हजार दिने आमालाई वडाको 'कोसेली'
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका- ९ की हजार दिने आमा जानकी पाण्डेय बच्चासहित शनिबार वडा कार्यालयमा पुगिन्। वडा कार्यालयमा पुग्ने वित्तिकै जोशीबुंगा स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरीयाले बच्चाको पोषणको स्थितिको बारेमा जानकारी लिए। वडा सचिव कृष्णबहादुर बोहराले पाण्डेयको नाम रजिष्टरमा दर्ता गरे।
अनि वडाअध्यक्ष हरिचन्द्र जोशीले एक झोलाको उनको हात थमाए।झोलामा अण्डा, दुई पाकेट आयोडिनयुक्त नुन,सरसफाईका सामग्री राखिएका थिए। वडाको 'कोसेली' लेखेको झोला हातमा परेपछि जानकी निकै खुसी भइन्।उनले भनिन्, 'हाम्रो समाजमा पहिला त अण्डा खानु हुँदैन भन्ने चलन थियो।देवीदेवताका कारणले कुखुरा पाल्नु हुँदैन भन्ने थियो।अहिले सरकारले नै यसरी अण्डा हजार दिने आमालाई अण्डा दिन थालेपछि सजिलो भएको छ।'
जानकीजस्तै हजार दिने आमा वसन्ती जोशीले पनि वडा कार्यालयबाट कोसेली पाइन्। उनले भनिन्, 'वडाको यो कार्यले आमाको पोषण र स्वास्थ्य बारे घरपरिवारका सदस्यलाई पनि ध्यान दिन बाध्य बनाएको छ।आमा र बच्चाको स्वास्थ्य र पोषणमा ख्याल गर्नुपर्छ भन्ने कुरा सिकाएको छ।'
वडाभरीका २ वर्ष मुनिका बालबालिकामध्ये ६ जना अति कुपोषित फेला परेकाले बच्चा र आमाको स्वास्थ्यमा परिवारका सदस्यले ध्यान दिनुपर्छ भन्ने सन्देश फैलाउन वडाको कोसेली वितरण गरेको दशरथचन्द नगरपालिका- ९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए।उनले परिवारका सदस्यलाई सचेत बनाउन कोसेली वितरण गरेको बताए।
वडाभरीका १९३ हजार दिनका आमालाई वडाको 'कोसेली' वितरण गरिएको वडा सचिव कृष्णबहादुर बोहराले बताए। वडाभरीका हजार दिने आमालाई वडाको 'कोसेली' वितरण गरेर वडाले राम्रो काम गरेको दशरथचन्द नगरपालिका- ९ का स्थानीय जयराज जोशीले बताए।
वडाका कुनैपनि आमा र बच्चामा कुपोषण नहोस् भनेर वडाको कोसेली अभियान सञ्चालन गरिएको दशरथचन्द नगरपालिका ९ को कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !