ज्यान जोगाउनै हम्मे

ज्यान जोगाउनै हम्मे

धनगढी : धनगढी उपमहानगरपालिका–२ मिलन चोकका वीरमान कुँवर बिहीबार साँझ श्रीमती सरुसँग खाना पकाउँदै थिए। हुरीले घरको छाना पल्टायो। त्यसपछि उनीहरू अर्को कोठामा गए, जहाँ उनका नातिनातिना र बुहारी बसेका थिए। तर, त्यहाँ नपुग्दै सरुको टाउकोमा इँटा बज्रियो। उनी चिच्याउँदै ढलिन्।

वीरमानले हतपत उठाएर श्रीमतीलाई छाना नउडेको कोठामा पुर्‍याए। ‘त्यो कोठामा जाँदा नातिनातिना खाटमुनि बसेका थिए। बुहारी कराउँदै थिइन्’, सेती अञ्चल अस्पतालमा श्रीमतीको उपचार गराइरहेका वीरमानले भने, ‘जस्ताको छानो गड्याङगुडुङ गरिरहेको थियो।’

छिमेकीको घरमा रात बिताएको उनले सुनाए। बिहान भएपछि मात्र उनले श्रीमतीलाई अस्पतालमा पुर्‍याए। सरुको टाउको, हात र कम्मरमा गहिरो चोट लागेको छ। धनगढी–३ विशालनगरका शिवम जैसी खाटमा बसेर होमवर्क गर्दै थिए। झन्डै साँझको ८ बजेको थियो। जस्ताको छानो गड्याङगुडुङ गर्न थाल्यो। बहिनी र उनी मात्र बसिरहेको अवस्थामा हुरी आएको १० मिनेटसम्म भित्र थिए। त्यसपछि हुरीले जस्ताको छानो उडायो। उनीहरू छिमेकी शेरबहादुर धामीको घरमा ओत लिन पुगे। झन्डै एक घण्टा हुरी चल्यो।

कञ्चनपुर शुक्लाफाँटा–१ की २० वर्षीया लक्ष्मी चौधरी बिहीबार डडेलधुरामा वनभोज खान गएकी थिइन्। साँझ घर फर्किंदै गर्दा गोदावरी नदीनजिक उनी चढेको गाडी हुरीकै कारण दुर्घटनामा पर्‍यो। उनीसहित थुप्रै घाइते भए। ‘पहाडको बाटो काटिसकेका थियौं’, सेती अञ्चल अस्पतालमा उपचाररत उनले भनिन्, ‘तराई लाग्नेबित्तिकै आएको हुरीले गर्दा गाडी दुर्घटना भयो।’

हुरीले कैलाली र कञ्चनपुरमा ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको छ। मानवीय क्षति धेरै नभए पनि भौतिक क्षति पुगेको छ। फलफूल, तरिकारी बाली नष्ट भएको छ। कुखुरा फार्ममा पनि ठूलो क्षति पुगेको छ। कैलाली र कञ्चनपुरमा विद्युत् अवरुद्ध भएको छ। यसले गर्दा दैनिक पत्रिका, रेडियो बन्द भएका छन्। प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा गरी सयभन्दा बढी घाइते भएका छन्।

विद्युत् अवरुद्ध

कैलाली र कञ्चनपुरमा बिहीबार राति ८ बजेदेखि बिजुली, तारवाला फोन र खानेपानी अवरुद्ध छन्। तराईका जिल्ला भएर जाने भएकाले सुदूरपश्चिमको पहाडी क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ। अत्तरिया आसपास १ सय ५० वटा र धनगढी बजार क्षेत्रमा २ सय ५० पोल भाँचिएको विद्युत् प्राविधकरणले जनाएको छ। ४ सय पोल बनाउन तीन–चार दिन लाग्ने प्राधिकरणको धनगढी वितरण केन्द्र प्रमुख धीरेन्द्रप्रसाद यादवले बताए। तराईमा लामो समय बसोबास गरिरहेका बूढापाका बिहीबार बेलुकीको हुरी अहिलेसम्मकै तेज गतिको भएको बताउँछन्। धनगढी–१३ का काशीराम भट्टले आफूले तराईमा बसेको ३० वर्षमा पहिलो पटक यति तीव्र गतिको हुरी भोगको बताए।

जिल्ला दैवी प्रकोप उद्धार समितिको शुक्रबार बसेको बैठकले क्षतिको विवरण संकलन गर्न वडाध्यक्षको नेतृत्वमा समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वडाध्यक्षको नेतृत्वमा क्षतिको विवरण संकलनको व्यवस्था मिलाउने निर्णय गरिएको बताए।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले क्षतिको विवरण संकलन भएपछि संघीय सरकारलाई राहतका लागि अनुरोध गरिने बताए। प्रदेश मन्त्रिपरिषद् बैठक बसी राहतको प्याकेज सार्वजनिक गरिने उनले सुनाए।
                                  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.