मनका छाउगोठ पनि भत्काइदिऔं

मनका छाउगोठ पनि भत्काइदिऔं

छाउगोठमा सुतेकी किशोरीको बलात्कारपछि मृत्यु। छाउगोठकी बालिकालाई सर्पले टोकेर मृत्यु। छाउगोठमा आगलागी हुँदा यतिजना किशोरीको मृत्यु। सुदूरपश्चिममा यति छाउगोठ भत्काइयो। यी र यस्तै समाचार हामी सबैले सुन्दै, हेर्दै र बुझ्दै आएका छौं। सुदूर पश्चिममा मात्र होइन, नेपाली संस्कारमा हुर्केका महिला विश्वका जुनसुकै मुलुकमा भए पनि छाउको नकारात्मक प्रभावबाट अछुतो छैनन्। मात्रामा केही बढी र केही कम हुनुलाई छाउ संस्कारबाट मुक्त छौं भन्न मिल्दैन।

मेरी छोरी ११ वर्षमा रजवती भई। मैले उसलाई छुट्टै बेडमा सुताउने कुरा गर्दै थिएँ तर उसका बाबाले छोरीलाई अलग नसुताउनू भने। मलाई आफ्नो गल्ती महसुस भयो। केही वर्ष बिते। गएको तिहारको लक्ष्मीपूजाको दिन बिहान छोरी रजवती भई। उसले रङ्गोली बनाउन बिहान बजारबाट सामान किनेर ल्याई। मलाई पनि लाग्यो– मैले उसको रहर रोक्नु हुन्न। घरपरिवारमा छलफल भयो, ‘अरू जे–जे भए पनि उसलाई लक्ष्मीपूजाको दिन पूजा गर्न दिनु हुन्न। आधुनिक समय भनेर हुन्छ र, चाडबाड अनि धार्मिक कार्यक्रममा त बार्नुपर्छ।’ तर मैले यो कुर मानिनँ। आफ्नो कुरामा अडिग रहँदै परिवारसँग केहीबेर संवाद गरें र भनें, ‘लक्ष्मी पनि महिला नै हुन्। हाम्री छोरी पनि महिला हुन्। उसले पूजा गर्दा लक्ष्मी रिसाएर सराप दिइन् भने त्यो सराप म बोकुँला तर छोरीको रंगोली बनाउने र लक्ष्मीको पूजा गर्ने रहर ननिमोठौं।’ अन्ततः छोरीले लक्ष्मीपूजा पनि गरी र भाइटीका पनि लगाइदिई। यहाँ मैले भन्न खोजेको के हो भने हामी सबैलाई छाउको प्रभाव भित्रदेखि नै परेको छ। तीन दिनसम्म हामी नै आफूलाई अशुद्ध भएको महसुस गर्छौं। पूजापाठ गर्नु हुन्न, मन्दिरमा जानु हुन्न, अन्य शुभकर्ममा केही पनि काम गर्न हुन्न भन्ने मानसिकता हामी पढेलेखेका, छाउबारेमा कलम चलाइरहने, राजधानीवासी महिलामा त व्यापक छ भने अन्य दूरदराजका महिलाको सोचाइमा कसरी परिवर्तन आउला ?

बाहिरी देख्न मिल्ने छाउगोठ त भत्काउन सकिएला तर भित्री मनमा जमेर बसेका छाउगोठलाई कसरी भत्काउन सकिएला ? सोचेजस्तो सजिलो छैन मनभित्र घर गरेर बसेका हाम्रा अन्धसंस्कारका जरा उखेल्न। आफू परिवर्तन नभई अरूलाई परिवर्तन गर्न सकिँदैन।

नराम्रा प्रथा र परम्परा सुधार गर्नुपर्छ भन्ने भावना बोकेका महिला सामाजिक कार्यकर्ता हरेक समाजमा छन्। तिनै महिला रजस्वला हुँदा मन्दिरमा पूजा गर्न जाने गरेको मैले अहिलेसम्म भेटेको छैन। सधैं पूजा नगर्नेलाई त ठिकै मानौं तर दिनहुँ मन्दिर जानेहरू पनि त्यो समयमा मन्दिर जाँदैनन्। विशेषगरी ब्राह्मण र क्षत्रीहरूमा यो छाउसम्बन्धी समस्या बढी छ। जनजातिलगायत अन्य समुदायमा तुलनात्मक रूपमा यसको नकारात्मक प्रभाव कम परेको छ।

हरेक महिलाले रजस्वला भएको समयमा आफू अपवित्र भएको मानसिकता छोड्नुपर्छ।

मेरी छोरीले भनेकी थिई, ‘मम्मी, मेरा सुदूरपश्चिमका साथी दसैं बिदामा घरमा जाँदा पिरियड नभइदिए हुन्थ्यो भन्छन्। उनीहरूलाई महिनाबारी भएको पिरियडमा आजभोलिका प्याड प्रयोग गर्न दिन्नन् रे। थोत्रा कपडाको टाला प्रयोग गर्न लगाउँछन् रे। प्याड प्रयोग गर्नेलाई अशुभ हुन्छ भन्छन् रे। ती साथीमध्ये कुनैका मम्मी त माविमा पढाउने टिचर हुन्।’ यसबाट नै अनुमान लगाउन सक्छौं कि छाउको नकारात्मक प्रभावको पराकाष्ठा हाम्रो दिमागमा कतिसम्म परेको छ। एउटा माविमा पढाउने शिक्षिकाले समेत रजस्वला हुँदा आफूले पनि प्याड प्रयोग नगर्ने र आफ्ना छोरीलाई पनि प्रयोग गर्न हुन्न भन्ने सोचलाई अब हामीले कसरी भत्काउन सकिएला ? कोरा भाषण छाँट्दैमा, बाहिरी छाउगोठ भत्काउँदैमा, महिनाबारी हुँदा निस्कने रगत शुद्ध हो भन्दैमा यसको प्रभाव कम होला त ?

आज एक्काइसौं शताब्दीका महिलामा छाउसम्बन्धी जस्ता नकारात्मक सोच, विचार र चिन्तन छ यसले हामी नेपाली महिलालाई पछाडि पारिरहेको छ। सृष्टिको सुन्दर उपहारमाथिको उपहास हो यो। संस्कारका नाममा हामीभित्र विकास भएको कलंक हो। सबै महिला रजस्वला नै नहुने हो भने यो सुन्दर सृष्टि नै खत्तम हुन्छ। यस्तो प्राकृतिक, नैसर्गिक उपहारको रूपमा हुने रजस्वलालाई हामीले जसरी बुझ्नुपथ्र्यो त्यो रूपमा पटक्कै बुझ्न सकेनौं। यसमा हाम्रो समाज दोषी छ। सिंगो संस्कार दोषी छ। परिवार दोषी छ। अझ सबै व्यक्ति–व्यक्ति दोषी छन्। मैले गर्दिनँ, मैले भन्दिनँ भनेर कोहीले पनि पार पाइने छैन जबसम्म हाम्रा मनभित्र छाउका टाटा रहिरहन्छ।

मनका छाउगोठ भत्काउने जिम्मा भनेको प्रथम त सहरमा बस्ने, आधुनिक सोच, विचार र चिन्तनले भरिपूर्ण भएका महिलाको नै हो। दोस्रोमा यसलाई सहयोग गर्न घरपरिवारको प्रमुख हात रहन्छ। सुरुमा बजार बस्तीबाट सुरु गर्‍यौं मनका छाउगोठ भत्काउन। रजस्वला हुँदा जेजे गर्न हुन्न भन्ने हाम्रो सोच, विचार र संस्कार छ तिनै काम गर्ने र गराउने अभियानमा एकजुट भएर लाग्न जरुरी छ। यसका लागि सबैले सबै ठाउँबाट सहयोग गर्नुपर्छ। सधैंको दैनिकीलाई रजस्वला भएकाले रोक्ने नगरौं। हरेक महिलाले रजस्वला भएको समयमा आफू अपवित्र भएको छु भन्ने मानसिकता तुरुन्तै छोड्नुपर्छ।

पंक्तिकारको प्रायजसो पूजाको थाली लिएर मन्दिरमा जाने बानी छैन तर मनभित्रका छाउगोठ हटाउने दीर्घकालीन अभियान सञ्चालनको सोचमा रहँदा आफू रजस्वला भएको बेलामा फूल अक्षता लिएर मन्दिरमा जान तयार छु अनि अरूलाई यो भन्न सकौं कि महिनाबारी भएको बेलामा मन्दिरमा दर्शन गर्दा नराम्रो केही भएन। आफ्नो घरको पूजाकोठीमा महिनावारी भएको दिनमा पूजा गर्दा केही पाप लाग्दैन भन्ने सोचको विकास सर्वप्रथम हरेक महिलाले आफूमै गर्नुपर्छ। सहज वातावरणमा रहेका महिलासमेत तीन दिन त बार्नुपर्छ भनेर बार्ने अनि अरूलाई उपदेश दिँदैमा छाउको असर कम होला त ?

असम्भव केही छैन। परिवर्तनको सुरुवात पहिला हरेक आफूबाट सुरु गरौं। परिवर्तनको सुरुवात कुराबाट होइन कामबाट गरौं। हरेक महिलाले आफू रजस्वला हुँदा अन्य दिनमा जस्तै गर्ने दैनिकका काम कुनै नरोकौं। पूजापाठ गरौं। मन्दिरमा दर्शन गर्न जाऔं। भान्साको काममा अलग्ग बस्ने नगरौं। सधैं सुतिरहने ओछ्यानमा नै सुतौं। सम्भव भएसम्म अरू बेलामा भन्दा अझ बढी पोसिलो खानेकुरा खाने गरौं। अप्ठ्यारा, बढी बल प्रयोग हुने कामकुरा नगरौं। यसका लागि हरेक परिवारका हरेक सदस्यले सहयोग गरौं।

क्रमशः बजार र बस्तीबाट यस्तो अभियान चलाउन सुरु गरी गाउँगाउँसम्म पुगौं। व्यवहारमै हरेक दुर्गमका गाउँमा पुगेर जनचेतना फैलाउन थालौं। रजस्वला भएको समयमा केही नबारी सबै शुभकार्यमा सरिक भएर देखाऊँ अनि ढुक्कसँग भन्ने गरौं– हामीले रजस्वला भएको समयमा सबै काम गरेका छौं। भोजभतेरमा काम गरेका छौं। मन्दिरमा भगवान्को पूजा, दर्शन गरेका छौं। भगवान्को मूर्ति हातमा लिएर ढोगेका छौं। रजस्वला भएको समयमा आफ्नो दैनिकका सबै कामकुरा गर्दा भगवान्को सराप होइन आशीर्वाद पाएका छौं भन्ने गरौं। विद्यालयमा पढाइने शिक्षामा रजस्वलाका कुरा अनिवार्य समावेश गरौं। जसले गर्दा सबै विद्यार्थीले रजस्वलाबारेमा यथार्थ ज्ञान हासिल गर्छन् र मनबाटै छाउ संस्कृति हटाउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.