व्यवसायीले मानमर्दन गरे भन्दै पत्रकारको विरोध
विराटनगर : एक व्यवसायीले सार्वजनिक रुपमै पत्रकारिता पेशाको मानमर्दन गरेको भन्दै माेरङका पत्रकारहरुले विरोध जनाएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले ‘जाँड नखुवाइ पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिएको भन्दै स्वतन्त्र पत्रकार संघ मोरङले विज्ञप्ति निकालेको हो ।
जेठ ३२ गते विराटनगरस्थित परोपकार आधारभुत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा व्यवसायी घिमिरेले त्यस्तो अभिव्यक्ति दिएको स्वतन्त्र पत्रकार संघको दावी छ ।
विज्ञप्तिमा जिल्ला अध्यक्ष विजय खतिवडा, केन्द्रीय सदस्यहरु महाप्रसाद खतिवडा, महानन्द सापकोटा र देवनारायण साहको हस्ताक्षर छ । ‘यस अभिव्यक्तिको घोर भत्र्सना र निन्दा गर्दै उक्त भनाइप्रति उद्योग संगठन मोरङको पत्रकार र पत्रकारिताप्रतिको आधिकारिक धारणा माग गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सचिव अर्जुन आचार्यले कार्यक्रममा घिमिरेले यस्तो कुरा भने÷नभनेको विषयमा खोजविन थालिएको बताएका छन् । उद्योगी घिमिरेले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । ‘बोल्दै नबोलेको कुरा खै कसरी आयो म आफैँ अचम्ममा परेँ,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस !