डेरी उद्योगको गाडीको ठक्करबाट घाइते बालकको पनि मृत्यु
विराटनगर : चालक निदाएका कारण मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोलाको पुलमा डेरी उद्योगको दूध बोक्ने गाडी दुर्घटनामा घाइते बालकको बुधबार बिहान मृत्यु भएको छ। विराटनगर-रंगेली सडक खण्डमा गाडीको ठक्करबाट घाइते भएका धनपालथान–४ का १५ वर्षीय मोहम्मद कैफको विराटनगरको न्युरो अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परेर गम्भीर भएका कैफको टाउकाको शल्यक्रिया गरिएको थियो। त्यसक्रममा उनलाई 'बी' पोजेटिभ समूहको रगत अभाव भएको थियो। प्रहरी जवान सुरज विकले रगत दिएपछि शल्यक्रिया सम्भव भएपनि उनलाई बचाउन भने नसकिएको अस्पताललाई उद्धृत गर्दै डीएसपी श्रेष्ठले बताए।
झापाको मेचीनगर नगरपालिका-१३ इँटा भट्टामा रहेको एनएमसी डेरी उद्योगको दूध बोक्ने मे १ च ४६०९ नम्बरको पिकअप भेनले मंगलबार बिहान ५:३० बजे ठक्कर दिंदा तीनजना घाइते भएका थिए। दुर्घटनामा परेर मंगलबार नै १५ वर्षीय मोहम्मद जवारको मृत्यु भएको थियो।
१५ वर्षीय कैफ र १८ वर्षीय इशाक अन्सारी गम्भीर घाइते भएका थिए। दुवैजनाको न्युरो अस्पतालमा उपचार भइरहेकोमा कैफको पनि मृत्यु भएपछि उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको श्रेष्ठले बताए।
अस्पतालमा उपचाररत अर्का घाइते अन्सारीको पनि अवस्था गम्भीर रहेको चिकित्कसले बताएका छन्। उनको पनि टाउकाको शल्यक्रिया गरिएको छ।
प्रतिक्रिया दिनुहोस !