डेंगु देखिएपछि मोरङमा उच्च सतर्कता

डेंगु देखिएपछि मोरङमा उच्च सतर्कता

 विराटनगर : सुनसरीको धरान र इटहरीपछि मोरङमा डेंगुको संक्रमण देखा परेको छ। यो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन र विराटनगर महानगरपालिकामा दुईजनामा संक्रमण देखिएको हो। संक्रमितको विराटनगरकै नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

धरानमा डेंगुले महामारीकै रुप लिइरहेका बेला मोरङमा पनि देखा परेपछि स्थानीय तहको सक्रियतामा उच्च सतर्कता अपनाउन थालिएको छ।विभिन्न ठाउँमा सरसफाई गर्दै लामखुट्टेको नियन्त्रणका लागि औषधि छर्कन थालिएको छ। विराटनगर महानगरपालिका, सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्ने अभियान सुरु गरेर सतर्कता अपनाउन थालेका छन्। विशेष गरेर सफा पानीमा बसेर दिउँसो मात्रै लामखुट्टेले टोक्दा डेंगुको संक्रमण हुने भएपछि सरसफाईमा ध्यान दिन थालिएको छ।

तराईका जिल्लामा गर्मी बढिरहेका बेला लामखुट्टेको सक्रियता पनि बढ्ने र टोकाइबाट रोग फैल्याउने भन्दै सचेत रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। रोगको संक्रमण फैलन नदिन सरसफाइमा ध्यान दिन र सचेत रहन नगरवासीलाई आग्रह गर्दै सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न थालिएको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले बताए। औषधि छर्कने कामलाई पनि प्राथमिकतामा राखिएको जानकारी उनले दिए। 

विराटनगर महानगरपालिकामा बुधबारदेखि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन थालिएको महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत एपोलोकुमार भगतले बताए। उनका अनुसार मालाथिन फगीङ स्प्रे गर्न थालिएको हो। ४० प्रतिशत मालाथिन र ६० प्रतिशत डिजेल मिसाएर सबै वडामा छर्कन थालिएको भगतले बताए।

लामखुट्टेको लार्भा हुर्कन नदिइकन मार्नका लागि जमेको सफा पानी नष्ट गर्ने र त्यस्ता पानीमा डढेको मोविल वा डिजेल हालिदिने ‘सर्चिङ एण्ड डिस्ट्रोए’ अभियान पनि सुरु गरिएको उनको भनाइ छ। 

महानगरले विराटनगरको १, २, ३, र १० नम्बर वडामा बुधबार औषधि छर्किएको हो। बिहीबार १, ३, ४ र १०, शुक्रबार ४, ५, ६ र ७ तथा शनिबार ५, ६, ८ र ९ नम्बर वडामा औषधि हान्ने कार्यक्रम छ। त्यसैगरी असार १ गते ८, ९, ११ र १२ मा, २ गते ११, १२, १३ र १४ मा, ३ गते १४, १५, १६ र १७ मा तथा ४ गते १८, १९ नम्बर वडामा मालाथिन फगीन स्प्रे गर्ने कार्यक्रम तय भएको जानकारी भगतले दिए। 

'डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्रै टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको छ,' उनले भने, 'यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि आग्रह गरिसकिएको छ।'

रोग लाग्नुभन्दा लाग्न नदिनु नै उत्तम हुने भएकाले गाउँगाउँमा सर्वसाधारणलाई जागरुक गर्नका लागि स्वास्थ्यकर्मीको विशेष टोली परिचालन गरिएको मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए। उनका अनुसार द्रुत गति टोली (आरआर टिम) गठन गरेर भाउन्ने, लक्ष्मीमार्ग, बेलबारी, लालभित्ती, थापा चोक लगायतका स्थानमा टोली परिचालन गरिएको हो। 

मोटरसाइकल ग्यारेज, होटल, पसल, सार्वजनिक ठाउँ र पसल लगायतमा टोलीले सचेतना फैल्याउने नगरका स्वास्थ्य संयोजक सन्तोश विश्वकर्माले बताए। उनका अनुसार सफा पानी जमेको स्थानमा संक्रमण फैल्याउने लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्यांकीको सफाईमा ध्यान दिइनुपर्छ। यी वस्तुहरुमा सफा पानी राख्ने विषयमा पनि ख्याल राख्नु पर्ने विश्वकर्माले बताए। 

उर्लाबारी नगरपालिकाले पनि नगरक्षेत्र भित्रमा औषधि छर्कदैं नगरवासीमा जागरुक गराउने काम भएको मेयर खड्गबहादुर फागोले बताए। उनले भने, 'बजार क्षेत्र भित्र सरसफाई पनि गरिएको छ। सबैलाई जागरुक गर्दै उच्च सतर्कता अपनाउने काम भएको छ।'
 
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महामारीकै रुप लिने गरी दिनप्रतिदिन फैलँदै गएको डेंगु नियन्त्रणमा प्रदेश सरकार गम्भीर भएर लागेको बताए। उनले डेंगु प्रभावित क्षेत्रका लागि आपतकालिन उद्धार कोष अन्तर्गत प्रदेश सरकारले ८० लाख रुपैयाँ छुट्याएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.