अस्पतालमा छट्पटाउँदै मधेस आन्दोलनका घाइते

अस्पतालमा छट्पटाउँदै मधेस आन्दोलनका घाइते

वीरगन्ज : मधेस आन्दोलनमा गोली लागेर घाइते भएका वीरगन्ज महानगरपालिका २८ बगहीका मन्सी पटेल, दुई सातादेखि पुन:  अस्पतालमा  छन्। अस्पताल भर्ना गरिएको दुई साता बितिसक्दा पनि उपचार खर्चमा कसैले सहयोग नगरिदिएका कारण पटेलको उपचारमा समस्या परेको उनका परिवारको दुखेसो छ ।

२०७२ साल असोज ३ गते संविधान जारी भयो। संविधान विरुद्ध प्रदर्शन गर्दा वीरगन्जको गीतामन्दिर रोडमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। प्रहरीले हानेको गोली लागेर घाइते भएका पटेल, मधेस आन्दोलनको जीउँदो सहिदका रुपमा परिचित छन्।

पिठ्यु र कुमको बीचमा गोली लागि गम्भीर घाइते भएका पटेल , त्यस बेला काठमाडौँका विभिन्न अस्पतालमा ६ महिना उपचार गरी घर फर्किएका थिए। गोलीले मेरुदण्डको नशामै असर पारेपछि उनका दुवै खुट्टा नचल्ने भयो।  

काठमाडौँमा उपचारका क्रममा बेडमा लामो समयसम्म सुतिरहँदा उनको कम्मर र दुवै खुटटा घाउ भएको भएको थियो। सो घाउ अहिले फेरि बल्झिएपछि, पटेललाई जेठ १५ गते वीरगन्जको एडभान्स मेडिकेयर हस्पिटलमा भर्ना गरियो ।

तर त्यहाँ उपचार खर्च महङ्गो भएर जेठ २८ गते वीरगन्जकै सरकारी अस्पताल नारायणी अस्पतालमा भर्ना गरेर उपचार गराइरहेको पटेलकी श्रीमती शान्तिकुमारी पटेलले बताइन्।

'नारायणी अस्पातालमा घाउको उपचार यहाँ सम्भव नभएकोले काठमाडौँ लैजान भनेका छन्', पटेलकी श्रीमती शान्तिले भनिन्, ‘ वीरगन्जमै उपचार गराउँदा गराउँदै २० हजार खर्च भइसक्यो अब पैसा छैन , काठमाडौँ कसरी लग्ने ?'

श्रीमानको उपचार गर्न प्रतिनिधि गुहार्दा कसैले सहयोग नगरेको उनले बताइन्।
'सांसद्‍लाई पटक-पटक फोन गरेँ तर फोन उठेन, मुख्यमन्त्रीले ५० हजारको चेक पठाइदिन्छु भनेको तीन दिन भइसक्यो तर जनकपुरबाट चेक आएको छैन', पटेलकी श्रीमती शान्ति कुमारीले भनिन्, ‘मेयरलाई सोमबार भेटेरै भनेँ। उहाँले गाडी पठाउँछु, काठमाडौँ लैजानुस् भन्नुभयो तर गाडी मात्र पाएर कसरी लानु ? अब हामीसँग एक सुका पनि छैन।'

'हामीसँग एक धुर पनि जग्गा छैन, अर्कैको जग्गमा घर बनाएर बसिरहेका छौँ , पटेलकी श्रीमती शान्ति कुमारीले भनिन् , ‘महानगरपालिकाले मलाई गाउँकै हेल्थपोष्टमा एकवर्षदेखि पियनको जागीर दिएको छ , त्यसबाट १६ हजार तलब आउँछ, ६÷७ हजार रुपैयाँ त श्रीमानको औषधीमा मात्रै खर्च हुन्छ।'

'अहिले पनि कम्मर मुनिको घाउबाट पानी चुहिरहेको छ , त्यहि घाउका कारण बेला बेलामा ज्वरो पनि आउँछ', उनले भनिन्, ‘गोली लागेदेखि नै दुवै खुट्टा चल्दैन, दिशा पिसाब सबै आफैँले गराउनु पर्छ।'

घाइते पटेलको उपचारमा शुरुदेखि नै समन्वय र सहयोग गर्दै आएका सामाजिक अभियन्ता प्रकाश थारुले नारायणी अस्पतालका चिकित्सकले पटेलको घाउ निको पार्न वीर अस्पतालमा लगेर प्लाष्टिक सर्जरी नै गर्नु पर्ने सुझाएको जानकारी दिए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दिपक यादवले पेटलको उपचारका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्‍को बैठकबाट भइसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.