जहाँ विद्यार्थीलाई शिष्टता सिकाइन्छ
धनकुटा : विद्यार्थी संख्या घट्दै गएपछि कुनै बेला बन्द हुने सँघारमा पुगेको थियो— धनकुटा–३, स्याउलेको ज्वालादेवी प्राथमिक विद्यालय। त्यहाँको भौतिक पूर्वाधार पनि जीर्ण अवस्थामा थियो। २०७२ सालको विनाशकारी भूकम्पले भवन चर्किएको थियो। कक्षा कोठा व्यवस्थित थिएन। भर्ना भएका विद्यार्थीलाई पनि पठनपाठन गराउन कठिन थियो। सबै कुराको व्यवस्थापन नहुँदा शैक्षिक गुणस्तर पनि क्रमशः खस्किन थालेको थियो।
तर अहिले शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारका राम्रा प्रयासहरू हुन थालेका छन्। त्यसपछि विद्यालयको पहिचान फेरिएको छ। यो विद्यालय सामुदायिक रूपमा सञ्चालित भए पनि अहिले निजी विद्यालयको जस्तै अंग्रेजी माध्यममा पठनपाठन हुन्छ। शैक्षिक सुधार भएसँगै विद्यालयमा विद्यार्थीको चाप बढेको छ। कुनै बेला विद्यार्थी अभावले अन्य विद्यालयसँग मर्ज हुने स्थितिमा पुगिसकेको यो विद्यालयमा अहिले ४४ जना विद्यार्थी पढिरहेका विद्यालयका प्रधानाध्यापक रामहरि सुवेदीले बताए।
यो संख्यालाई आगामी वर्ष बढाउने लक्ष्य विद्यालयले लिएको छ।
‘कुनै बेला यहाँका अभिभावकले छोराछोरी च्यापेर बोर्डिङ स्कुल लैजाँदै गरेको दृश्य देख्दा साह्रो नराम्रो लाग्थ्यो’, शिक्षिका विमला वाग्लेले बताइन्।
यसरी बढे विद्यार्थी
निरन्तर पढ्दै गरेका विद्यार्थी निजी विद्यालयमा भर्ना हुन थालेपछि विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा निर्वाचित जनप्रतिनिधिहरूले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे। घरघरमा पुगेर अभिभावकसँग साक्षात्कार गर्न थालियो। सबै कुरा अभिभावकलाई वुझाइयो। सबै कुरा बुझेपछि अभिभावक सकारात्मक देखिएको प्रअ सुवेदीले बताए। भेलामा अभिभावकले अंग्रेजी माध्यमबाट पठनपाठन भए आफ्नो छोराछोरी ल्याएर पढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि विस्तारै निजी विद्यालयमा भर्ना भएका आफ्ना छोराछोरी निकालेर यहाँ ल्याएर पढाउन थालेको उनले बताए। अहिले कक्षाकोठा व्यवस्थित छ। नर्सरीका विद्यार्थी खेल्दै रमाउँदै पढ्ने गर्छन्। कक्षामा टीभीको व्यवस्था गरिएको छ। हरेक शुक्रबार विद्यार्थीमा भएका प्रतिभा प्रस्तुत गर्न विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
विद्यालयमा हरेक महिनाकोे १० गते अभिभावकसँग विद्यार्थीको पढाइबारे छलफल हुने गर्छ। शैक्षिक सुधारका पक्षमा छलफल हुन्छ।
शिष्ट भाषा प्रयोग
विद्यालयमा अध्ययनरत विद्यार्थी होऊन् या शिक्षक, सबैले शिष्ट भाषा प्रयोग गर्छन्। शिक्षकले ‘तपाईं, हजुर, आउनुस्, खेल्नुहोस्, पढ्नुहोस्’ जस्ता शिष्ट भाषाको सम्बोधन विद्यार्थीलाई गर्छन् भने विद्यार्थीले पनि शिक्षकसँग संवाद गर्दा आदरपूर्ण भाषाको प्रयोग गर्छन्। सरकारले सामुदायिक विद्यालयमा सीमित बजेट विनियोजन गर्छ। यसका कारण शैक्षिक सुधारको सुरुआत भए पनि थोरै मात्रामा हुन्छ। विद्यालयको शैक्षिक सुधारदेखि पूर्वाधार व्यवस्थापनसम्मको काममा दाताको सहयोग छ।
विद्यार्थीलाई आवश्यक पर्ने पोसाक, स्टेसनरी, टिफिनकारीलगायत सामग्रीको व्यवस्था धनकुटा–१०, पारिपात्ले तिल्केचौर निवासी समाजसेवी बलराम कार्कीले जुटाएका हुन्। सबै विद्यार्थीले ती सामग्रीहरू निःशुल्क रूपमा पाएका छन्।
त्यस्तै ३ नं. वडाका वडाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी विकास घिमिरेले आफूले पाउँदै आएको सेवासुविधा बापतको रकमले विद्यालयको करिब तीन लाख १८ हजार रुपैयाँ ऋण तिरिदिएका छन्। घिमिरेले विभिन्न दाताबाट सहयोग जुटाएर यस विद्यालयको शैक्षिक स्तर उकास्न निरन्तर पहलसमेत गरिरहेका छन्। सानो प्रयासले विद्यालयको शैक्षिक स्तरमा धेरै सुधार भएको उनी बताउँछन्।
विद्यालयको भौतिक पूर्वाधारको मर्मतसम्भार तथा कक्षाकोठा व्यवस्थापन, रङरोगन गर्दा तीन लाख १८ हजार रुपियाँ खर्च भएको थियो। उक्त रकम तिर्न कतैबाट आर्थिक स्रोत नजुट्दा विद्यालयलाई ऋण लाग्यो। यसैकारण उनले आफूले पाउँदै आएको सेवासुविधा बापतको सबै रकम विद्यालयलाई ऋण तिन सहयोग गरेका थिए। वडाध्यक्ष घिमिरेकै पहलमा अहिले विद्यालयवरिपरि तार घेराबारको काम धमाधम भइरहेको छ।