गोरोपनको विज्ञापन नगर्ने बलिउड कलाकार

गोरोपनको विज्ञापन नगर्ने बलिउड कलाकार

केही बलिउड सेलिब्रिटीले गोरो बनाउने भनिँदै आएको फेयरनेस क्रिमका विज्ञापन गरेका छन्। विज्ञापनका लागि ठूलो रकम दिँदा पनि केहीले भने त्यस्ता सौन्दर्य सामग्रीको विज्ञापन गर्न अस्वीकार गरेका छन्।



साई पल्लवी
केही समयअघि अभिनेत्री साई पल्लवी चर्चामा रहिन् । २७ वर्षीया यी अभिनेत्रीलाई दुई करोड भारु पारिश्रमिकमा फेयरनेस क्रिमको विज्ञापन अफर गरिएको थियो । तर, उनले विज्ञापनमा काम गर्न मानिनन् । ‘कालो भारतीय रङ हो,’ उनले एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदा भनेकी थिइन्, ‘हामी विदेशीसँग ‘तिमीहरूको छालाको रङ सेतो किन छ ?’ भनेर सोध्न सक्दैनौँ । उनीहरू जस्ता छन्, हामीले त्यस्तै हुनुपर्छ भन्ने छैन । त्यो उनीहरूको छालाको रङ हो, यो हाम्रो । अफ्रिकाका मानिसको छालाको आफ्नै रङ छ, मलाई उनीहरू सुन्दर लाग्छन् ।’ साई पल्लवीले मलयालम, तेलगु र तमिललगायत भाषाका थुप्रै दक्षिण भारतीय फिल्ममा काम गरेकी छिन् ।

कंगना रनोट
महिलालाई गोरो बनाउने सौन्दर्य सामग्रीको विज्ञापनमा बलिउडकी ‘क्विन’ कंगना रनोट पनि देखिन्नन् । बलिउडमा सफल नहुँदाताका पनि उनले दुई करोड भारुको फेयरनेस क्रिमको विज्ञापन गर्न अस्वीकार गरेकी थिइन् । एक अन्तर्वार्तामा उनले भनेकी थिइन्– ‘सेतो–कालो छाला भन्ने धारणा मैले सानैदेखि बुझ्न सकिनँ । सेलिब्रिटी भएर आउने पुस्ताका लागि हामी कस्ता उदाहरण स्थापित गर्दै छौँ ? गोरोपनको क्रिमको विज्ञापन अस्वीकार गरेकोमा मलाई कुनै पछुतो छैन । सार्वजनिक व्यक्तित्वका रूपमा मेरा केही जिम्मेवारी छन् ।’

कल्की कोचलिन
अभिनेत्री कल्की कोचलिनलाई पनि फेयरनेस क्रिमको विज्ञापन अफर गरिएको थियो । तर, उनले विज्ञापनको प्रस्ताव स्विकारिनन् । ‘ये जवानी है दिवानी’, ‘मार्गरिटा स्ट्र’लगायत फिल्ममा काम गरेकी कल्कीले भारतीय मिडियासँग फेयरनेस क्रिमको विज्ञापनबारे कुरा गरेकी थिइन् । ‘सेतो छालाको चाहना राख्नु गलत होइन,’ उनले भनेकी थिइन्, ‘तर, भारतमा सेतो छालाको अधिक चाह छ । म यस्तो सामग्रीको विज्ञापन गर्न चाहन्छु, जसले मेरो छालाको रङ गाढा बनाओस् ।’ कल्कीले एन्टी एजिङ क्रिमको विज्ञापन गरेकी छिन् । ‘मैले एन्टी एजिङ क्रिमको विज्ञापन गरेकी छु,’ उनले भनेकी थिइन्, ‘उमेर बढेसँगै महिलाले आफ्नो छालाका स्याहार गर्नुपर्छ भनेर यो क्रिमको विज्ञापन गरेकी हुँ ।’

स्वरा भास्कर
अभिनेत्री स्वरा भास्करलाई पनि फेयरनेस क्रिम उत्पादन गर्ने एक ब्रान्डले सम्पर्क गरेको थियो । तर, उनले प्रस्ताव ठाडै अस्वीकार गरिन् । ‘फेयरनेस क्रिमको विज्ञापन गर्नु भनेको जातिवादलाई बढावा दिनु हो,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन् । स्वरालाई सन् २०१५ मा सो विज्ञापन प्रस्ताव गरिएको थियो । ‘सेतो छालाप्रतिको लगावलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भनेकी थिइन्, ‘यस्ता विज्ञापनले छालाप्रति गलत धारणा विकास गर्छ । यस्ता विज्ञापनले गर्दा कालो छाला भएकाहरूको आत्मविश्वास घट्न सक्छ । मान्छेले आफ्नो छालाको रङ जस्तो भए पनि खुशीसाथ स्वीकार गर्नुपर्छ भन्ने मलाई लाग्छ । कालो, गहुँगोरो जस्तो भए पनि मान्छेले आफूलाई पर्फेक्ट ठान्नुपर्छ ।’ 

रणवीर कपुर
फेयरनेस क्रिमको विज्ञापनले नकारात्मक सन्देश दिने भन्दै अभिनेता रणवीर कपुरले यसको विज्ञापन गर्न अस्वीकार गरेका थिए । सन् २०११ मा उनलाई पुरुषसम्बन्धी फेयरनेस क्रिमको विज्ञापन अफर गरिएको थियो । तर, नौ करोड भारु पारिश्रमिक पाइने त्यो विज्ञापन उनले गरेनन् ।

रणदीप हुड्डा
‘हाइवे’, ‘सर्बजीत’लगायत फिल्मका काम गरेका अभिनेता रणदीप हुड्डाको विचार पनि फेयरनेस क्रिमबारे स्पष्ट छ । उनलाई यस्तो विज्ञापन गर्न मन पर्दैन । एक अंग्रेजी अखबारसँग कुरा गर्दै उनले भनेका थिए– ‘मलाई लाग्छ, भारत मात्र यस्तो देश हो, जो गोरोपनका लागि बौलाहा छ । विश्वका कतिपय देशका मानिस कालो हुन चर्को घाममा सुत्छन् । तर, यहाँ सेतो रङ नै सुन्दरताको मानक छ । यस्तो सोच हटाउन आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.