वीरगन्जमा अगुवाको गुनासो : नेपाली सेना अझै सुध्रिएन
वीरगन्ज : नागरिकसँग सम्बन्ध सुमधुर बनाउन नेपाली सेना सुध्रिनुपर्ने आवश्यकता रहेको सरोकारवाला स्थानीय अगुवाहरुले सुझाव दिएका छन् ।
वीरगन्जमा नेपाली सेनाले बुधबार आयोजना गरेको नागरिक– सैनिक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेपाली सेना अझै सम्म नागरिकमैत्री बन्न नसकेको भन्दै सेनामा सुधारको आवश्यकता रहेको औंल्याएका हुन् ।
सशस्त्र द्वन्द्वकालमा सेनाको गतिविधिले आम नागरिक र सेना बीच बढेको दूरी विद्यमान रहेको भन्दै उनीहरुले दूरी कम गर्न सेनाको गतिविधिमा रुपान्तरणको आवश्यकता रहेको बताए ।
साथै नेपाली सेना सञ्चारमैत्री नभएको टिप्पणी सञ्चारकर्मीहरुले गरेका थिए । कार्यक्रममा राजपाकी नेता रम्भा मिश्र, पत्रकार जगदीश शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, विजय महतो, तुलसी भण्डारी, आषिक अन्सारी, सुरेश बिडारी, माधुरी महतो लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुको सुझावपछि जवाफ दिँदै नेपाली सेनाका उपरथी नरेश चन्द भट्टले राजनीतिक र सामाजिक परिवेश अनुसार नेपाली सेना र उसको गतिविधि रुपान्तरण भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस !