३६ वर्षदेखि आगोले लखेटिरहेकाे परिवारकाे पीडा, बसाइँ सर्दा पनि मिलेन मुक्ति !

३६ वर्षदेखि आगोले लखेटिरहेकाे परिवारकाे पीडा, बसाइँ सर्दा पनि मिलेन मुक्ति !

विराटनगर : मोरङको बेलबारी नगरपालिका–९ श्रीपुरका ८१ वर्षीय कृष्णप्रसाद भट्टराई वडा कार्यालयको टोली राहत रकम दिन आएको थाहा पाएपछि बुधबार लौरो टेकेर टहरोबाट बाहिर निस्किए ।

धरखराउँदै निस्किएका उनले १ लाखको चेक हातमा थापेर राहत बाँड्न आएकालाई धन्यवाद दिए । आगलागीबाट पीडित बनेको ८ जनाको उनको परिवार वडाध्यक्ष नगेन्द्र खड्काको सक्रियतामा स्थानीय बासिन्दाले बनाइदिएको सानो टहरोमा एक महिना अघिदेखि बसिरहेको छ ।

गत बैशाख ९ गते लागेको आगोले उनको घरसहित सबै सम्पत्ति खरानी बनाइदियो । उनको परिवार आगलागीबाट पीडित बनेको यो पहिलो घटना भने हैन । २०४० सालदेखि नै उनको परिवारले घरमा हुने आगलागीको पीडा खेप्दैआएको छ ।

अहिलेसम्म भट्टराई परिवार तीन पटक आगलागी पीडित बनिसक्यो । मोरङको साविकको हरैंचा गाविसको बेलेपुर हालको सुन्दरहरैंचा नगरपालिका–९ मा बस्दैआएको भट्टराई परिवार पहिलो पटक २०४० सालमा घरमा आगलागी भएर सबै सम्पत्ति नष्ट भएपछि विरक्तिएर बसाइँ सर्‍याे।

बेलबारी–९ मा बसाइँ सरेको भट्टराई परिवारले दोस्रो पटक २०४६ सालमा आगोकै कारण घरसहितको सम्पत्ति गुमायो । सबैको सहयोगमा त्यही ठाउँमा नयाँ घर बनाएर परिवारका सदस्यसहित बसेका कृष्णप्रसादले बुढेसकालमा पछिल्लो पटक गत बैशाख ९ गते तेस्रो पटक आगलागीको सामना गर्नु पर्‍याे ।

आगलागीबाट ५० लाख मुल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीमा १५ तोला सुन, अन्नपात, नगद, लत्ताकपडा, महत्वपूर्ण कागजपत्र, काठपातसहित घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

ग्यास लिक भएर भएको आगलागीपछि ८ जनाको परिवारको दैनिकी निक्कै कष्टकर बनेको छ । छिमेकीले गरेको सहयोगको भरमा एक महिना अघिदेखि टहरोमा जीवन निर्वाह गरिरहेको छ ।

भट्टराईले भने, ‘निक्कै पहिलेदेखि नै मलाई आगोले खेद्दै आएको हो । घरमा पहिलो पटक आगो लागेपछि बसाइँ सर्दा पो हुन्छ कि भनेर ठाउँ नै छाडेर हिँडियो । तर यही ठाउँमा बनाएको घरमा दुईपटक आगलागी भइसक्यो । तेस्रोपटक मेरो घर सम्पत्ति आगोले खरानी बनायो ।’

तीनै पटकको आगोमा शरीरमा लगाएको कपडा बाहेक घरबाट केही पनि निकाल्न नसकिएको उनको दुखेसो छ । ‘आगोले पिरोल्दै गर्दा साथीभाई र छरछिमेकीले भने पटक–पटक साथ दिएका छन् । भगवानले साथ नदिएका बेला सधैँ अरुसँग सहयोग माग्न पनि गाह्रो हुँदो रहेछ ।’

आगलागी पीडित भट्राई परिवारलाई मेयर ज्ञानेन्द्र सुवेदीको पहलमा बेलबारी नगरपालिकाले बुधबार १ लाख रुपैयाँ नगद सहयोग गरेको छ । वडाध्यक्ष नगेन्द्र खड्काले भट्टराईलाई बैंकको चेक हस्तान्तरण गरे । आगलागी भएकै दिन नगरपालिकाले ग्यास सिलिन्डर, चुल्हो, चामल, लत्ताकपडा लगायत सामग्री सहयोग गरेको थियो । वडाध्यक्ष खड्काले वडा कार्यालयबाट पनि भट्टराई परिवारलाई १० हजार रुपैयाँ सहयोग गरिएको जनाए ।

उनले भने, ‘एउटै घटनाबाट एउटा परिवार पटक–पटक पीडित बनिरहनु दुःखद् र अचम्मको विषय हो । जनप्रतिनिधिका हिसाबले हामीले गर्नुपर्ने सहयोगमा कुनै कमी हुन दिएका छैनौँ ।’

उनले तेस्रो पटकसम्म आगोबाटै घर खरानी भएर प्रताडित बनेको भट्टराई परिवारका लागि नयाँ घर बनाइदिन पनि पहल भइरहेको जानकारी दिए । खड्काले मानवीय र पशुपंक्षीको क्षति बाहेक तीनै पटकको आगोले भट्टराई परिवारको सबै सम्पत्ति ध्वस्त बनाइदिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.