छेस्काम प्रहरी चौकी पाँच घण्टा ‘विप्लव’को कब्जामा
विराटनगर : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी पाँच घण्टा कब्जामा लिएको छ।
आक्रमणको योजना बुनेर पुगेका विप्लवका हतियारधारी कार्यकर्ताले आइतबार राति ९ बजेदेखि २ बजेसम्म चौकी कब्जामा लिएका हुन्। छेस्काम सोलुखुम्बु, संखुवासभा र भोजपुरको सीमा क्षेत्र पनि हो।
विप्लवले आक्रमण गर्ने अग्रीम सूचना पाएका कारण त्यहाँ कार्यरत प्रहरी भने साँझ ५ नबज्दै हतियार बोक्दै चौकी छाडेर हिँडेका थिए। छेस्काम चौकीमा प्रहरी सहायक निरीक्षक (असई) हीराप्रसाद देवकोटाको नेतृत्वमा ७ जनाको टोली खटाइएको थियो।
चौकी भन्दा बाहिर प्रहरी रहेका कारण आक्रमणको प्रयास भने सफल हुन सकेन। पाँच घण्टासम्म रुँघेर बस्दा पनि त्यहाँ कार्यरत प्रहरी नफर्किएपछि र भेट हुन नसकेपछि ३०/३५ जनाको संख्यामा रहेको हतियारधारी समूह चौकी छाडेर हिँडेको जानकारी स्थानीय बासिन्दाले दिएका छन्।
स्थानीयका अनुसार टाउकोमा रातो फेटा र मुखमा मास्क लगाएर आएको उक्त समूहसँग भरुवा बन्दुकसहितका हतियार साथमा थियो।
‘चौकीमा ‘विप्लव’ ले आक्रमण गर्ने सूचना दिउँसै गाउँलेले दिएका थिए। त्यही भएर त्यहाँ कार्यरत प्रहरीले यो विषयमा माथिल्लो कार्यालयमा जानकारी गराएर बेलैमा चौकी छाड्ने योजना बनाएछन्,’ विशेष प्रहरी स्रोतले भन्यो, ‘मिहीन ढंगले बुझ्दा चौकी आक्रमण गर्ने योजना नै बनाइएको पुष्टि भयो। थोरै संख्यामा रहेका प्रहरीले चौकी नछाडेको भए घटना भएर ठूलै क्षति बेहोर्नु पर्ने अवस्था आउने रहेछ।’
प्रहरी जनशक्ति कम भएको एवं हतियार पनि पर्याप्त नभएकै कारण त्यहाँ कार्यरत प्रहरीले सुरक्षित हुन र आक्रमणबाट बच्न चौकी छाडेको स्रोतले बतायो। सुरक्षा स्रोतका अनुसार चौकी छाडेका प्रहरीले गाउँ नजिकैको अग्ला रुखमा चढेर रात बिताए। साँझ नपरिकनै गस्ती गरे जस्तो गर्दै स्थानीय बासिन्दा समेत कोही कसैलाई पनि जानकारी नदिइकन चौकी खाली गरेर प्रहरी त्यहाँबाट बाहिरिएका थिए।
महाकुलुङ क्षेत्रमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध छ। बिजुली नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अवरुद्ध भएको मौका छोपेर चौकीमा आक्रमणमा प्रयास गरिएको प्रहरीको आंकलन छ। यो घटनासँगै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको आपतकालिन बैठक सोमबार बसेको थियो। बैठकले संकित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिने, थप मद्धतका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गर्ने, सर्च अभियानलाई तीव्र पार्ने र सुरक्षा व्यवस्था मजवुत बनाउने निर्णय गरेको छ।
छेस्काम र आसपासका क्षेत्रलाई लक्षित गर्दै संयुक्त रुपमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीको ‘लङ पेट्रोलिङ’ टोली परिचालन गरिसकिएको सुरक्षा स्रोतले जनायो। टोलीलाई सबै ठाउँमा खानतलासी गर्ने, संकित व्यक्तिहरूलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने लगायतका अधिकार दिइएको छ।
थप मद्धतका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत १ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेत्रृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० गरेर ८० जना प्रहरीको विशेष टोली सोलुखुम्बु पुर्याइएको छ। बाहिरबाट लगिएको र जिल्ला भित्रकै नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले विभिन्न ठाउँमा सर्च अभियान सुरु गरेर ‘विप्लव’ समूहका कार्यकर्ताको खोजी तीव्र पारेको जनाइएको छ।
>>> सोलुखुम्बुका विकट गाउँमा विप्लवको 'मुभमेन्ट'
सदरमुकाम सल्लेरीबाट छेस्काम २५ कोश टाढा र ३ दिनको पैदल दूरीमा छ। स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि गाउँ आसपासमा नयाँ अनुहार गरेका व्यक्तिहरूको चहलपहल बढेसँगै प्रहरीले पनि आफ्नो सक्रियता बढाएको थियो। गाउँपालिका प्रमुख सागर किरातीले चौकीमा आक्रमण गर्ने कुनै जानकारी प्राप्त गर्न नसकिएको बताए। उनका अनुसार केही दिनदेखि नयाँ अनुहार गरेका र बाहिरका व्यक्तिहरूको आवतजावत भने बढेको थियो।
‘महाकुलुङ–५ को नुर्कुममा केही दिन अघि १५/१६ जना नयाँ अनुहारका मानिस आउने र जाने भइरहे पनि उनीहरू विप्लवका नेता कार्यकर्ता हुन् या हैनन् भन्ने प्रष्ट हुन सकेन,’ किरातीले भने, ‘सोधीखोजी गरिरहे पनि उनीहरूले नाम्चे गएर आएको भन्ने जवाफ मात्रै दिन्थे।’ उनले नयाँ अनुहारको चहलपहल र शंकास्पद खालका गतिविधीसँगै गाउँमा सुरक्षा संवेदनशीलता भने बढेको बताए।
प्रदेश १ मा नेपाल प्रहरीको कमजोर सुरक्षा रणनीतिको फाइदा उठाउँदै विप्लवले आफ्ना गतिविधी बढाइरहेको स्रोतले बतायो। ‘पछिल्लो समय पूर्वी पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ लगायतमा ‘विप्लव’ को गतिविधी बढेको छ,’ स्रोतले भन्यो, ‘भोजपुरमा हतियारधारी विप्लवका कार्यकर्ता मारिएको घटनाले पनि यसको पुष्टि गर्छ।’
प्रदेश भरी नै कमजोर सुरक्षा रणनीति तथा सुरक्षा व्यस्थालाई मजवुत बनाउन नसकेकै कारण हतियारसहित खुलेआम रुपमा ‘विप्लव’का कार्यकर्ता हिँड्ने र विभिन्न ठाउँलाई तालिमस्थल बनाउने तथा प्रहरी चौकीमाथि आक्रमणको प्रयास गर्दा पनि नियन्त्रणमा लिन नसक्नुलाई कमजोर सुरक्षा व्यवस्थाका रुपमा लिइएको छ।
अन्नपूर्णसँग सम्पर्कमा आएका एक जना विप्लवका कार्यकर्ताले छेस्काम प्रहरी चौकी आक्रमण प्रयास असफल भएको प्रतिक्रिया दिए। ‘चौकी आक्रमण गर्ने हाम्रो योजना निक्कै पहिलेदेखि कै हो,’ उनले भने, ‘त्यही अनुसार टोली ‘मुभ’ भए पनि सूचना अगाडि नै चुहिएका कारण प्रहरी बाहिर गएर चौकी मात्रै हुँदा हामी सफल हुन सकेनौं।’ उनले सरकारले माग पूरा गर्नुको साटो प्रतिबन्ध लगाएर दमन गर्न थालेपछि त्यसको प्रतिवाद गर्ने योजना बनाइएको थियो। ‘कुनै पनि प्रहरी युनिट आक्रमण गरेर सरकारलाई गतिलो जवाफ दिने पार्टीको योजना छ,’ ती कार्यकर्ताले भने, ‘त्यसका लागि सबै तयारी भइसकेको र कार्यकर्ता पनि तयार पारिसकिएको छ।’
सुरक्षा अधिकारीले भने यो घटनालाई सामान्य ढंगबाट प्रस्तुत गरेका छन्। उनीहरूले आक्रमणको प्रयास नभएको र यो निराधार हल्ला मात्रै भएको बताए। प्रजिअ रानाले प्रहरी चौकी कब्जा गरेको र आक्रमणको प्रयास गरेको कुरा हल्ला मात्रै भएको बताए। ‘केही दिनदेखि विप्लवको गतिविधि चैं जिल्लामा बढेको छ,’ उनले भने, ‘त्यही भएर सुरक्षा सतर्कता बढाइएको छ।’ प्रजिअ रानाले जिल्लाको सुरक्षा सतर्कता बढाउने विषयमै छलफल गर्न आपतकालिन बैठक बोलाइएको बताए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको चौकी कब्जा गरेको र आक्रमण प्रयास गरेको कुनै जानकारी नभएको बताए। ‘त्यहाँको सुरक्षा व्यवस्था चैं कडा पारिएको छ,’ टेलिफोनमा उनले भने, ‘प्रहरी कतै गस्तीमा निस्किएका बेला कोही नयाँ मान्छे चौकी छेउछाउ हिँडेका कारण ‘विप्लव’ कै कार्यकर्ता हुन् कि भनेर स्थानीयले आशंका व्यक्त गरेको हुन सक्छ।’
प्रतिक्रिया दिनुहोस !