खुमलटारमा आईटी पार्क
ललितपुर : सरकारले ललितपुर महानगरपालिका–१५ खुमलटारमा रेडियो नेपाल र सशस्त्र प्रहरी बलले प्रयोग गर्दै आएको जग्गामा सूचना प्रविधि पार्क बनाउने निर्णय गरेको छ। रेडियो नेपालको करिब एक सय ६० रोपनी जग्गा लगभग ४५ रोपनी जग्गा सशस्त्र प्रहरीले उपभोग गर्दै आएको छ। अन्य जग्गामा रेडियोले निजी कम्पनीलाई भाडामा लगाएको छ।
सरकारी जग्गालाई सदुपयोग गर्ने भन्दै सरकारले बनेपाबाट सूचनाप्रविधि (आईटीपार्क) खुमलटारमा सार्ने निर्णय गरेको हो। यो जग्गामा सशस्त्र प्रहरीले करोडांैका संरचना बनाइसकेको छ। खुमलटारमा ०६८ मा वेस स्थापना भएपछि ‘दक्षिणकाली गण’ बलम्बुबाट सरेर खुमलटार आएको हो। जिल्ला सुरक्षा समितिको अनुमतिमा बलम्बुबाट सशस्त्र खुमलटार सरेको हो। द्वन्द्वका बेला रेडियो टावरको सुरक्षाका लागि गण यहाँ सरेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले सरकारले यसबारेमा लिखित जानकारी नदिएको जानकारी दिए। ‘सुरक्षा निकायलाई स्थायी रूपले व्यवस्थापन गरिदिए हुन्थ्यो’, सरकारको निर्णयप्रति असन्तुष्टीको भावमा उनले भने, ‘यता, उता सरिरहँदा बन्दोबस्तीमा ध्यान जान्छ। प्रस्तुतिमा असर पर्छ। ’ सरकारको एउटा निकाय सशस्त्र प्रहरी भएकाले उसको निर्णय मान्नुपर्ने उनले बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सशस्त्र प्रहरी तथा रेडियो नेपाललाई सरकारले अन्यत्रै व्यवस्था गर्ने बताए। बनेपाको आईटी पार्कमा स्वदेशी तथा विदेशी आईटी कम्पनी जानै नमानेकाले खुलमलटार सार्ने निर्णय गरिएको सचिव गुरुङले जानकारी दिए। कानुनत सरकारी निकायलाई मात्रै उपभोगका लागि जग्गा दिन मिल्ने भए पनि रेडियोले निजी कम्पनीलाई कौडीको भाउमा लिजमा लगाएको छ। सशस्त्र प्रहरीले जग्गाको भाडा नतिरेको भन्दै रेडियोसँग मनमुटाव थियो। सशस्त्रले २५ रोपनी जग्गा भाडामा लिएर थप २० रोपनी जग्गा उपभोग गरेको आरोप लगाउँदै आएको थियो।
खुमलटारमा आईटी पार्क ल्याएपछि त्यहाँको पहिचान नै अर्को हुने सचिव गुरुङ बताउँछन्। त्यसैले त्यहाँ भएको करिब एक सय ६० रोपनी जग्गामा सरकारले कम्पाउन्ड बनाउने छ। सरकारले यथाशीघ्र विस्तृत परियोजना निर्माण गर्छ। आईटीपार्कका कारण स्थानीयलाई रोजगार पाउनेछन्। आईटी उद्योगले प्रदुषण निकाल्दैन उनले भने। ‘भविष्यमा माईक्रोसफ्ट पनि आउन सक्छ सचिव गुरु«ले भने, ‘भारतको गुणगाउँ तथा सिलिकन भ्याली जस्तै खुमलटार पनि बन्नसक्छ। ’
यो क्षेत्रमा हाई स्पिडको इन्टरनेट तथा वाईफाईको सुविधा हुनेछ। काठमाडौंका थुपै्र कम्पनी बाहिर बसेर काम गरिरहेका छन्। सबैलाई सजिलो, सुरक्षित तथा एकतृत बनाइनेछ। यावत कारणले गर्दा खुमलटारमा आईटीपार्क बन्दा राम्रो प्रतिफल आउने गुरुङको तर्क छ। ललितपुर–१५ का वडाअध्यक्ष सुदर्शन मिश्रले स्थानीय तहको अनुमति नलिइ सरकारले जग्गा भोगचलनाका लागि कुनै निर्णय गर्न नमिल्ने तर्क गर्छन्।
प्रतिक्रिया दिनुहोस !