विराटनगरमा उच्च गर्मी, जनजीवन प्रभावित
विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा बिहीबार यो वर्षको अहिलेसम्मकै अधिक गर्मी भएको छ। विराटनगरसहित पूर्वी तराईका जिल्लामा दिनप्रतिदिन गर्मी हुने क्रम बढ्दो अवस्थामा छ।
उखरमाउलो गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ। दैनिक मजदुरी गरेर जीवन यापन गर्नेलाई कठिन भएको छ। रिक्सा मजदुर, निर्माण मजदुर, सडक मजदुरदेखि दैनिक श्रम गरेर छाक टार्नु पर्ने अवस्था भएका गर्मीका कारण बढी प्रभावित बनेका छन्।
दिउँसो समय प्रतिकूल हुन थालेपछि सडकमा साइकल, मोटरसाइकलगायत साना सवारीका साधन पातलिन थालेका छन्। सरकारी कार्यालय, कृषि उद्यम, बजार, पसल एवं सार्वजनिक क्षेत्रमा दिउँसो चहलपहल कम हुन थालेको छ। चिसो पेय पदार्थको किनबेच पनि बढेको व्यापारीले बताएका छन्।
बुधबारदेखि पूर्वका विराटनगर, विर्तामोड, भद्रपुर, दमक, इटहरी, इनरुवासमेतका सहरमा तातो हावाको बहाब बढेको हावा पानी फिल्ड कार्यालयले जनाएको छ। कार्यालयका विराटनगर प्रमुख विकास देउजाका अनुसार न्युनतम २३ देखि अधिकतम ३८ डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ।
शुक्रबार विराटनगरको अधिकतम ३८ र न्युनतम २८ डिग्री पुगेको छ। बिहीबार ३७.३ र न्यूनतम २६.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। शुक्रबारको तापक्रम तापक्रम वैशाख यताको अधिक हो।
कोसी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन डा. लक्ष्मीनारायण यादवले गर्मीको सबै भन्दा बढी असर बालबालिका र वृद्धवृद्धामा पर्ने जानकारी दिए। उनका अनुसार उच्च तापक्रमले गर्दा बालबालिकाहरुको मस्तिकसमा असर पर्ने र उनीहरु बेहोस हुने समस्या आउन सक्छ। ‘बढ्दो गर्मीका कारण मानिसको स्वास्थ्यमा गम्भीर असर पर्छ’, उनले भने, ‘निन्द्रा नलाग्ने, रक्तचाप बढ्ने, राता रक्तकोषहरु धेरै मर्ने, जण्डिसको समस्या बढ्ने र वातावरणसँग घुलमिल हुन नसक्दा लाग्ने मानसिक रोगले पनि आक्रान्त बनाउने लगायतका समस्या देखा पर्न सक्छन्।’
वातावरण क्षेत्रका जानकार एवं त्रिभुवन विश्व विद्यालयका वातावरण विज्ञानका उप–प्राध्यापक रामचन्द्र अधिकारी जलवायु परिवर्तनले हरेक वर्ष पृथ्वीको तापक्रम बढाउँदै लैजानुले गर्मी दिन प्रतिदिन बढ्दै गएको बताउँछन्। ‘नेपालको तापक्रम वृद्धिदर ० दशमलव ०६ डिग्री सेल्सियस छ’, उनले भने, ‘त्यही भएर चिसो हुनु पर्ने रात पनि गर्मी नै छन्।’
पूर्व अनुमान गर्न नसक्ने किसिमका परिवर्तनहरु आउने भएकाले यस्तो गर्मी कहिलेसम्म रहन्छ भनेर भन्न नसकिने अधिकारीको भनाइ छ। उनले भने, ‘बढ्दै गएको गर्मीसँग मानिसलाई घुलमिल हुन सक्ने अवस्थाको सिर्जन गर्नुको विकल्प छैन।’ विराटनगरमा पछिल्लो तापक्रमको अवस्था
न्युनतम अधिकतम
जेठ २५ २४.० ३३.०
जेठ २६ २३.८ ३२.०
जेठ २७ २४.८ ३३.०
जेठ २८ २४.६ ३४.०
जेठ २९ २५.४ ३५.८
जेठ ३० २६.२ ३७.३
जेठ ३१ २८.२ ३८.०
स्रोत : हावापानी फिल्ड कार्यालय विराटनगर।
प्रतिक्रिया दिनुहोस !