हुन् ।
सुनकोसी गाउँपालिकामा भेटघात तथा छलफल र जलयात्रापछि अध्यक्ष प्रचण्ड सपरिवार नुवाकोट प्रस्थान गरेको प्रेस संयोजक सापकोटाले बताए ।
पत्नी सीता लामोसमयदेखि अस्वस्थ भएपछि अध्यक्ष प्रचण्डले उनको मुडफ्रेका लागि भन्दै केहि समय यता विभिन्न जिल्लाका सुन्दर र रमणीय क्षेत्रको अवलोकन गराउँदै आएका छन् ।