‘मेरो सिटीले डुबायो’

‘मेरो सिटीले डुबायो’

ललितपुर : ०६७ को कुरा। लगनखेलका अमीरनरसिंह अमात्यले सातदोबाटो सडकखण्डमा एउटा गज्जबको विज्ञापन देखे। हात्तीवनमा मेरो सिटी हाउजिङ निर्माण हुँदै थियो। उनी तुरुन्तै गएर दुई बेडरुमको अपार्टमेन्टका लागि ४३ लाख ४९ हजार रुपैयाँ बुझाएर बुक गरे। ३ वर्षमा निर्माण सकिएपछि हस्तान्तरण गर्ने आश्वासन लिएर फर्के। तर उनले ९ वर्ष बितिसक्दा पनि अपार्टमेन्ट पाएका छैनन्।   

अमात्य शुक्रबार मेरो सिटी हाउजिङको मूलद्वरा अगाडि उभिएर अन्य पीडितसँगै आक्रोशित थिए। मेरो सिटी हाउजिङसँग त्यस बेला गरेको सम्झौतासहित कागजपत्र लिएर उनी त्यहाँ उभिएका थिए। ‘त्यो धुमधाम विज्ञापनले लोभ्यायो’, उनले भने, ‘न पैसा फिर्ता आयो न हाउजिङमा बस्न पाइयो।’

पुल्चोकका बद्री महर्जन पनि अमात्यजस्तै क्रुद्ध थिए। टेलिभिजन क्यामेरासामु अपार्टमेन्ट निर्माताले ठगेको आरोप लगाउँदै थिए। उनलाई पनि विज्ञापनले लोभ्याएर त्यहाँ पु¥याएको थियो। घर किन्ने योजनामा रहेका उनी मेरो सिटीको होर्डिङ बोर्डबाट आकर्षित भएर बुक गर्न गएका थिए। ०६७ सालमा। त्यो सम्झना गर्दै भने, ‘निकै झकिझकाउ विज्ञापन थियो, लोभ्याइ हाल्यो।’ मेरो सिटीको कार्यालयमा सम्पर्क गरेर सुरुमा ५० हजार तिरे। केहीपछि फेरि ६ लाख र ५ लाख गर्दै किस्तामा १२ लाख बुझाए।   

तर सञ्चालकले विज्ञापनमा उनलाई देखाएको भवन नै बनेन। बारम्बार दबाब दिएपछि हालको भवनको पछिल्तिरको भवनमा एउटा फ्लाट दिने वचन दिए। तर पाएनन्। महर्जनका अनुसार १४ रोपनी ओगटेको हाउजिङमा पैसा लिँदा अगाडि र पछाडि दुवैतिर बाटो देखाएका थिए। तर अहिले भने एउटा मात्र भएको उनले गुनासो गरे।   

हाउजिङबाट ठगिएकाहरूले ‘मेरो सिटी संयुतm आवास समाज’ बनाएका छन्। समाजका संयोजक छन् कुपण्डोलका दिनेश शर्मा पोखरेल। उनले पनि ०६७ मा अपार्टमेन्टका लागि २२ लाख तिरिसकेका छन्। ०७० मा तयार गरेर दिन्छु भनेको उनले बताए। उनका अनुसार सुरुमा ४० प्रतिशत रकम तिर्ने कुरा थियो। त्यसपछि हरेक महिना किस्ताबन्दीमा ५ वर्ष तिर्ने र ३ वर्षमा घर दिने। बसेको २ वर्षसम्म सम्पूर्ण रकम चुक्ता गर्नुपर्ने। यतिबेला भने बनिनसकेको संरचना जबरजस्ती थमाएर फेरि रकम असुल्न खोजेको आरोप उनको छ। ताल्चा लिएपछि स्क्वायर फिटको ३ रुपैयाँका दरले रकम तिर्र्नुपर्नेछ। ‘बिजुली, पानी, इन्स्योरेन्सको नाममा ठग्न खोज्यो। सहमतिमा भएजस्तो केही भएन,’ उनले भने।   

उनका अनुसार सञ्चालकले त्यहाँ २ सय ८० अपार्टमेन्ट रहेको जानकारी दिएका थिए। त्यसमध्ये २ सय ४० परिवारसँग पैसा लिइसकेको छ। ‘कतिपयले शत्प्रतिशत पैसा बुझाइसकेका छन्’, उनले जानकारी दिए। हाउजिङले सुरक्षा व्यवस्थापन नगरेको, सीसीक्यामेरा लगायत अन्य संरचना पनि बनाउनुपर्ने माग पीडितको छ। गत साता मेरो सिटीमा कार्यरत एक महिलालार्ई बाहिरबाट आएकी महिलाले छुरा प्रहार गरेकी थिइन्। सुरक्षाका मध्यनजर गर्दै बस्नलायक भएपछि रकम दिने र साँचो लिने भनाइ उनीहरूको छ।   

हात्तीवनस्थित मेरो सिटी हाउजिङले सबै निर्माण सकेर शुक्रबार साँचो हस्तान्तरण गर्ने भनेको थियो। तर मुख्य प्रवेशद्वारमै ताल्चा मारिएको छ। भित्र भने प्रहरी तैनाथ थिए। आक्रोशित पीडितले हाउजिङका डाइरेक्टर गणेश अग्रवाललाई जनसमक्ष ल्याउन माग गरे। गणेशले ९ वर्ष पहिला अपार्टमेन्ट हस्तान्तरण गर्ने वचन दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.