बंगलादेश भ्रमणको मीठो सम्झना

बंगलादेश भ्रमणको मीठो सम्झना

कुरा केही महिना अघिको हो। बंगलादेशको गाजीपुर मौचकमा रहेको राष्ट्रिय स्काउट तालिम केन्द्रमा आयोजना हुन लागेको दसौं बंगलादेश तथा तेस्रो सान्सो स्काउट ज्याम्बोरीमा भाग लिनको लागि म मान्यवरबाट आशिष थापी घरबाट निस्किएँ।

भक्तपुर स्काउटको तर्फबाट म, वि श्रुत ध्वँजू, ग्रेसा कर्माचार्य, प्रज्ञान तमखू र आदर्श जनप्रेमी स्कुलबाट एकजना साथीसमेत गरी पाँचजनाले स्काउट ज्याम्बोरीमा सहभागी हुने अवसर पाएका थियौं। कन्टिन्जेन्ट लिडर हाम्रै स्कुलका संस्थापक प्रिन्सिपल विजेन्द्र ध्वजू हुनुहुन्थ्यो। त्रिभुवन विमानस्थलबाट बंगलादेशको राजधानी ढाकाका लागि उडेको विमान करिब एक घण्टा १५ मिनेटको हवाई उडान गरी त्यहाँको हजरत सेहजलाल विमानस्थलमा अवतरण गर्‍यो।

ज्याम्बोरीमा आयोजक मुलुक बंगलादेशका साथै भुटान, माल्दिभ्स, श्रीलंका, भारत र संयुक्त राज्य अमेरिकाका स्काउट सहभागी थिए। नेपालबाट पनि विभिन्न जिल्लाका विद्यालयका विद्यार्थी र हाम्रो विद्यालयको तर्फबाट समेत गरी ९७ जना स्काउट सहभागी थिए।

विमानस्थलमा अवतरण गरेपछि बेलुकी करिब ७ बजे हामी त्यहाँ पुग्यौं। हामीलाई ज्याम्बोरीका आयोजक साथीहरूले भव्यताका साथ स्वागत गरे। हामीलाई उनीहरूले स्काउट तालिम केन्द्रमा लगी खाने, बस्ने र सुत्ने व्यवस्था मिलाएका थिए।

दोस्रो र तेस्रो दिनमा ज्याम्बोरी क्याम्पको रमाइलोसँगै हामीले नयाँ साथी बनायौं। त्यहाँका सहरहरू पनि घुम्यौं। ज्याम्बोरीको कार्यक्रममा हामी पनि स्काउट पोसाक लगाई फूर्तिसाथ सहभागी भयौं। कार्यक्रम सकिएपछि खानपिन गरेर हामीलाई ट्रेकिङ लगिएको थियो। ट्रेकिङ गर्दा अलिअलि थाकेको महसुस भए तापनि नयाँ ठाउँको पदयात्रा गर्दा निकै नै रमाइलो भयो।

पाँचौं दिनमा स्काउट ज्याम्बोरीको भव्यताका साथ उद्घाटन भयो। कार्यक्रममा बंगलादेशका राष्ट्रपति अब्दुल रसिदको उपस्थिति रहेको थियो। प्रधानमन्त्री शेख हसिनाले कार्यक्रमको सफलताको कामना गरिन्।

छैटौं दिनमा हामीलाई विभिन्न खेलहरू खेलाउन र पौडी खेली रमाइलो गराउनको लागि गाजीपुरको वाटर पार्कमा लगिएको थियो। उक्त पार्कमा नयाँ साथीहरूसँग ३० डिग्रीको गर्मीमा पौडी खेल्नुको मजै बेग्लै थियो।

नेपालबाट गएका हामीले त्यस दिनलाई नेपाल दिवस नामकरण गरी विविध प्रकारका नेपाली खाना तयार गरी विशिष्ट व्यक्तिहरूलाई निम्त्याएर रात्रिभोजको आयोजना गर्‍यौं। रात्रिभोजको कार्यक्रममा नेपाली मौलिकता झल्किने नेपाली नृत्यहरू प्रस्तुत गरी निकै रमाइलो गरेका थियौं।

सातौं दिनमा हामी मंकी ब्रिज, नेट क्लाइम्बिङ, कमान्डो ब्रिज, सुपरम्यान जम्पलगायतका थुप्रै रमाइलो खेलमा सहभागी भयौं। त्यस रात विशाल क्याम्प फायर आयोजना गरिएको थियो। कार्यक्रममा हामी नेपालको मौलिक भेषभूषामा सजिएर नाचगान गरी रमाइलो गर्‍यौं।

ज्याम्बोरीको अन्तिम दिनमा सहभागी सबै देशका स्काउटहरूले आआफ्नो देशको मौलिक र परम्परागत पोशाकमा सजिएर नृत्य प्रस्तुत गरेका थिए। यसको साथै सहभागी साथीहरूबीच हाजिरीजवाफ प्रतियोगिता पनि गरिएको थियो। जसमा पनि सौभाग्यबस हामी नै पहिलो भयौं।

नवौं दिन बिहान ज्याम्बोरी क्याम्पमा विदेशबाट सहभागी भएका साथीहरूसँग बिदा लिई हामी सबैजना बंगलादेशको राजधानी ढाका सहरको भ्रमणको लागि निस्कियौं। दिनभरि नै ढाका सहरका महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थानहरूको हामीले अवलोकन गर्‍र्यौं। त्यहाँका बजारहरू घुम्दै बंगलादेशको चिनोको रूपमा आफूलाई मनपर्ने सामानहरू खरिद गर्‍यै।

बंगलादेशको नौ दिनको अत्यन्त रमाइलो यात्राको अविस्मरणीय क्षणहरूको सम्झनाहरू मानसपटलमा राख्दै दसौं दिन आफ्नो जन्मभूमि नेपाल फर्किनका लागि ढाका विमानस्थल पुग्यौं। त्यहाँबाट हवाईजहाज चढेर हामी केही घण्टापछि नै काठमाडौं आइपुग्यौं।

सानै उमेरमा नेपालबाट पहिलोपल्ट हवाईजहाजको लामो यात्रा गरी विदेश भ्रमण गर्न पाउँदा निकै रमाइलो अनुभव भयो। बंगलादेशको कला, संस्कृति, रहनसहन, खानपिन, भेषभूषा र भौगोलिक वातावरण आदि नजिकैबाट हेर्न र बुझ्न पाउँदा निकै खुसी लाग्यो।

देशविदेशबाट आएका समकक्षीसँग भेटेर उनीहरूसँग मित्रता गाँस्न पाउँदाको क्षण निकै अविस्मरणीय रह्यो। सानै उमेरमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भई विविध ज्ञानमूलक विषयको अध्ययन, जानकारी र अवलोकन गर्न पाउँदा आफूलाई अत्यन्त भाग्यमानी ठानेकी छु।

यशश्विनी झा

कक्षा  : १०

इजी पायोनियर स्कुल, इटाछें, भक्तपुर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.