दुर्घटनामा घाइते भएका दुईको मृत्यु
विराटनगर : मोरङमा दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। कोसी राजमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका–३ मा को २७ प ७३७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६५ वर्षीय सत्यनारायण माझीको मृत्यु भएको हो।
जेठ १७ गते शुक्रबार मोटरसाइकलले ठक्कर दिँदा पैदल हिंडिरहेका माझी घाइते भएका थिए । उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका–१ का २३ वर्षीय समीर हुसेनको विराट टिचिङमै उपचार भइरहेको छ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० लक्ष्मीमार्गमा मोटसाइकलको ठक्करबाट ५५ वर्षीय प्रितीबहादुर राईको मृत्यु भएको छ। भोजपुरको अरुण गाउँपालिका–७ घर भएका राईलाई पैदल हिँडिरहेका बेला जेठ ३ गते को ३३ प ९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
राईको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा बुधबार बिहाननै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनापछि चालक सुनसरी रामधुनी नगरपालिका–५ का ३५ वर्षीय सुनिल राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस !