तराईमा उखरमाउलो

तराईमा उखरमाउलो

मलंगवा : केही दिनयता उखरमाउलो गर्मीका कारण जनजीवन कष्टकर बनेको छ।दैनिक ज्याला मजदुरी गर्ने, निर्माण कामका मजदुर, रिक्सा चालक, स्कुले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। सर्लाही सदरमुकाम मलंगवा, बरहथवा, लालबन्दी, हरिवन, ईश्वरपुरलगायत बजारमा चहलपहल घटेको छ। सरकारी कार्यालयमा सेवाग्राहीको चापमा कमी आएको छ। व्यापारमा घाटा हुन थालेको गुनासो व्यापारीले छन्। बजार दिनभर सुनसान हुने गरेको उनीहरूको भनाइ छ।

तापक्रम ४० डिग्री नाघेपछि जनजीवन आक्रान्त बनेको मलंगवाका निर्माण व्यवसायी दिनेश यादवले बताए। शनिबार मध्याह्न १२ बजेदेखि मजदुरलाई काममा लगाउन छाडेको उनले सुनाए। उनका अनुसार मजदुरको स्वास्थ्यको ख्याल गर्दै बिहान-बेलुका मात्र काममा लगाउने गरिएको छ।

वृद्धवृद्धा स्याहार्न सास्ती भइरहेको पद्मभुवनेश्वरी नमुना वृद्धा श्रम सञ्चालिका भवानी कोइरालाले बताइन्। ‘अत्यधिक गर्मीका कारण वृद्ध आमाबुवा घरभित्र बस्न मान्नु हुन्न’, उनले भनिन्, ‘दिनभर रूखको फेदमा गएर बस्नुहुन्छ। राति पनि बाहिरै आएर सुत्नु हुन्छ।’

उनका अनुसार पक्की घर तातेपछि छिटो सेलाउँदैन। बिजुली पनि नियमित आउँदैन। कम भोल्टेज बिजुलीले पंखा राम्रोसँग चल्दैन। मोटर चलाउँदा कम भोल्टेजका कारण कम पानी दिने समस्या रहेको उनले बताइन्।

जस्ताले छाएको भवनमा विद्यार्थीलाई पढाउन गाह्रो भएको जनता मावि औरहीका प्रधानाध्यापक लक्ष्मीकान्त रायले बताए। ‘बिहान ९ बजेदेखि अत्यधिक गर्मी हुन्छ’, उनले भने, ‘विद्यार्थी कक्षाकोठामा बस्नै मान्दैनन्। छिनछिनमा बाहिर भाग्न खोज्छन्।’ मध्याह्नसम्म पढाउँदा त विद्यार्थी र शिक्षक दुवै पसिनाले निथ्रुक्कै हुने उनले सुनाए। उनका अनुसार विगतमा यो समय यत्तिका गर्मी हुँदैनथ्यो। असार-साउनमा गर्मी बिदा हुन्थ्यो। यो वर्ष जेठमै यति धेरै गर्मी भएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.