पप्पुको पुल र सडक अलपत्र

पप्पुको पुल र सडक अलपत्र

जनकपुरधाम  : प्रदेश २ मा रहेका ठुला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ । तराई मधेशमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोले जनजीवन प्रभावित भएको छ ।

सिरहा र धनुषाको सिमा भएर बग्ने कमलानदी र सिरहा सप्तरीको सिमामा बग्ने बलान नदीको पुल ठेक्का लागेको वर्र्षौ भए पनि अवस्था उस्तै छ । ५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्षभित्र निर्माण पुरा गर्ने शर्तमा ठेक्का लिएको पप्पुले ९ वर्ष बित्दा पनि काम सकेको छैन् । त्यस्तै महोत्तरीमा रामजानकी पथ, लोहारपट्टीदेखि पश्चिम रातु खोलामा पर्ने रातो पुल र जलेश्वर सदरमुकामस्थित खाद्य संस्थानदेखि धिरापुर जाने सडक निर्माण पनि पप्पु कन्स्ट्रक्सनको लापरबाहीका कारण अलपत्र छ ।

जनकपुरधाम कुर्थादेखि लोहारपट्टी हुँदै रौजामजार र बलवा नगरपालिका भएर महोत्तरीको सिमावर्ती सडक सम्सी जोड्ने निर्माणाधीन रातु नदीको पुल निर्माण थालेको पाँच वर्षभन्दा बढी भए पनि पुरा हुन सकेको छैन् । १४ करोड ६४ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको पप्पुले चारवटा पिलर उठाएर काम अत्रपत्र छाडेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरले २०७१ असार ३१ मा महोत्तरीको लोहारपट्टी–रौजाबीचमा पर्ने रातुखोलामा पुल निर्माण सम्झौता गरी २०७३ पुस ३१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालत उस्तै छ । ठेक्काको म्याद समाप्त भएको तीन वर्ष भए पनि निर्माण अलपत्र छ । सडक डिभिजन कार्यालयका अनुसार पुलमा हालसम्म २३ प्रतिशतमात्रै काम भएको छ । लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्रकुमार यादवले भने ५ प्रतिशत पनि काम नभएको दावी गरेका छन् ।

समयमा निर्माण पुरा नभएकाले खोलामा बाढी आएका बेला स्थानीय लामो घुमाउरो बाटोबाट कष्टकर यात्रा गर्न बाध्य भएको बलवा नगरपालिकाका मेयर बिनोदकुमार यादवले बताए । ‘सामान्य वर्षा हुँदा पनि आवतजावत ठप्प हुने गरेको छ । बिरामीलाई उपचारका लागि अस्पताल लैजान समस्या हुने गरेको छ’, मेयर यादवले भने, ‘पप्पु कन्स्ट्रक्सनले समयमा पुल नबनाएकाले सडक पनि अलपत्रजस्तै भएको छ ।’

रातु र कमलानदीको पुलमात्र होइन, महोत्तरीको प्रमुख सडक रामजानकी पथसमेत चार वर्षदेखि स्तरोन्नती हुन सकेको छैन । जनकपुरधाम–मटिहानी १५ किलोमिटर सडकमध्ये ६ किमी सडक बने पनि उक्त सडक निर्माण नसकिँदै भत्किन थालेको छ । अन्य ६ किमी सडकसमेत जीर्ण अवस्थामा छ । २०७२ असार १३ मा स्तरोन्नति र कालोपत्रे गर्न ९ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिए पनि कम्पनीले काम पुरा गर्न नसकेपछि पप्पुमार्फत ब्रदर्स कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरको खाद्य संस्थानदेखि धिरापुर जाने सडक २०७२ असार ३१ मा ३ करोड ४९ लाख ६८ हजारमा ठेक्का लिएको पप्पुले सम्झौतामा ०७३ असार ३१ मा काम सक्ने सम्झौता छ । तर हाल सम्म सडकमा केही प्रगति देखिएको छैन् । पप्पुले विभिन्न बहाना बनाएर दुई पटकसम्म म्याद थपेको छ । थप म्यादमा समेत काम सकेको छैन । खरिद ऐन नियमानुसार पप्पुले अधिकांस योजना सुरु गरेको देखाएर कुल लागतको २० प्रतिशत रकम झिके पनि भौतिक पूर्वाधार निर्माण अलपत्र पारेको सडक डिभिजन कार्यालयका प्रमुख बिनोद मौवारले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.