दुई सातादेखि गाउँ अन्धकार
देवीघाट : चुडिएको तार नजोड्दा नुवाकोटको पश्चिमी भेगमा रहेको एक दलितवस्ती दुई सातादेखि अन्धकारमय बनेको छ ।सम्वन्धित निकायले चुडिएको तार जोडेर नयाँ पोल नगाड्दा ७० घरधुरीका सयौं जनसंख्या विद्युत विहीन भएका छन्।
सदरमुकाम विदुरदेखि ३० किलोमिटर पश्चिममा रहेको तारकेश्वर गाउँपालिका वडा नं. ४ सिरानटोलस्थित बुधसिंहको एक दलित बस्तीमा दुई सातादेखि विजुलीबत्ती नहुँदा गाउँ नै अन्धकार बनेको हो। सो वडामा सडक निर्माणका क्रममा विजुलीको तार चुडिएको र अझै पनि विद्युत प्राधिकरणले मर्मत नगरिएका कारण अन्धकारमा बस्नुपरेको स्थानीयवासीले जानकारी दिए।
दुई सातादेखि तारकेश्वर गापाको ४ नं. वडा कार्यालय र चन्दनी माथितिरको गाउँ बस्तिमा बत्ति नभएपछि स्थानीयहरु समस्यामा परेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए। सम्वन्धित निकायलाई जानकारी गराउँदासमेत मर्मत नगरिएको उनले गुनासो गरे।
उनले समस्या बताउँदै भने, 'जनताले निर्वाचत गरेका हुन्, जनताकै मर्कालाई नजिकबाट बुझेर पनि समस्या समाधान गर्न सकिएको छैन।
उनले भने, 'स्थानीयलाई विद्युत नहुँदा आफ्नो दिनचर्या सन्चालन गर्न निकै गाह्रो भएको छ। धान कुट्न, मकै पिस्न, घरमा सांझ, रातीमा बत्ती बाल्नेलगायतका कार्यमा दु:ख पाएका छन्।'
नुवाकोटमै २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत गृह सन्चालनमा रहेका छन्, तर, वुधसिंहका जनताले बिजुली उपयोग गर्न नपाएर समस्या भोगिरहेका छन् ।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रमा दैनिक रुपमा जानकारी दिँदासमेत बत्ति मर्मत नगरेको स्थानीय लोकेश बिकले बताए। उनले भने, 'प्रधिकरणमा दिनहु मर्मतको लागि अनुरोध गर्दै टेलिफोन गर्छौं, रेस्पोन्स हुंदैन।'
प्राधिकरणका कर्मचारीले कहिले फोन उठाएर राखिदिने, कहिले हेलो, हेलो मात्र भन्ने, सुनेर पनि नसुनेको जस्तो गर्ने गरेको अर्का स्थानीय रुपेश विकले बताए। 'सधैँ हामीलाई यसरी अँध्यारोमा राख्न पाइन्छ त?' उनले प्रतिप्रश्न गरे।
'प्राधिकरणले हामीले भनेको नटेरेपछि हाम्रा गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीमार्फत सबैले मिलेर नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई जानकारी गराएका छौँ' स्थानीयले बताए।
'नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले नागरिकका गुनासाहरुलाई समाधान, सहयोग र संम्वोधन गर्दैन भने यसमा विद्युत प्राधिकरणको चरम लापरवाही रहेको छ', पालिका अध्यक्ष वस्तीले भने, 'आफूले दलित वस्तीका सर्वसाधारण अन्धकारमा छन् भनेर विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष कुमारलाई समस्या दर्शाउँदासेमत ढिलाई भएको हो।'
विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोष कुमारले पोल अभावको कारण बुधसिंङमा विद्युत सेवा अवरुद्ध हुन पुगेको बताए। केहि दिनमै मर्मत सकेर विद्युत सुचारु गरिने प्रतिवद्धता उनले जनाए।
उनले कार्यालयमा जगेडा पोलको अभाव रहेकाले मर्मत गरेर विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने जानकारी दिए । सो गाउँका ७० घरधुरीका चारसय जनसंख्या अन्धकारमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !