ठोरी नाकामा भारतीयको दादागिरी, नेपाली भूमिमै पसेर प्रहरीलाई कुटे
वीरगन्ज : भारतीय सीमा नाकासँग जोडिएको पर्साको ठोरीमा भारतीयहरुको दादागिरी बढ्दै गएको छ। तीन साता अघि मात्र घरायसी सामान किनमेलका लागि भारतको भिखनाठोरीको हाटबजारमा गएका ५ जना नेपालीलाइ भारतीयहरुले कुटपिट गरेर घाइते बनाएका थिए। उक्त घटना सेलाउन नपाउँदै अहिले फेरि भारतीयहरुले नेपाली भूमिमै पसेर ड्युटीमा रहेका नेपाल प्रहरीका एक जवानलाई कुटपिट गरेका छन्।
ठोरीस्थित इलाका प्रहरी कार्यालय छेउको सेन्ट्री ड्यूटीमै बसेका प्रहरी जवान प्रसाद चौधरीलाई पाँच जना भारतीय युवाहरुले कुटपिट गरेका हुन्। शुक्रबार अपरान्ह डब्लूबीडी ९६६८ नम्बरको भारतीय सफारी गाडी चढेर नेपालको ठोरी घुम्न आएका पाँच जना भारतीय युवाहरुले सेन्ट्री ड्युटिमा बसेका प्रहरी जवान चौधरीलाई कुटपिट गरेका हुन्।
कुटपिट गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरुमा भारतको जमुनिया निवासी २३ वर्षीय राहुल कुमार, २५ वर्षीय कृष्णकान्त कुमार , १९ वर्षीय रविकान्त कुमार, १७ वर्षीय देवा कुमार र २३ वर्षीय अनय कृष्ण रहेका छन्।
इलाका प्रहरी कार्यालय ठोरीको सेन्ट्रीमा बसेका प्रहरी जवान चौधरी माथि हातपात गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी नायव निरीक्षक रामबहादुर श्रेष्ठले जानकारी दिए।
गाडीको इन्ट्री गर्ने विषयमा विवाद सिर्जना गर्दै उनीहरुले प्रहरी जवान चौधरीमाथि आक्रमण गरेको प्रहरी नायव निरीक्षक श्रेष्ठले बताए। सेन्ट्रीमा बसेका प्रहरी जवान चौधरीले गाडी इन्ट्री गरेर मात्रै जान भनेपछि भारतीय युवाहरुले विवाद गरेको र त्यहि विवादलाई लिएर प्रहरी जवान चौधरीमाथि हातपात गरेको प्रहरी नायव निरीक्षक श्रेष्ठको भनाई छ।
प्रहरी जवान चौधरी भागेर कार्यालयतर्फ जान खोज्दासमेत उनीहरुले कुटपिट गरेका थिए। प्रहरीमाथि कुटपिट भएको थाहा पाएपछि नजिकैको इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रहरी जवान चौधरीको उद्धार गरेको थियो।
कुटपिटमा संलग्न पाँचै जना भारतीय युवाहरुले मदिरा सेवन गरेको पाइएको प्रहरी नायव निरीक्षक श्रेष्ठले बताए। उनीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ। उनीहरु सवार रहेको गाडी भने इलाका प्रहरी कार्यालयमै राखिएको छ।

प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ठोरी परिसरमा राखिएको गाडी ।
वीरगन्ज यसअघि गत जेठ २ गते पर्साको ठोरी नाकासँग सीमाना जोडिएको भारतको भिखनाठोरी बजारमा लागेको हाटबजारमा किनमेल गर्न गएका पाँच जना नेपालीलाई भारतीयले कुटेर घाइते बनाएका थिए। उक्त घटनापछि भिखनाठोरी बजार, असुरक्षित भएको भन्दै ठोरीका स्थानीयहरु त्यहाँ किनमेल गर्न जान छाडेका थिए।
प्रतिक्रिया दिनुहोस !