चुरे विनासले सिन्धुलीका दर्जनौं बस्तीमा पानीको चरम संकट
सिन्धुली : वर्षेनी हुने चुरे दोहन र महाभारत क्षेत्रका वन फडानीका कारण पानीको मुहान सुक्न थालेपछि सिन्धुलीमा खानेपानीकै चरम अभाव हुन थालेको छ। २०७२ साल वैशाख १२ गतेको भूकम्प र तीव्ररुपमा हुँदै आएको वन फडानी, ढुंगा गिट्टी बालुवा उत्खनन्ले वन क्षेत्र उजाड हुँदै जाँदा जिल्लाका अधिकांश बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको हो।
मुहानमै पानी सुकेपछि जिल्लाको महाभारत तथा कमालाखोंच र सुनकोसीगढतिर क्षेत्रमा गर्मीयाम सुरुभएसँगै खानेपानीको चरम अभाव सुरु भएको स्थानीयले जनाए।केही वर्षअघिसम्म बाह्रै महिना घरको आँगनमै खानेपानीको धारो झर्ने कमलामाई नगरपालिका १४ रानीबासका स्थानीय शिक्षक शम्भु परियार तीनचार वर्षयता गाउँमै पानीको हाहाकार भएको बताउँछन्।
'पहिला चुरेका हरेक खोल्सामा पनि हुन्थ्यो।पाइप प्रयोग गरेर घरैपिच्छे पानीको धारा जडान गरिएको थियो। तर, पछिल्लो समय दिनदिनै चुरे फडानी बढ्दै जाँदा त्यस्ता पानीका मुहाननै सुख्खा भएपछि गाउँभरीका धारमा पानी आउन छाडेको हो,' उनले भने।
कमला नदीमा सडकका नाममा दर्जनौं क्रसर स्थापना भएका छन्। क्रसरले खोला खोतल्न थालेपछि कमला नदीमा पनि पानीको सतह भासिएको छ। 'खोलका किनारामा जडान गरिएका ट्युबेल र इनारमा पनि पानी घट्दै गएको छ। पानी अभावका कारण हिजोआज घण्टौंको दूरीबाट पानीको जोहो गर्नुपर्ने बाध्यता छ,'उनले भने।
कमला नदीमा जस्तै जिल्लाका मरिण, गवाङखोलाजस्ता नदीमा पनि पानीको सतह घटेको छ। वनफडानी, ढुंगा गिट्टी बालुवा उत्खननले पानीको स्रोत सुक्दै जाँदा जिल्लाको ठूलो जनसंख्यामा खानेपानीको अभाव सुरु भएको सुनकोसी गाउँपालिकाका बद्री दाहालको गुनासो छ।
उता सुनकोसी गाउँपालिकाको ७ वटै वडामा खानेपानीको अभाव छ। त्यस क्षेत्रमा पानीका मुहान पुरै सुकेपछि सुनकोसी नदीको पानी बोरीङ र लिफ्ट गरेर खुवाउन थालिएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराको भनाई छ।
'सुनकोसी गाउँपालिकाका केही वडा बाहेक अधिकांशमा खानेपानीको श्रोतनै छैनन्। वरीपरी सुख्खा क्षेत्र मात्र छ। पानीको मुहाननै नहुँदा गाउँपालिकाले बजेटको व्यवस्थापन गरेर सुनकोसीबाट लिफ्ट गराएर संकलन गरिएको पानी स्थानीयलाई वितरण गर्न थालिएको छ, त्यो प्रयाप्त छैन,' उनले भनिन्।
सिन्धुलीका महाभारतका पहाडमा सडक निर्माणका निहुँमा जथाभावी पहाड भत्काउँदा पानीको मुहान सुक्दै गएको स्थानीयको गुनासो छ। सिन्धुली सदरमुकाम महाभारतको काखमा छ। सदरमुकाम आसपास ग्वाङखोला, गडौली खोला छन्। तर महाभारतमा ग्रामीण सडकका नाममा पहाड भत्काउने, वन फडानी गर्ने, सदरमुकाम आसपास तर त्यसमुनीका खोला नदी उत्खनन् हुँदा जिल्लामा केही वर्षमै काकाकुल बन्ने अवस्था आएको भन्दै कमलामाई नगरपालिका ५ का वडाध्यक्ष पूर्णबहादुर खड्का चिन्ता व्यक्त गरे।
जिल्लाका अधिकांश क्षेत्रका पानीको मुहान जोगाउन सकिएन भने जिल्लामा खानेपानीको थप संकट आउनेमा कुनै दुईमत छैन्। यसका लागि प्राकृतिक श्रोतसाधनको समुचित व्यवस्थापन र संरक्षण गर्नु जरुरी भएको उनले सुझाए।
करीब ५ वर्ष अघिसम्म जिल्लामा यस्तो धेरै खानेपानीको अभाव थिएन। साविकका मुहान सुक्न थालेपछि अहिले भूमिगत स्रोतको समेत खोजि गर्न थालिएको शिद्देश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भनाई छ।