'दाइजोको निहुँमा फेरि यातना'
वीरगन्ज : अदालतको आदेशमा घरमा बस्दै आएकी डा. निलम साहले दाइजोको निहुँमा पुनः यातना खेप्नु परेको दाबी गरेकी छन्। ससुरालगायतले आफूलाई घरबाट निकाल्न यातना दिएको उनले बताइन्।
वीरगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर निलमले अदालतको आदेशसमेत अटेर गरेर ससुरा पक्षले आफूलाई यातना दिएर घरनिकाला गर्न खोजेको बताइन्।
शनिबार आफू बस्ने कोठामा बिजुलीको लाइन काटिदिएको र पानीको आपूर्ति पनि बन्द गरिदिएको उनको भनाइ छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माइस्थानका गम्भरी साहका छोरा डाक्टर राजेश साहसँग डाक्टर निलमको २०६७ सालमा मागी बिहे भएको थियो। माइतीघर बाराको मटिअर्वा भएकी डाक्टर निलम हाल वीरगन्जको नेसनल मेडकल कलेजमा कार्यरत छन्।
बिहेका बेला ३५ लाख रुपैयाँ नगद र सुनका गरगहना दाइजो दिएको निलमको माइती पक्षले बताएको छ। तर पति, ससुरा र सासुले विगत एक वर्षदेखि थप दाइजो माग्न थालेका थिए। पति डाक्टर राजेश साह, ससुरा गम्भिरा साह र सासु साबित्री देवीले एउटा जिप, कार वा नगद २५ लाख रुपैयाँ माइतीबाट ल्याउ भन्दै यातना दिएर घरनिकाला गरेपछि निलमले गत माघ २० गते जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा घरेलु हिंसाको उजुरी दिएकी थिइन्।
उजुरी पश्चात केही दिन राम्रै व्यवहार भएको तर चैत ३० गते कुटपिट गर्दै घरबाट निकालिएको उनी बताउँछिन्। पटक-पटक यातना दिने र घर बाहिर निकाला गर्ने कार्य दोहोरिएपछि निलमले पर्सा जिल्ला अदालतमा 'घरमा बस्ने, खाने वातावरण मिलाई घरेलु हिंसाबाट मुक्त दिई संरक्षात्मक आदेश पाऊँ' भनी निवेदन दिएकी थिइन्।
बैशाख १६ गते अदालतबाट आदेश भए बमोजिम 'अब आइन्दा घरबाट कुनै हिंसामा पारी निकाला नगर्ने' अन्तरिम आदेश आएपछि स्थानीय अधिकारकर्मीको पहलमा बैशाख १९ गते डाक्टर निलम माईस्थानस्थित पतिको घरमा बस्दै आएकी छन्।
तर फेरि जेठ २६ गते बिहान ८ बजे पति, ससुरा र सासुले आफू बस्दै आएको कोठाको ढोका तोडफोड गरीगाली गलौजसहित कुटपिट गरेको निलमले आरोप लगाइन्।
निलमका बाबु भन्छन्- दुबैलाई डाक्टर पढाएँ
पत्रकार सम्मेलनमा निलमका बुबा डाक्टर निरन्जनप्रसाद साहले बिहेका बेला ३५ लाख दाइजो दिएको र बिहेपछि छोरी ज्वाईँ दुवैलाई आफ्नै खर्चमा एमडी पढाएको बताए। अहिले फेरि थप दाइजो मागेर छोरीमाथि अत्यचार हुँदा आफू 'मर्नु न बाच्नुको अवस्थामा पुगेको' साहले बताए।
तर निलमका ससुरा गम्भिरा साहले भने अदालतको आदेशबाट घरमा बस्दै आएकी बुहारी निलमलाई कुनै किसिमको यातना तथा गालीगलौज नगरेको बताए।
'अदालतको पत्र आएपछि उनी घरमा छुटटै बस्दै आएकी छन्', ससुरा साहले भने, ‘हामीले कुनै गालीगलौज वा टर्चर गरेका छैनौँ।'
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले अदालतको आदेशबाट निलम घर बसिरहेकाले पछिल्लो घटनाबारे निवेदन दिएको खण्डमा अनुसन्धान गर्ने बताए।
तर निलमले पछिल्लो घटनाबारे प्रहरीमा खबर नगरेको बताइन्। 'अदालतको आदेशले घरमा बसेकी हुँ', उनले भनिन्, 'मिडिया र अधिकारकर्मीले नै मलाई न्याय दिनुपर्यो।'
अदालतको अन्तरिम आदेशलगत्तै वीरगञ्जमै अर्कै घरमा बस्दै आएका उनका श्रीमान् डाक्टर राजेश साहले निलमका आरोप आधारहीन रहेको दाबी गरे। 'म उक्त घरमा बस्दिनँ। बाबा पनि बस्नुहुन्न', उनले भने, 'घरमा उनी (निलम) र आमामात्र बस्नुहुन्छ। हामीले कसरी टर्चर गर्यौँ त ?' बरु निलमले नै आफूहरूलाई लामो समयदेखि 'टर्चर' गरिरहेको उनले दाबी गरे।
उनले पाँच वर्षदेखि आफू दुईजना सम्पर्कमा नरहेको बताए। निलमले रकमका लागि आफूसँग बार्गेनिङ गरिरहेको उनले दाबी गरे।
प्रतिक्रिया दिनुहोस !