२१ होटलमा पहेंलो स्टिकर

२१ होटलमा पहेंलो स्टिकर

सिन्धुली : बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गअन्तर्गत कमलामाई नगरपालिकाको चियाबारीका २१ होटलमा पहेंलो स्टिकर टाँसिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमका क्रममा अखाद्य वस्तुको बिक्रीसँगै सरसफाइमा ध्यान नदिएका होटलमा पहेंलो स्टिकर टाँसेको हो।

राजमार्गका होटलले यात्रुलाई गुणस्तरहीन खाना खुवाउने गरेको गुनासो बढेपछि कार्यालयले अनुगमन गरेको थियो। खान नहुने गुणस्तरहीन खाना र खाजा खुवाउने गरेको पाइएपछि ती होटलमा पहेंलो स्टिकर टाँसिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्यालले बताए। ‘होटलमा अचानक छापा मारेर गरिएको अनुगमन र खाद्य स्वच्छता परीक्षामा होटलमा तयार हुने खाना खान अयोग्य जस्तै पाइएपछि खाना खान अयोग्यको स्टिकर टाँसिएको हो’, उनले भने, ‘यात्रुले पहेंलोस्टिकर टाँसेका होटलमा खाना÷खाजा खाँदा एक पटक होटलको सफाइ र गुणस्तर हेरेर मात्र खानुहोला।’

कार्यालयले अुनगमनको क्रममा ती होटलको परीक्षा लिएको थियो। एक सय पूर्णांक दिएर अनुगमन गर्दा हेर्दा न्यूनतम ५० अंक पनि प्राप्त नगर्ने २१ वटा होटललाई पहेंलो स्टिकर टाँसिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अर्यालले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले जिल्लाका होटलको स्तरीकरण गर्न अतिउत्तम, उत्तम, सामान्य र गुणस्तरहीनलाई सुधार गर्नुपर्ने सहित ४ प्रकारका स्टिकर टाँसेर वर्गीकरण गर्ने नीति लिएको थियो। तीनवटा हरियो स्टिकर खाद्य स्वच्छताको स्तरमा क–अतिउत्तम, दुईवटा हरियो स्टिकर ख–उत्तम, एक वटा हरियो स्टिकर ग–सन्तोषजनक (सामान्य) र पहेंलो रङको स्टिकरलाई सुधार गर्नुपर्ने र घ–पूर्णरूपमा सुधार गर्नुपर्ने (सामान्य) मापदण्ड राखिएको थियो। कार्यालयको मापदण्डअनुसार तीनवटा हरियो स्टिकर रहेका होटलमा खाना निर्धक्क साथ खान सकिने र पहेँलोमा खाना खान नहुने भन्ने जनाउँछ। स्टिकर टाँस गर्न होटलको ५० वटा सूचकका आधारमा स्तरीकरण गरिन्छ। प्राप्त अंकका आधारमा होटलको स्तर निर्धारण गर्ने गरिएको छ।

परीक्षामा कुन होटलले कति अंक पाए

स्तरीकरणमा चियाबारीको होटल कोसी टापु होटलले ५७, रोशन होटलले ५२, भद्रकाली होटल एन्ड गेस्ट हाउसले ६१, होटल एसएमएसले ५५, शिशिर होटलले ५४, पूर्वेली होटलले ५४, चण्डिका होटलले ५३, होटल ग्रिण ल्यान्डले ५१, चियाबारी खाजाघरले ५२, सन्तोष खाजाघर एन्ड होटलले ५८, होटल सृष्टी एन्ड खाजाघरले ५४ अंकमात्र प्राप्त गरेका छन्।

यस्तै होटल सेल्फी एन्ड रेस्टुरेन्टले ५०, केबी होटलले ५०, समीर खाजाघरले ५०, लोकल कुखुरा एन्ड खाजाघरले ६०, चौतारी भान्सा घरले ५४, सगरमाथा होटल एन्ड लजले ५६, दर्शन होटल एन्ड लजले ६०, ग्रेस होटल एन्ड खाजा घरले ५९, न्यू घुम्ती भान्साघरले ५९ र बिन्दास कटेजले ५३ अंक पाएका छन्। ५० देखि ६४ सम्म अंक प्राप्त गर्ने होटलले पहेंलोरङको स्टिकर पाउने प्रावधान छ। त्योभन्दा कम नम्बर ल्याउने होटल कार्यालयले बन्द गर्न सक्नेछ।

चालकलाई कमिसन

राजमार्गका यस्ता होटलमा होटल सञ्चालकले चालकलाई मोटो रकम कमिसन दिने गर्दा यात्रु आखाद्य खानेकुरा खान बाध्य भएको गुनासो छ। एउटा बस, हायस, टाटा सुमोलाई कम्तीमा सात सयदेखि एक हजार रुपैयाँसम्म नगद, निःशुल्क खाना, पानी, रिचार्ज कार्ड दिने गरेपछि चालकले हरेकपटक त्यही होटलमा आफ्ना गाडी रोक्ने र यात्रुलाई खाना तथा खाजा खान बाध्यपार्ने गरेको यात्रु बताउँछन्।

एक सय पूर्णांक दिएर अनुगमन गर्दा न्यूनतम ५० अंक पनि प्राप्त नगर्ने २१ वटा होटललाई पहेंलो स्टिकर टाँसिएको हो।

झापाबाट सप्तकोसी यातायातको हायसमा काठमाडौं हिडेकी यात्रु सुवर्ण भट्टराईले गाडीका सबै चालकलाई होटलवालाले कमिसन दिँदा उनीहरूको कन्ट्याकमा रहेका होटलमा मात्र यात्रु खानखान बाध्य बनाउने गरेको गुनासो गरे। ‘चालकलाई ताजा र सफा, मीठो, विभिन्न परिकार खाना खुवाउने होटलवालाले यात्रुलाई भने बासी, सडेगलेको खुवाउने र चर्को पैसा लिने गरेका छन्’, उनले भने।

यस्तो अवस्था बीपी राजमार्ग र मध्येपहाडी लोकमार्गका आसपास रहेका सबै होटलमा छ। एउटा रेडबुलको एक सय ५० रुपैयाँसम्म लिने गरेका होटलले रेडबुल भने नक्कली खुवाउने गरेका छन्। सुनकोसीको ताजा माछा भन्दै तराईबाट ल्याएको बासी र सडेको माछालाई ९ सय रुपैयाँ किलोसम्म लिने गरेको अर्का यात्रु सोम शाहको गुनासो छ।

यस्ता होटलमा कमिसनसहित कन्ट्याक्टमा सयौं सवारीसाधनले दैनिक यात्रुलाई खाना तथा खाजा खुवाउँदै आएका छन्।

स्तर सुधार नगरे बन्द

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटल स्तरीकरणसम्बन्धी निर्देशिका २०७४ बमोजिम गरेको मूल्यांकनमा होटलले सरसफाइ र खाद्य स्वच्छतामा सुधार गर्नुपर्ने देखिएको होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष अमृतबहादुर श्रेष्ठले जानकारी दिए। उनले यस्ता होटलले गुणस्तरमा सुधार नगरे बन्द गर्नुपर्ने बताए।

उता अनुगमनमा पुगेकी सिन्धुलीकी सहायक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले गुणस्तरहीन खानेकुरा खुवाउने होटल बन्द गरिने चेतावनी दिइन्। उनले भनिन्, ‘हामीले अनुगमनका क्रममा मापदण्ड विपरीतका होटललाई गुणस्तर सुधार गरेर सञ्चालन गर्न भनेका छौं। समयमा सुधार नआए बन्द गराउँछौं।’

पछिल्लो समय राजमार्गको विस्तारसँगै सवारीको चाप बढ्दा होटलको संख्यामा वृद्धि भएको र गुणस्तरहीन खाना, खाजा खुवाएको भन्ने गुनासो आएकाले विभिन्न निकायसँग सहकार्य गरेर अनुगमन थालिएको प्रसाईको भनाइ छ। अनुगमन समितिले बीपी राजमार्गको खुर्कोट र मुलकोटलगायत क्षेत्रमा रहेका होटलमा पनि स्टिकर टाँस्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.