सोलारको भरमा स्थानीय तह
![सोलारको भरमा स्थानीय तह](https://annapurnapost.prixacdn.net/media/albums/solar_20181023114217_J4Fex1aD4t.jpg)
गाईघाट : उदयपुरका चार स्थानीय तह अझै पनि सौर्य ऊर्जाको भरमा सञ्चालित छन्। घाम लागेको दिन ब्याट्री चार्ज हुँदा काम हुने तर बादल लागेको दिन विद्युतीय काम गर्न नसकिने जनप्रतिनिधि बताउँछन्।
घाम नलागेको दिन धेरैजसो सेवाग्राही आधा काम गरेरै फर्किने गरेका छन्। बिजुली नभएपछि प्रिन्टिङ, स्क्यानिङ गर्न समस्या मात्र नभएर विभिन्न मन्त्रालय, कार्यालयबाट आएका महत्वपूर्ण सूचना पनि समयमै हेर्न नसकिने लिम्चुङबुङ गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए। उनले लेखा प्रणालीका काम, सिफारिस, चिठी पठाउने र नेटबाट डाउनलोड गर्नुपर्नेजस्ता कागजपत्रका काम प्रभावित बन्ने गरेको उल्लेख गरे।
लेखा प्रणालीको काम कम्प्युटर प्रविधिमा लगेपछि बिजुलीको लाइन र इन्टरनेट नभएको दिन सेवाग्राही रित्तोहात फर्कन बाध्य भएको स्थानीयको भनाइ छ। ‘योजनाका काम फरफारक लिन पालिका केन्द्र पुग्यो। कहिले सोलारबत्तीले नधान्ने त कहिले इन्टरनेट नभएका कारण पर्खन बाध्य हुनुपर्छ’, स्थानीय निर्माण व्यवसायी उद्धव राउतले भने। बत्ती अभावकै कारण सेवाग्राही महँगो खर्चेर होटलमा बास बस्न बाध्य छन्।
असार मसान्त नजिकिँदै जाँदा कामको चाप बढ्ने र भुक्तानी प्रक्रिया पनि एकैपटक हुने भएकाले सेवाप्रवाहमा अझ असजिलो हुने रौतामाई गाउँपाकिलाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। समयमा योजना सम्झौता नहुनु र समयमै काम सम्पन्न नहुँदा पनि जटिलता थपिएको उनको भनाइ छ। उपभोक्ता समितिलाई समयमै काम गर्ने गरी गाउँपरिषद्बाट नीति नै पारित गरे पनि केही प्राविधिक समस्या, विवादका कारण ढिलाइ हुन गएको अध्यक्ष खड्काले बताए।
आठ स्थानीय तह रहेको उदयपुरमा चार वटा गाउँपालिका सोलारको भरमा सञ्चालनमा छन्। ताप्ली र लिम्चुङबुङ गाउँपालिकाको कुनै पनि वडामा बिजुलीबत्ती अहिलेसम्म पुग्न सकेको छैन। रौतामाईकाका आठ वटा वडामध्ये सातको मुर्कुची बजारमा उदयपुर सिमेन्ट उद्योगको प्रसारण लाइनबाट बजार क्षेत्रमा विद्युत् विस्तार भएको छ भने २ र ४ का केही भू–भागमा साना जलविद्युत् आयोजनाबाट बत्ती बालिरहेको गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले बताइन्।
त्यसैगरी, उदयपुरगढीकाका आठ वडामध्ये ७ को केही गाउँमा मात्र बिजुली बालेको उदयपुरगढीका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए। गढीका सात वडाका नागरिक दियालोका भरमा रात बिताउन बाध्य छन्। बत्ती नभएर मोबाइलमा चार्ज नहुँदा सूचना आदान–प्रदान गर्नबाट पनि नागरिक वञ्चित छन्। लघु जलविद्युत् भए पनि मेसिनमा खराबी आउँदा लामो समयसम्म सूचनाबाटसमेत वञ्चित हुनुपर्ने गाउँपालिका उपाध्यक्ष ठकुरीले दुःखेसो गरिन्।
जनप्रतिनिधिले विकास निर्माण प्राथमिकिरण गर्न नसक्दा थप समस्या झेल्नुपरेको त्रियुगा माध्यमिक विद्यालयका प्राचार्य सुवास विष्ट बताउँछन्। अधिकांश जनप्रतिनिधिको विकास निर्माणको पहिलो रोजाइ सडक रहेको छ। सडक जोडिएपछि अन्य विकास क्रमशः हुँदै जाने उनीहरूको तर्क छ।
‘सडक बन्नु नराम्रो होइन, तर आधारभूत आवश्यकतालाई पनि हेर्नुपर्छ। शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता कुरामा जनप्रतिनिधिको ध्यान जान सकेको छैन’ मावि नौलेका पूर्वप्रअ गोविन्द राउतले भने। विद्युत् नहुँदा घाम नलागे तहका काम प्रभावित हुँदा पनि जनप्रतिनिधिले विद्युत्लाई प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ।
विद्युत् सेवा नहुँदा लिम्चुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकाका आर्थिकलगायत कम्प्युटरबाट गरिने प्रायः सबैजसो काम ठप्प हुने गरेका हुन्। विकल्पमा जेनेरेटर राखे पनि कहिले तेल अभाव, बिग्रने र लोड नपुग्ने हुँदा काम प्रभावकारी हुन नसकेको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले बताए। उनले भने, ‘विद्युत् जडान गर्ने योजना रहे पनि प्रक्रिया नपुगेका कारण काम सुरु हुन सकेको छैन।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)