सिन्धुलीका स्थानीय सरकार : १२ करोडका गाडी, तीन करोड भत्तामा
सिन्धुली : विकासमा कायापलट ल्याउने आश्वासन बाँढेर निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि कार्यकालको दुई वर्ष पुरा भइसक्दा पनि काम गर्न नसकेका भन्दै आलोचित हुन थालेका छन्। चुनावमा गरेका प्रतिबद्धता भुलेर मनोमानीमा मस्त भएपछि स्थानीयहरू आक्रोशित भएका हुन्।
जनप्रतिनिधि निर्वाचित भएको दुई वर्षको अवधिमा उनीहरुको लागि करिब १२ करोड रुपैयाँको सवारी सधान खरिद गरिएको छ।
अधिकांश स्थानीय तहमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका लागि स्कारपियो गाडी खरिद गरिएको छ। वडा अध्यक्ष र सचिवहरुलाई मोटरसाइकल खरिद गरेर दिइएको छ।
सिन्धुलीमा दुई नगरपालिका र सात गाउँपालिका छन्। नौ वटा स्थानीय तहमध्ये तत्कालीन एमाले, माओवादी र नेपाली कांग्रेसले तीनतीनवटा तहमा जितेका थिए।
तीमध्ये दुधौली नगारपालिकामा दुई वटा स्कारपीयो सहित चारवटा चारपाङ्ग्रे सवारी छन्। २४ वटा मोटरसाइकल खरिद गरिएको नगरपालिकाले जनाएको छ। वडा अध्यक्षलाई भन्दै मोटरर्साइकल खरिद गरिएपनि वडा अध्यक्ष भने १४ जना मात्र छन्।
कमलामाई नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएको दुई वर्षको अवधिमा दुईवटा स्कारपियो गाडी खरिद गरिएको छ। नगरपालिकामा फोहोर संकलन तथा व्यवस्थापनका लागि ट्याक्टर, ट्रक, स्काभेटर, ब्याकलोडर जस्ता सवारीसाधन आवश्यक भएपनि जनप्रतिनिधिको सुविधा केन्द्रित सवारीसाधन मात्र खरिद गरेको नगरबासीको गुनासो छ।
तीनपाटन गाउँपालिकामा अध्यक्षका लागि स्कारपियो, प्रमुख प्रशासकीय अधिकृतका लागि बोलेरो, वडा अध्यक्षहरुका लागि २० वटा मोटरसाईकल र एउटा स्काभेटर खरिद गरिएको छ। करिब दुई करोड रुपैयाँको लागतमा उक्त सवारी साधन खरिद गरेको गाउँपालिकाले जनाएको छ।
सुनकोसी गाउँपालिकामा दुईवटा स्कारपियो, दश वटा मोटरसाइकल, तीन वटा ट्याक्टर, एउटा ब्याकलोडर खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जनाए। ‘आवश्यकताको आधारमा खरिद गरिएको हो,’ उनले थपे, ‘दुरुपयोग हुन नदिन हामी सचेत छौं।’
गोलनजोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले गाडी किन्ने श्रोत नभएको बताउँदै स्कारपियो गाडी महिनाको दुईलाख रुपैयाँ भाडा तिरेर चढ्दै आएका छन्। उनले वडा अध्यक्षहरुको लागि १५ वटा मोटरसाइकल खरिद गरिएको बताए।
मरिण, हरिहरपुरगढी, घ्याङलेक र फिक्कल गाउँपालिकाले पनि स्कारपियो, महेन्द्रा कम्पनीको जिप, बोलेर, जेसीवी, स्काभेटर तथा प्रत्यक वडाका लागि मोटरसाइकल खरिद गरेको छ। जिल्लाका स्थाीयतहले यस्ता सवारी खरिदमा मात्र १२ करोड रुपैयाँबढी खर्च गरेको जिल्ला समन्वय समिति सिन्धुलीको अनुमान छ।
कतिपय वडा कार्यालयहरुमा मोटरसाइकल जाने बाटौ नै छैन। ‘कतिपय वडाअध्यक्षहरु मोटरसाइकल चलाउँनै सक्दैनन्, उनीहरुको लागि पनि मोटरसाइकल दिइएको छ’, गोलनजोर गाउँपालिकाका स्थानीय सुदिप कार्कीले भने।
दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले जनप्रतिनिधिहरुले नियमले दिएको भन्दा अन्य सुविधान नलिएको दाबी गरे। सुविधाको विरोध गर्नुभन्दा पनि हालसम्म गरेका कामको सहि मुल्यांकन गर्नुपनि उनको भनाई छ। सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये तत्कालीन एमाले, माओवादी र नेपाली कांग्रेस तीन तीनवटा तहमा विजयी भएको थियो।
भत्तामा साढे तीन करोड खर्च
जिल्ला समन्वय समिति सिन्धुलीका अनुसार अनुगमन, मुल्यांकन र भ्रमण भत्तामा स्थानीय तहहरुले दुई वर्षको अवधिमा साढे तीन करोड रुपैयाँ खर्च गरेका छन्। जनतामाझ गरेको प्रतिबद्धता पुरा गर्न जनप्रतिनिधि गम्भिर नभएको र सुविधामा मात्र केन्द्रित भएको भन्दै स्थानीयहरुले आलोचना गर्न थालेका छन्।
कमलामाई नगरपालिका ६ का स्थानीय तथा नेपाली कांग्रेसका नेता उपेन्द्र पोखरेलले जननिर्वाचित प्रतिनिधिहरु स्थानीयतहमा आएपछि इतिहासमै नभएको भ्रष्टाचार बढेको आरोप लगाए।
‘गाविसमा साँढे दुई लाख रुपैयाँ बजेट आउँदा जती काम हुन्थ्यो अहिले दुई करोड आउँदा पनि त्यति काम हुन सकेको छैन’, उनले भने। सार्वजनीक सम्पत्तीको संरक्षणको साटो व्यक्तिका नाममा दर्ता गर्ने र प्राकृतिक श्रोत साधनको अबैध उत्खनन्मा समेत जनप्रतिनिधिहरुको संलग्नता हुने गरेकाले जनतामा वितृष्णा जाग्न थालेको कमलामाई नगरपालिका १२ का सुभोजंग कार्कीले बताए।