बैतडीमा आत्महत्याका घटना बढ्दै
बैतडी : जिल्लाको मेलौली नगरपालिका ७ बनाली १९ वर्षीया सावित्री चन्द जेठ १ गते झुण्डिएको अवस्थामा फेला परिन्। कक्षा १२ पढ्दै गरेकी सावित्रीले आत्महत्या गरेको एक हप्ता नबित्दै दशरथचन्द नगरपालिका १ मा अर्की एक महिलाले पनि आत्महत्या गरिन्।
पछिल्लो समय आत्महत्याका घटना बढ्दै गइरहेका प्रहरीको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालु आर्थिक वर्षको हालसम्म २१ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने धेरैजसो महिला र ती मध्ये ४० वर्ष कम उमेरका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।
उनले भने, ‘पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। आत्महत्या गर्नेको विवरण र पोस्टमार्टम रिपोर्टसहित आफन्तलाई शव नबुझाउँदै अर्को घटना आइहाल्छ।’
आर्थिक वर्ष २०७२/७३ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १२ पुरुष, १७ महिला र १ बालिका थिए। यसैगरी आर्थिक वर्ष २०७३/७४ मा ३६ जनाले आत्महत्या गरेका थिए। जसमा १३ पुरुष, २२ महिला र १ बालक रहेका छन्।
गत आर्थिक वर्षमा ३१ जनाले आत्महत्या गरेका थिए। जसमा १२ पुरुष, १३ महिला, ३ बालक र ३ बालिका रहेका छन्। ‘आत्महत्या गर्ने पुरुषको तुलनामा महिला धेरै छन्। ती मध्ये पनि किशोरावस्थाकाले धेरै आत्महत्या गरेका छन्’, प्रहरी निरीक्षक चन्दले भने।
‘पहिला कसैले आत्महत्या गरे किन होला भनेर चर्चाको विषय बन्थ्यो। तर अहिले आत्महत्याका घटना समान्य हुन थालेका छन्', डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरका सुरेश श्रेष्ठले भने, ‘आत्महत्या विकराल सामाजिक समस्याको रुपमा खडा भएको छ।'
महिलामाथि हुने घरेलुहिंसा, मानसिक तनाव लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको निष्कर्ष छ। गरिबी, बेरोजगारी लगायतका कारणले पनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए। ‘आत्महत्या यही कारणले गरेको हो भन्न गाह्रो भएपनि धेरैजसो गरिबि, बेरोजगारी,पारिवारिक असमझदारीका कारण घटना भइरहेका छन्’, उनी भन्छन्।
जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डा. बसन्तराज जोशी आत्महत्या मानसिक स्वास्थ्यको उपज भएको बताउँछन्। ‘आत्महत्या मानसिक स्वास्थ्य समस्याको उपज हो। मानसिक स्वास्थ्यका कार्यक्रम अघि सारेर मात्रै यसको न्यूनीकरण गर्न सकिन्छ', उनी भन्छन्, 'आत्महत्या मानिसले किन गर्छ ? यो बिषयमा अध्ययन गरेर सचेतनामूलक कार्यक्रम अघि सार्नुपर्छ।’
बढ्दै गरेका आत्महत्याका घटनाले समाजमा विकराल विकृति ल्याउने जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताउँछन्। ‘आत्महत्या गर्नेमा धेरै जसो किशोरावस्थाका रहेका छन्। देखासिकी पनि भइरहेको छ। रोकथामका लागि उचित कदम चाल्नु आवश्यक छ’, उनी भन्छन्।
आत्महत्या बढ्दै जानुमा पारिवारिक असमझदारी मुख्य कारण रहेको क्याम्पस प्रमुख अवस्थीको बुझाई छ।
जिल्लामा आत्महत्याको बढ्दो संख्या न्यूनीकरण गर्न प्रहरीले अभियान समेत थालेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक विकृति विसंगति अन्त्यका लागि जिल्लाभरी सचेतनामूलक कार्यक्रम भइरहेका प्रहरी नायव उपरीक्षक गिरीले बताउँछन्। ‘मातहतका युनिटमार्फत गाउँगाउँमा कार्यक्रम गरिरहेका छौं। केही मात्रामा भएपनि आत्महत्याजस्ता घटना कमी आउने हाम्रो विश्वास छ’, उनी भन्छन्।
प्रतिक्रिया दिनुहोस !