ढलापडाको अनुमति लिएर काँचो साल सखाप

ढलापडाको अनुमति लिएर काँचो साल सखाप

मकवानपुर : मकवानपुरको एक दर्जन सामुदायिक वनमा ढलापडा काठ संकलनको अनुमति लिएर काँचो सालको जंगल अवैध फडानी गरेको पाइएको छ ।

डिभिजन वन कार्यालयबाट ढलापडा काठ संकलनको अनुमति लिएर काँचो सालको रुख कटान गरी ढलापडाको कागज मिलाएर बिक्रीको प्रयास भइरहेको हो । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–११ स्थित ठिंगनमा रहेको गमलटार सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयबाट ढलापडाको अनुमति लिएको छ ।

तर वन क्षेत्रमा दुई सय भन्दा बढी ठूला सालको रुख कटान गरिएको पाइएको छ । ‘हामीलाई ढलापडा भन्ने थाहा छैन, सुकेको रुख त छोएको छैन, वनभित्रको ठूला र राम्रो दुई सय बढी काँचो सालको रुख काटिएको छ’, स्थानीय यक्का बहादुर थोकरले भने, ‘हामीले केही रुखमात्र काटौं भन्दा ठेकेदारले जनर्जस्ती छानिछानी सालको रुख काटेका छन् ।’

काँचो सालको रुख कटान गरी ढलापडाको कागज मिलाउन ठेकेदार र वन कार्यालयका कर्मचारी गाउँ आएको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको उजुरीको आधारमा डिभिजन वन कार्यालयले जिल्ला अदालत मकवानपुरमा वन उपभोक्ता समितिका सचिव सुकराम भोम्जन सहित सात जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

सचिव भोम्जन अदालतमा १३ लाख ५० हजार रुपैयाँ धरौटी तिरेर तारेखमा छुटेको श्रेस्तेदार केशव कौशिकले बताए । स्थानीयको दवाबपछि वनको काठमा लगानी गरेका ठेकेदार श्याम लामाले उक्त धरौटी रकम तिरिदिएपछि भोम्जन तारेखमा छुटेका हुन् । अन्य ६ जनाको नाममा म्याद जारी भएको श्रेस्तेदार कौशिकले बताए ।

‘ठेकेदार र वन कर्मचारीहरुले यो सामान्य कुरा हो भन्यो, हामीले यस्तो काम पहिला कहिल्यै गरेका थिएनौँ’, उपभोक्ता समितिका अध्यक्ष बलबहादुर न्यासुरले भने, ‘अहिले हामीलाई मात्र फसाउने काम भइराछ जस्तो लाग्छ ।’

डिभिजन वन कार्यालयले ६ हजार ६ सय ३१ क्यूफिट सालको काठ बरामद गरी ४६ लाख २७ हजार सात सय बिगो दावी गर्दै २०७५ चैत्र ३ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अन्य १० वटा अनियमित वन फडानी तथा वन पैदावार हानी नोक्सानी सम्बन्धी मुद्दा डिभिजन वन कार्यालयले जिल्ला अदालत मकवानपुरमा दायर गरेको छ । साथै अन्य आठ वटा वन्यजन्तु तस्करी सम्बन्धी मुद्दा रहेका छन् ।

तीमध्ये चार वटा मुद्दा फैसला, सात वटा नियमित पेशी, तीन वटा साक्षी बकपत्र कार्य र चार वटा मुद्दाको अन्य कागजात तथा कारण पेश गर्न भनेको श्रेस्तेतार कौशिकले बताए । अवैध वन फाडानी मुद्दामध्ये दुई वटा मुद्दा व्यक्ति विरुद्ध छन् ।

बागमती गाउँपालिका–४ स्थित लालिगुराँस सामुदायिक वन उपभोक्ता समितिमा अनियमित रुपमा रुख कटान गरी वन पैदावर हानी नोक्सानी गरेको भन्दै वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । २०७५ भदौमा एक सय ३५ क्यूफिट सालको काठ बरामद गरी बागमती गाउँपालिका–४ का ३६ वर्षीय कर्णबहादुर लोप्चन समेत १६ जना विरुद्ध मुद्दा दायर भएकोमा २०७६ असार १ गते बकपत्र तोकिएको अदालतले जनाएको छ ।

ढलापडाको अनुमति लिएर काँचो सालको रुख काटेको पाइएपछि बागमती गाउँपालिका–९ अमलेचौर सामुदायिक वन उपभोक्ता समितिका इन्द्रबहादुर भोलन सहित १२ जना विरुद्ध वन कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो ।

२०७५ असोज २१ गते दायर मुद्दामा तीन सय ५७ क्यूफिट सालको काठ बरामद गरी चार लाख ७५ हजार पाँचसय रुपैयाँ बिगो दावी गर्दै संलग्नहरुलाई कानून अनुसार कैद माग गरिएको छ ।

बकैया गाउँपालिका–२ स्थित थाकलचौर सामुदायिक उपभोक्ता समितिले पनि ढलापडाको अनुमिति लिएर काँचो सालको रुख कटान गरेपछि वन कार्यालयले ३० लाख चार हजार बिगो माग सहित समितिका अध्यक्ष रत्नबहादुर जिम्बा सहित नौ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । तीन हजार तीनसय ४६ क्यूफिट सालको काठ बरामद गरी दायर मुद्दामा अध्यक्ष जिम्बा पुर्पक्षको लागि भीमफेदी कारागारमा छन् ।

वागमती गाउँपालिका–३ स्थित चिरुवा सल्लेनी सामुदायीक वन उपभोक्ता समितिले अनियमित रुपमा रुख कटान गरी वन पैदावर हानी नोक्सानी गरेको भन्दै २०७५ मंसिर २१ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पाँच हजार दुईसय ३१ क्यूफिट सालको काठ बरामद गरी ४२ लाख ५५ हजार विगो मागदावी सहित वन कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.