मकवानपुरमा दुई ट्रकमा आगजनी
हेटौंडा : नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दमा मकवानपुरमा दुई सवारीसाधनमा आगजनी गरिएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराइले बताए।
चौकीटोलस्थित प्रहरी चौकी नजिकै गएराती करिब एक बजे रोकिराखेको ट्रकमा आगजनी गरिएको उनले जानकारी दिए। आगजनीबाट गाडीको सबै भाग जलेको छ।
मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आईचर गाडी जलाइएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। सोमबार बिहान करिब ४ बजेको समयमा आगजनी भएको मकवानपुर प्रहरी प्रवक्ता भट्टराईले बताए।
यसअघि बिप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको क्रममा पनि यस क्षेत्रमा दुई वटा सवारीसाधनमा आगजनी भएको थियो।
प्रेसरकुकर बम डिस्पोज
गएराती एक बजे हेटौंडाको बुद्धचोक नजिक राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निस्कृय पारेको छ। बम राखेको थाहा पाउने बित्तिकै प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो।
सेनाको बम डिस्पोजल टोलीले बिहान पाँच बजे बम डिस्पोज गरेको मकवानपुर प्रहरीले जनाएको छ।
नक्कली बमले त्रास
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित सडक छेउमा नक्कली बम फेला परेको छ। बन्दको समयमा तर्साउनका लागि नक्कली बम राखेको पाइएको मकवानपुर प्रहरी प्रमुख प्रहरी परीक्षक मुकेशकुमार सिंहले बताए।
नरायणी सहकारी अगाडि खतरा लेखेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सेनाको बम डिस्पोजल टोलीले उक्त स्थानमा कागजको पोका मात्र फेला पारेको थियो।