७५ वर्षे युवा जोस, कृषिबाटै वार्षिक १५ लाख
![७५ वर्षे युवा जोस, कृषिबाटै वार्षिक १५ लाख](https://annapurnapost.prixacdn.net/media/albums/jituharka-tamang-udayapur-75-years_20190604010042_BVrX9KBeee.jpg)
उदयपुर : मेहनत, जोसजाँगर भए पैसा कमाउन उमेरले रोक्दैन। इच्छाशक्ति भने हुनुपर्छ। ३०÷४० हजार रुपैयाँ कमाउन विदेशी भूमिमा पुग्ने युवाका लागि यहाँका एक ७५ वर्षीय वृद्ध उदाहरण बनेका छन्। पत्यार नलाग्न सक्छ ७५ वर्षीय वृद्धले खेती गरेरै वार्षिक १५ लाख कमाउँछन् भन्ने ! त्यसमा पनि झन् एउटा खुट्टाले त्यति भर पाउँदैन, लौरो टेकेर उकाली-ओराली गर्दै बारीमा पुग्छन् उनी।
वृद्धवृद्धा परि श्रम गर्न सक्दैनन् र आम्दानीको स्रोत नहुँदा दुःख पाउँछन् भनेरै सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ। तर, त्यसको उनले कुनै मतलब राख्दैनन्। उमेरले डाँडो काट्दै गए पनि उदयपुरको रौतामाई गाउँपालिका-७ धाङ्लेका कृषक जितुहर्क तामाङको मेहनत, परि श्रम र लगनशीलतामा कमी आएको छैन। उनको लगाव र जाँगर देखेर गाउँका सबै छक्क पर्छन्। घाम झुल्कनुअघि चिया पिएर खेतबारीमा पुग्ने उनी मध्याह्न खाना खान घर फर्कन्छन्।
मध्याह्न १२ देखि दुई बजेसम्म आराम गर्छन्। तीन घन्टा नजिकैको मुर्कुची बजारमा साथीभाइसँगको भेट अनि सामाजिक कार्यपछि पुनः घर फर्किएर खेतीमा रमाउने तामाङ परि श्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्छन्।
२० वर्षदेखि तामाङ फलफूल, तरकारीखेती, बाख्रापालन र पानीघट्ट व्यवसाय सञ्चालन गरी वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्छन्। हरेक दिन बिहान चार बजे उठेर आर्थिकोपार्जनमा लाग्ने उनले पैसा मात्र कमाएका छैनन्, गाउँलेबाट सम्मानसमेत पाएका छन्।
‘धन कमाउने रहर गरेर मात्र हुन्न’, उनी भन्छन्, ‘त्यसका लागि आत्मविश्वास हुनुपर्छ।’ लगनशील भएर काममा लाग्ने हो भने कोही असफल नहुने उनको अनुभव छ। तामाङका घरमा ८५ वटा बाख्रा छन्। २५ रोपनीमा सिजनअनुसारका तरकारी लगाएका छन्। घर छेवैमा पाँच दर्जनभन्दा बढी आँप र लिचीका बोट छन्। उनको पानीघट्ट पनि निरन्तर चलिरहेको छ।
‘वैशाखमा २० वटा खसी दुई लाख ६३ हजार रुपैयाँमा काठमाडौंका व्यापारीलाई बेचेँ’, तामाङले भने, ‘४० वटा बोका बेच्दा एक लाख २० हजार आम्दानी भयो।’
वार्षिक करिब ६ लाख रुपैयाँ बराबरको कोभी, आलु, काँक्रा, बोडी, खुर्सानीलगायत तरकारी र चार लाख बराबरको फलफूल बिक्री गर्दै आएको उनले सुनाए।
६ वर्षअघि पत्नीको निधन भएपछि पाँच भाइ छोरामध्ये साहिलो भरतसँग बस्दै आएका छन् उनी। बाबुको मेहनत र लगनशीलता देखेका उनीहरू सबै कृषिमा तल्लीन छन्। छोरा-बुहारी र नाति-नातिना मेहनती भएकै कारण बाख्रापालनदेखि पानीघट्टसम्म चलाएको उनले सुनाए।
पञ्चायतकालमा दुईपटक प्रधानपञ्च र बहुदलीय व्यवस्थामा एकपटक गाविस अध्यक्ष भएका तामाङले प्रधानपञ्च हुँदा आफैंले तरकारीको भारी बोकेर बेच्न लगेको बताए। ‘प्रधानपञ्चजस्तो मान्छे भारी बोक्छ भन्थे’, विगत सम्झँदै उनले भने, ‘तर मलाई कहिल्यै लाज लागेन।’
काम गर्न लजाउने मानिसले जीवनमा आर्थिक प्रगति गर्न नसक्ने उनको अनुभव छ।
उनी यो पेसामा अरूको प्रेरणाभन्दा पनि आफैं लागेका हुन्। काम गर्न सके राम्रो आम्दानी हुन्छ भन्ने विश्वासकै कारण कृषिमा लागेको उनी बताउँछन्। परम्परागत प्रणालीबाट सुरु गरेका तामाङ अहिले कृषिमा आएका सबै प्रविधिसँग पोख्तसमेत छन्। ‘व्यावसायिक काम गर्न कसैको सहयोग चाहिँदैन’, उनले भने, ‘अनुदानले मानिसलाई परनिर्भर बनाउँछ, त्यसैले सानै भए पनि आफ्नै लगानीबाट सुरु गरेको हुँ।’
उनको सफलता देखेरै गाउँका अन्य मानिसपछि खेतीमा आकर्षित बनेका छन्। ‘सुरुमा त केही गर्लान्जस्तो लागेको थिएन, पछि राम्रो गरेको देखेपछि मैले पनि कृषि खेती सुरु गरें’, छिमेकी तथा रौतामाई गाउँपालिका-७ का अध्यक्ष उत्तरकुमार मगरले भने। गाउँपालिकाकै अग्रज कृषकका लागि वडा र गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले तामाङलाई आधुनिक कृषि प्रणालीमा सक्दो सहयोग गर्ने बताए। उनले भने, ‘जोस, जाँगरमा रत्तिभर कमी छैन, यसरी नै अरूले पनि सिको गर्ने हो भने कृषि क्षेत्रमा आत्मनिर्भर बन्न कुनै समस्या छैन।’
आर्थिक उन्नतिसँगै तामाङ समाजसेवामा पनि उत्तिकै सक्रिय छन्। उनी आफ्नै सक्रियतामा गाउँमा स्थापना भएको तामाङ भाषाको पाठशालाका अध्यक्ष छन्। रौता जनता क्याम्पस मुर्कुचीको स्थापना गर्ने र माध्यमिक विद्यालय मुर्कची सञ्चालन गर्ने कार्यमा समेत उनको महत्वपूर्ण योगदान छ। आफू जन्मिएको ठाउँ रौतामाई गाउँपालिका-१ (साबिक नामेटार गाविस) मा विद्यालय स्थापना गर्न तामाङले ६ रोपनी जग्गा दान गरेका छन्। जसको हालको मूल्य ६० लाख हाराहारीमा रहेको विद्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)