व्यापारिक मार्गको डिजाइन त्रूटिपूर्ण, सात सय उद्योग जोखिममा
वीरगन्ज : वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा निर्माणाधीन वीरगन्ज पथलैया ६ लेनको व्यापारिक मार्गको डिजाइन त्रूटिपूर्ण भएपछि अर्बौंको औद्योगिक लगानी जोखिममा परेका छन्।
व्यापारिक मार्गको नाला र बारको डिजाइनमा सुधार नगरिए यस औद्योगिक कोरिडरमा रहेका उद्योग कलकारखाना सञ्चालनमा निकै ठूलो समस्या आउने व्यवसायीले बताएका छन्। सडक विस्तारका क्रममा अहिले निर्माण गरिएको नाला र सडकको दुवैतिर चार फिटे बारको डिजाइन त्रूटिपूर्ण रहेकाले अर्बौंको औद्योगिक लगानी डुब्ने खतरा रहेको उद्योगीको तर्क छ। वीरगन्ज उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उद्योगीले सडक र नालाको डिजाइनमा सुधार गर्न आग्रह गरेका हुन्।
संघका पूर्वअध्यक्ष प्रदीप केडियाले अहिले निर्माण गरिएको नालामा वर्षाका बेला सडकको पानी मात्र निकास हुने बताए। तर उद्योगका पानीको भने निकास नहुने गरी निर्माण गरिएकाले वर्षाका बेला उद्योग नै डुबानमा पर्दै आएको उनको भनाइ छ। ‘सडक विभागले नालाको डिजाइनमा परिवर्तन गरेन भने वर्षाका बेला सबै उद्योग डुबानमा परी बन्द हुने निश्चित छ’, उनले भने, ‘उद्योग क्षेत्रको पानी कहाँ कसरी निकास हुने भन्ने विषयमा सडक विभागले ख्यालै गरेको छैन, यसले अर्बौंको औद्योगिक लगानी जोखिममा पर्ने निश्चित छ। ’
उद्योगीका अनुसार, सडक विस्तारका क्रममा निर्माण भइरहेको नालामा उद्योगको पानीको निकास नै नहुने गरी संरचना बनाइएका कारण यस कोरिडोरमा रहेका करिब ७ सय उद्योग वर्षाका बेला डुबानमा परेर बन्द हुनेछन्।
सडक विस्तारसँगै निर्माण गरिएको नालाका कारण पानीको बहाव बन्द भएको र नयाँ नालाले आकासे पानीको निकास नदिएकाले उद्योगी चिन्तित बनेको संघका अध्यक्ष गोपाल केडियाले बताए। ६ लेन सडकमा बनाइएको सर्भिस लेन पनि निकै साँघुरो रहेकाले कच्चा पदार्थ लिएर आउने ठूला मालवाहक गाडी उद्योगमा सहज प्रवेश नहुने उद्योगी व्यपारीको गुनासो छ।
सडक र नालाको डिजाइनमा देखिएको त्रुटि तत्कालै सम्बोधन गर्नुपर्ने उद्योगीको माग छ। वीरगन्ज पथलैया ६ लेन व्यापारिक मार्ग योजना कार्यालय पथलैयाका प्रबन्धक सञ्जयकुमार मि श्रले उद्योगबाट निस्कने पानीको निकास आफैंले व्यवस्था गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दुई वर्षभित्रै बन्नुपर्ने ६ लेनको व्यापारिक मार्ग तीन वर्ष बित्दा पनि ४० प्रतिशत मात्र काम भएको गुनासो गरे। ‘यही गतिमा काम हुने भने भने अझै ५ वर्ष लाग्ने देखिन्छ’, उनले भने, ‘त्यसैले काम छिट्टै सक्न चौतर्फी सहयोग र पहल आवश्यक छ। ’
प्रतिक्रिया दिनुहोस !