घरको जग खन्ने क्रममा दुई मजदुरको मृत्यु, एक गम्भीर
वीरगन्ज : वीरगन्जमा घरको जगका लागि खनिएको खाल्डोमा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका- १४ बाइपासस्थित राजाराम जलानको घर निर्माणका क्रममा जगका लागि खनिएको खाल्डोमा काम गरिरहेकै बेला माथिबाट खसेको मोटोको ढिस्कोले पुरिएर तीनजना गम्भीर घाइते भएका थिए।
घाइते दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका- ५ इटियाही घर भएका ५० वर्षीय दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका - ४ चैनपुर घर भएका ५० वर्षीय जवाहिर हुन्। दशरथको तराई अस्पतालमा र जवाहीरको गण्डक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइते परवानीपुर गाउँपालिका- ४ कै ४५ वर्षीय राजेन्द्र रामको भने वीरगन्जकै न्युरो हस्पिटलमा उपचार भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।मृतक दशरथ र जवाहीरको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। दुवै शवको मङगलबार पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने शर्माले जानकारी दिए।
निर्माणाधीन घरको ठेक्का लिएका ठेकेदार प्रहरीको सम्पर्कमा रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक शर्माले घाइतेको उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउने विषयमा प्रहरीले पहल गरिरहेको बताए।
बेपत्ता भएका बालक मृत भेटिए
पर्साको पकाहा मैनपुर गाउँपालिका- २ सुर्जाहा गाउँबाट जेठ १२ गतेदेखि बेपत्ता भएका एक बालक मृत अवस्थामा फेला परेका छन्। सुर्जाहा गाउँका बिनोद दासका छोरा अन्दाजी १० वर्षीय कुन्दन दास, जेठ १२ गते बिहान ११ बजेतिर विद्यालयबाट घर आएपछि बेपता भएका थिए।
बेपत्ता भएका बालक कुन्दन,पकाहामैनपुरस्थित दिनानाथ चौहानको माछा पोखरीमा डुबेको अवस्थामा सोमबार साँझ मृत फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा जाँच मुचुल्का बनाई प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !