अछामका घर-घर पुगेर स्वास्थ्य सेवा दिँदै स्वास्थ्यकर्मी
अछाम : साँफेबगर नगरपालिका–२ जाल्पादेवीकी अस्मिता परियारले आजभोलि घरमै उपलब्ध खानेकुराबाट आफ्नो एक वर्षे छोराका लागि पोषणयुक्त लिटो बनाउने गर्छिन् ।
यसअघि उनलाई घरमै रहेको खाद्यान्नबाट बच्चाको लागि पोषणयुक्त लिटो बनाउन सकिन्छ भन्ने जानकारी नै थिएन । उनी बच्चालाई कस्तो अवस्थामा अस्पताल लिने र घरमै के उपचार गर्न सकिन्छ भन्ने बारेमा समेत अचेल जानकार भएकी छन् ।
छोरालाई लिटोसँगै परिवारको स्वास्थ्य र सरसफाइको विषयमा पनि विषेश ध्यान दिन थालेकी छन् उनले । ‘बजारबाट किनेको खानेकुराबाट पोषण मिल्छ जस्तो लाथ्यो तर आजभोलि घरमा दैनिक जस्तो स्वाथ्यकर्मी आउनुहुन्छ, उहाँले लिटो बनाउने तरिका, बच्चा बिरामी हुँदा घरमै गर्ने उपचार तरिका र अस्पताल लैजानुपर्ने अवस्थाका बोरमा जानकारी दिनुहुन्छ,’ उनले भनिन् ।
६५ वर्षीय जयपती बिक बिगत ११ वर्षदेखि सुगर र पे्रसरको औषधि सेवन गर्दैआएका छन् । एक महिनाको एक पटक स्वास्थ परीक्षण गर्न र औषधि लिन उनी बयलपाटा अस्पताल पुग्थे । तर आजभोलि उनी दैनिक अस्पताल पुगिरहनु पर्दैन ।
दैनिक उनकै घरमा पुगेर स्वास्थकर्मीले स्वास्थ परीक्षणका साथै खानपान र नियमित औषधि सेवन गरे–नगरेको जानकारी लिने गर्छन् । खानपानमा त्यति ध्यान नदिने बिक स्वास्थकर्मी घरमै पुग्न थालेपछि भने खानपानमा विषेश ध्यान दिन थालेको बताउँछन् ।
नियमित घरमा स्वास्थ कार्यकर्ता पुगेर रोगले पार्ने दिर्घकालिन असर बारे जानकारी गराउन थालेपछि उनले खानपानमा ध्यान दिन थालेका र अन्य रोग बारे समेत जानकारी पाउने गरेको बताए ।
परिवारको स्वस्थ जीवनशैलीका विषयमा समेत अचेल आमा समूहमा महिलाहरु छलफल गर्छन् । आमा समूहका महिलाले घरमै उपलब्ध हुने खानेकुराबाट कसरी पोषणयुक्त लिटो बनाउन सकिन्छ भनेर समुदायका अन्य महिलालाई समेत सिकाउँदै आएको सामुदायिक स्वास्थ कार्यकर्ता राधिका शाह बताउँछिन् । राधिका भन्छिन्, ‘दैनिक नियमित बिरामी भेटघाटले समुदायका मानिस रोगका बारेमा बुझ्न थालेका छन् । समुदायमा कोही बिरामी भयो भने गर्भवती महिलाका लागि कतैबाट एम्बुलेन्सको ब्यवस्था गर्नुपरे मलाई नै फोन गर्छन् ।’
यसरी घरघरमै स्वास्थ्यसेवा उपलब्ध गराएको हो, न्याय हेल्थ बयलपाटा अस्पतालले । सामुदायिक स्वास्थ कार्यक्रम अन्र्तगत स्वास्थ्यकर्मीहरु घरसम्मै पुगेर बिरामी भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको शाहले बताइन् ।
अछामका दश स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, चौरपार्टी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकामा सामुदायिक स्वास्थ कार्यक्रम सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी धर्मराज कडायतले जानकारी दिए ।
५ स्थानीय तहमा ६१ जना सामुदायिक स्वास्थ कार्यकर्ताले घरभेटघाट मार्फत् सेवा प्रदान गरिरहेका छन् । बाँकी ६ वटा स्थानीय तहहरुमा पनी यो सेवा सञ्चालनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !