'निजगढ विमानस्थलको विकल्प खोज्न बन्द गरौं'
वीरगन्ज : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख इन्जिनियर ओम शर्माले विमानस्थलका लागि निजगढको विकल्प खोज्ने काम बन्द गर्न आग्रह गरेका छन् ।
वीरगन्जमा आइतवार होटल तथा पर्यटन व्यवसायी संघले आयोजना गरेको 'निजगढ विमानस्थलको आवश्यकता तथा सरोकारवालाको भूमिका' विषयक अन्तरकृया कार्यक्रममा बोल्दै शर्माले विकल्प खोज्ने काम बन्द गरी काम सुरु गर्ने आग्रह गरेका हुन् ।
आयोजना प्रमुख शर्माले भने, ‘निजगढको विकल्प छैन, यसको विकल्प खोज्नु पनि हुन्न, त्यसैले अब यो ठाँउ त्यो ठाँउ भनेर विवाद नगरौँ, निजगढको विकल्प खोज्ने वहश वा छलफल बन्द गरौं ।'
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु गर्न सरकारलाई दबाब कसरी दिने सबैलाई लाग्न उनले आग्रह पनि गरे।
‘सबै दृष्टिले उयुक्त भएर नै निजगढलाई विमानस्थलको लागि छनौट गरिएको हो, त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढको विकल्प नै छैन', उनले भने ।
पहिलो चरणमा विमानस्थल सञ्चालनका लागि १० देखि १२ हजार मात्र रुख काटे मात्र पुग्ने भन्दै शर्माले भने, ‘८ हजार हेक्टरको जंगल मासेर २४ लाख रुख काट्नु पर्ने तर्क मिथ्या मात्रै हो, अहिले पहिलो चरणको काम सकेर विमास्थनस्थल सञ्चालनका लागि १० देखि १२ हजार मात्र काटे पनि पुग्छ ।'
सालका रुखहरु भएको घना जंगल क्षेत्र विमानस्थलका लागि निर्माण गरिने संरचनाभन्दा बाहिर पर्ने हुँदा ७० प्रतिशत सालका रुखहरु सुरक्षित रहने भन्दै शर्माले भने, ‘तीनवटै चरणको काम सकेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्दासम्म बढीमा ३ लाख ३४ हजार मात्र रुख काट्नुपर्छ, त्यसैले २४ लाख रुख काट्नै पर्ने हल्ला मिथ्या मात्रै हो ।'
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियावस्ती अन्यत्र स्थानान्तरण गर्नु पर्ने र त्यो काम आगामी आर्थिक वर्षमा सुरु गरिसक्ने योजना आफुहरुको रहेको जानकारी उनले दिए ।
आगामी आर्थिक वर्षमा औपचारिक रुपमा काम सुरु गरिने उनले जानकारी दिए । 'पहिलो काम भनेको टाँगियावस्तीमा रहेका १ हजार चार सय ७६ घरधुरीलाई स्थानान्तरण गर्नु नै हो', उनले भने, 'उनीहरु त्यहाँबाट सर्न तयार पनि भइसकेका छन्, वस्ती स्थानान्तरणका लागि जग्गा पनि खोजिसकेका छौँ ।'
टाँगीयावस्ती छेउकै कोल्हवी, पिलुवा र जितपुर सिमरा उपमहानगरपालिकाको डुमरवाना क्षेत्रमा रहेको ऐलानी जग्गामध्ये एक स्थानलाई छनौट गर्ने विषयमा स्थानीय तहसँग छलफल भइरहेको जानकारी उनले दिए । उनले भने, ‘यो काम अब नयाँ आर्थिक वर्ष सुरु भएसंगै हुन्छ ।'
टाँगीयावस्ती स्थानान्तरण गरी पहिलो चरणमा पहिलो धावनमार्ग , पहिलो टर्मिनल भवन निर्माण गरी पाँच वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउन सकिने जानकारी दिँदै उनले भने,‘पहिलो चरणको संरचना निर्माणका लागि करिब एक खर्ब ४० अर्ब रकमले पुग्छ ।'
आगामी आर्थिक वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुटटै बजेट विनियोजन नगरिएको सन्दर्भमा शर्माले भने,आगामी आर्थिक वर्षको बजेटमा यसका लागि पनि बजेट विनियोजन गरिएको छ, अहिले विनियोजन गरिएको बजेट अपुग भयो भने थप माग्न पनि सकिन्छ, त्यसैले बजेटको विषयलाई लिएर चिन्ता गर्नु पर्ने अवस्था छैन ।'
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइ पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यसबाट कम्तीमा पनि १८ लाखले प्रत्यक्ष रोजगारी पनि पाउने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि चौतर्फी पहल र दबावको आवश्यकता रहेको शर्माले बताए ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, संसारकै सुरक्षित, व्यवस्थित, सुविधासम्पन्न र आकर्षक विमानस्थल मध्येको एक हुने भन्दै शर्माले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना मात्र नभइ राष्टिय समृद्धिको मूल आधार पनि हो , यसबाट देशले पर्यटनको क्षेत्रमा अतुलनीय फड्को पनि मार्न सक्छ ।
कार्यक्रममा सहभागी वीरगन्जका उद्योगी व्यपारी, होटल तथा पर्यटन व्यवसायी, पुर्व सांसद लगायतले पनि निजगढमै अन्तर्राष्ट्रियय विमानस्थल बन्नु पर्नेमा जोड दिँदै यसका लागि सरकारलाई दबाब दिन आफुहरु लाग्ने बताए ।
होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा पुर्वसांसद अनिल रुंगटा ,वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी ,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया , पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, पर्यटन पत्रकार संघका अध्यक्ष शंकर अचार्य, आर्थिक पत्रकार संघका अध्यक्ष रितेश त्रिपाठीका साथै उद्योगी व्यपारी, होटल व्यवसायी , सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस !