न्यूयोर्कमा फहराइयो चन्द्रसूर्य अंकित झण्डा
न्यूयोर्क : विश्वमान चित्रमा नेपालको नक्सा सानो छ । तर विश्व समुदायमा नेपाल विविध भाषा, धर्म तथा संस्कृतिले धनी देशकारुपमा परिचित छ । विकसित देशहरुमा पनि नेपालको नाम गर्वले लिइन्छ । चाहे त्यो बुद्ध जन्मेको देशकारुपमा होस या विश्वको अग्लो हिमाल सगरमाथाको देशकारुपमा होस । अर्कोतर्फ अलग्गै पहिचान बोकेको चन्द्र, सूर्य अंकित झण्डालेसमेत नेपालको बिशाल परिच बोकेको छ ।
यही विविध भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपालको शान नेपालीहरुले आइतबार न्यूयोर्क शहरमा प्रर्दशन गरे । दौरा, सुरुवाल, पटुकी चोलो र विभिन्न जातीय पोशाकमा सजिएका नेपालीहरु न्यूयोर्क म्यानहाटनमा भेला भएर हामी नेपाली हौं भनेर विश्व समुदायलाई देखाए ।

विश्वको राजधानी मानिने न्यूयोर्क शहरस्थित म्यानहाटनमा आइतबार नेपालीहरुले सडक कब्जा गरेरै नेपाल डे परेड भव्य रुपमा मनाए । बिगत चार वर्षदेखि न्यूयोर्कको म्यानहाटनमा यसरी नेपाल डे परेड हुँदै आएको छ ।
नेपालका विभिन्न समुदायको विविध कला, सँस्कृति, भेषभूषा झल्काउने प्रस्तुति कार्यक्रममा विशेष थियो । कार्यक्रममा तामाङ, गुरुङलगायत अन्य समुदायको नृत्य प्रस्तुत गरिएको थियो ।

म्यानहाटनस्थित मेडिसिन एभिन्यूको ३९ स्ट्रिटबाट बाजागाजा, नृत्य, झाँकीसहित सुरु भएको ¥याली २४ स्ट्रिटमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा भइरहँदा न्यूयोर्कलगायत अन्य राज्यहरुबाट हजारौंको सख्यामा नेपालीहरु उपस्थित भएका थिए ।
आयोजक संस्था नेपाल डे परेड इन्कका अध्यक्ष निमा शेर्पाले अमेरिकाभर रहेका नेपालीहरुको उत्साहजनक सहभागिताले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको भनी खुसी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !