भेरीको पानी खाँदै कुदुवासी
जाजरकोट : भेरी नगरपालिका–१३ कुदुकी हिरा गिरी पैदल हिँडेर खानेपानी लिन भेरी नदी किनारमा पुग्छिन्। नदीको धमिलै भए पनि गाग्रीमा पानी भरेर उनी घर फर्किन्छन्। उनले भनिन्, ‘नदी धमिलो हुँदा कपडाले छानेर पानी भर्छु, कहिले काँही पानीसँगै काठ, झारपात पनि आउँछन्।’
गाउँमा खानेपानी हुँदा यहाँका करिब चार सय परिवार वर्षौंदेखि नदीकै पानी खान बाध्य छन्। कतिपय ठाँउमा सिधै नदीमा शौचालयको ढल पनि मिसाइएको छ। ‘कुदुवासीका लागि साँझ र बिहानको समय पानी बोक्नमै बित्छ, एक गाग्री पिउने पानीको लागि तीन घन्टा समय जान्छ’ कुदुकी ६७ वर्षीया कमला आचार्यले भनिन्। गाउँमा खानेपानीको समस्याबारे स्थानीय सरकार र नेताले नसुनेको उनले दुःखेसो गरिन्।
कुदुवासीले घाटबाट आएको अङ्गारसहितको पानी खानु पर्ने बाध्यता छ। निर्वाचनताका गाउँमा खानेपानी समस्या समाधान गर्ने वाचा गरेका नेता अहिले गाउँ समस्या बुझ्नै नचाहेको स्थानीय बताउँछन्। साना बालबालिकादेखि बृद्ध महिला पानी लिनको लागि नदीमा लर्को लाग्ने गरेको स्थानीय प्रकाश आरसीले बताए। खानेपानी समस्याले काकाकुल वासिन्दाले नदीकै धमिलो पानी खाँदा विभिन्न सरुवा रोगको संक्रमण देखिने गरेको छ।
स्थानीय नरबहादुर बस्नेतका अनुसार तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयबाट चार करोडको बृहत खानेपानी आयोजना सञ्चालनमा भए पनि निर्माण जिम्मा लिएका उपभोक्ता समितिका पदाधिकारीको लापरबाहीले अहिलेसम्म खानेपानीको इन्टेक मात्र बनेको छ। भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले कुदुमा खानेपानी समस्या समाधानका लागि नगरपालिकाले विशेष पहल गर्ने बताए।