माेरङमा कांग्रेस नेता र व्यवसायीमाथि आक्रमण
विराटनगर : मोरङको केराबारी गाउँपालिका–५ मा युवाहरुको एक समूहले कांग्रेस नेता वृष थापा र युवा व्यवसायी अनिल बस्नेतमाथि आक्रमण गरेको छ ।
पिपल चोकदेखि सुम्निामा चोकसम्मको १ हजार १ सय मिटर कालोपत्रे सडकको निरीक्षणका क्रममा कांग्रेस जिल्ला सदस्य थापा र बस्नेतमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
स्थानीय विमल राईका अनुसार युवाहरुले थापामाथि सामूहिक रुपमा लाट्ठी र ढुंगाले आक्रमण गर्न थालेपछि बस्नेत छुट्याउन गएका थिए । ७ जनाको समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताए ।
हिमाल लिम्बू, अमित लिम्बू, वसन्त लिम्बू, विक्रम कटुवाल समेतको समूहले सडकमा कालोपत्रे गर्ने काम आफूहरुलाई नदिएको भन्दै थापामाथि आक्रमण गरेको हुनसक्ने बताइएको छ ।
कुटपिटमा संलग्नमध्ये वसन्त र विक्रम सोमबार दिउसो पक्राउ परेको प्रहरीले बताएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । घटनामा संलग्न युवाहरुले यसअघि पनि सर्वसाधारण तथा व्यवसायीलाई धम्क्याउने, थर्काउने र असुली गर्ने धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट बस्नेतको पाखुरा भाँचिएको छ । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
प्रतिक्रिया दिनुहोस !