बलात्कार आरोप लागेका विराटनगरका व्यवसायी गाैतम थुनामा
विराटनगर : बलात्कारको आरोप लागेका विराटनगरका उद्योगी दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ ।
आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई उद्योगभित्रै बन्धक बनाएर बलात्कार गरेको आरोपमा गत बैशाख १८ गते ४५ वर्षीय गौतम पक्राउ परेका थिए । विराटनगर महानगरपालिका–३ घर भएका उनलाई जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजालशले तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए । पौडेलका अनुसार अदालतको आदेशपछि गौतमलाई कारागार चलान गरिएको छ ।
गौतम विराटनगरको बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित यस उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि डिजाइनको काम हुँदैआएको थियो ।
सोही उद्योगमा कार्यरत एक कर्मचारीकी श्रीमतीलाई बैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको कोठामा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा १८ गते जाहेरी परेको थियो ।
प्रहरीले पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर जेठ ९ गते मिसिल बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले उनी विरुद्ध सोमबार अदालतमा जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । वादी र प्रतिवादीका कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी पौडेलले बताए ।
प्रहरीका अनुसार गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिषरमै रहेको कोठामा लामो समयदेखि बस्दैआएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा महिलाले आफ्ना श्रीमानलाई बताएपछि घटना बाहिर आएको थियो । त्यसअघि पनि उद्योग सञ्चालकले पटक–पटक बलात्कारको प्रयास गरेको जानकारी महिलाले प्रहरीलाई दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !