४८ अर्बको बजेट ल्याउँदै प्रदेश ३

४८ अर्बको बजेट ल्याउँदै प्रदेश ३

हेटौंडा : ३ नम्बर प्रदेश सरकारले २०७६/७७ का लागि करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभामा प्रस्तुत गरिने बजेटको तयारी पूरा भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुंगेलले बताए।  

बजेटमा पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको उनले जानकारी दिए। चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजना कार्यान्वयन गर्न नसकेपछि ती योजनालाई नयाँ आर्थिक वर्षमा प्रदेश गौरवको योजनामा राखिएको छ। पोष्टबहादुर बोगटी भीमफेदी–काठमाडौं सुरुङ मार्ग, पुष्पलाल चक्रपथ निर्माण, मदन भण्डारी सडक निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवका योजनाका रूपमा अगाडि बढाइएको छ। हेटौंडा अस्पतालको क्षमता वृद्धि गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन लागेको हो।  

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ल्याएको विद्युतीय सवारी सञ्चालन गर्न डिजेल पेट्रोलबाट चल्ने सवारी साधनमा न्युनीकरण गर्न बजेट छुट्याइएको ढुंगेलको भनाइ छ। प्रदेशमा विकल्पसहित प्लाष्टिक निषेध गर्ने तयारी गर्न बजेट छुट्याइएको उनले जानकारी दिए। चालु आर्थिक वर्षमा बजेट छुट्याएर काम नभएका योजनाको बजेटलाई पनि निरन्तरता दिएको उनले बताए। ‘प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका नागरिकलाई छुने गरी बजेट ल्याउँदैछौं’, उनले भने, ‘यो बजेटबाट जनताले प्रदेश सरकारको अनुभूति गर्न पाउनेछन्।  ’

कृषि, वन, पर्यटनलाई समेत प्राथमिकता दिएको बजेट खर्च पूर्ण रूपमा खर्च हुने गरी ल्याउन लागिएको ढुंगेलले बताए। ‘विविध कारणले चालु आर्थिक वर्षमा धेरै रकम खर्च नहुने निश्चित छ तर, आउँदो आर्थिक वर्षका लागि खर्च गर्ने आधारसहित बजेट ल्याउँदैछौं’, मन्त्री ढुंगेलले भने। चालु आर्थिक वर्षको बजेट खर्च २५ प्रतिशतमा सीमित हुने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको अनुमान छ। प्रदेशले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।  

पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख नौ हजार र चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार बजेट छुट्याएकोमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जम्मा १८ प्रतिशत बजेट खर्च भएको थियो। सरकारले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च नभएपछि स्थानीय तहलाई एम्बुलेन्स, दमकल र शव बाहन खरिद गर्न १० करोड ५७ लाख रुपैयाँ बजेट निकासा गरेको छ।  

२०७६/७७ को बजेट पिएलएमबीआईएस सिस्टमबाट निर्माण गरिएको मन्त्रालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव घनश्याम पन्थीले चालु आर्थिक वर्षको बजेट सूत्र प्रविधिबाट ल्याइएकोमा प्रदेशको बजेट निर्माण उक्त प्रविधि प्रभावकारी नभएकाले नयाँ प्रविधि प्रयोग गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.