४३० गर्भवती र सुत्केरीको घरमा स्टिकर
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिकाले ४३० गर्भवती र सुत्केरीको घरमा पहिचान स्टिकर टाँसेको छ। गाउँपालिका भित्रका गर्भवती र सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको पहिचान र सेवाका लागि स्टिकर टाँसेको हो। गाउँपालिकाले सुरक्षित मातृत्व र पोषणका लागि गर्भवती र सुत्केरी पहचिान गर्न दुई थरीका स्टिकर टाँसेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन्।
‘गाउँपालिकामा सबै वडाका गर्भवती महिलाको पहिचान गरी उनीहरुलाई निशुल्क गर्भजाँच, सुत्केरी र शिशुको दुई वर्षसम्म हेरचाह तथा पोषणका लागि स्टिकर टाँसिएको हो’, उनले भनिन्। एउटा स्टिकरमा ‘कम्तीमा चारदेखि ९ पटकसम्म गर्भजाँच गराऔं’ र अर्कोमा ‘स्तनपान अमृत समान र सुरक्षित मातृत्व र पोषणमा ध्यान दिऔं’ नारा लेखिएको छ। ‘यस्ता स्टिकर गर्भवती र सुत्केरीको घरमा सबैले देख्ने स्थानमा टाँसिएको छ’, सुनुवारले भनिन्।
समयमा गर्भजाँच नगराई घरमै सुत्केरी गराउँदा महिलाको ज्यान जान थालेपछि गाउँपालिकाले विशेष कार्यक्रम तय गर्दै स्टिकर टाँस्ने निर्णय गरेको हो। गर्भवतीलाई गर्भजाँच गराउन स्वास्थ्य संस्था जाँदा र फर्कदा निशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिला र शिशुका लागि पौष्टिक आहार तथा गर्भजाँच गराएवापत ३ हजार ८ सय रुपैयाँ प्रोत्साहन भत्ता समेत दिन थालेको छ।
गर्भवती र सुत्केरीको स्वास्थ्यलाई ध्यान दिँदै फिक्कल गाउँपालिकाले सुरक्षित मातृत्व तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। पोषण परियोजनाअन्तर्गत गाउँमा गर्भवती र सुत्केरीको घर चिनियोस् भनेर गाउँपालिकाले ग्रामिण महिला चेतना केन्द्र र वर्ड भिजनको सहयोगमा छापिएको दुइथरी कार्ड घरघरमा पुर्याएको हो। ‘दुई वर्षसम्मका बालबालिका भएका महिला र गर्भवती भएको घरमा स्टिकर टाँस्दा अनुगमन गर्न सजिलो हुने भएपछि यस्तो कार्ड सुत्केरी र गर्भवतीका घरमा देखिने गरी टाँस्न लगाइएको हो’, सुनवारले भनिन्।
गाउँपालिकाले गर्भवतीलाई प्रसुतिका लागि स्वास्थ्यचौकी जानआउन एम्बुलेन्स निःशुल्क गरेको छ। अन्य अस्पतालमा लैजानु परे पचास प्रतिशत छुट दिने गरिएको उपाध्यक्ष सुनुवारले जानकारी दिइन्। सुत्केरी हुन बर्थिङ सेन्टरमै लैजान अनिवार्य गरिएको छ। घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने र महिलालाई विभिन्न किसिमको संक्रमणबाट बचाउन यस्तो अभियान सञ्चालन गरिएको र यो प्रभावकारी हुने विश्वास गरिएको छ। गाउँपालिकाले ग्रामीण क्षेत्रका महिलाको प्रजनन् स्वास्थ्य जाँच तथा परामर्शका लागि फिक्कल गाउँपालिकाका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।