रक्सी खान नेपाल आउने भारतीयको दादागिरी, पुन: प्रहरीमाथि हातपात
वीरगन्ज : भारतको बिहारमा मदिराको बिक्री र सेवनमा प्रतिबन्ध लगाइएपछि पर्साको ग्रामीण क्षेत्रका सिमावर्ती गाउँमा मदिरा सेवन गर्न आउने भारतीयको दादागिरी बढ्दै गएको छ।
दुई साताकै अन्तरालमा उनीहरुले प्रहरीलाई नै दुई पटक हातपात गरेको घटना सार्वजनिक भएको छ। आइतबार बेलुकी मदिरा सेवन गर्न आएका सातजना भारतीयले पर्साको जिराभवानी गाउँ पालिकाको महादेवपट्टीमा रहेको प्रहरी चौकीका प्रहरीलाई हातपात गरेका छन्।
प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वमा रहेको टोलीले सवारी चेक जाच गर्ने क्रममा मदिरा सेवन गरेका भारतीयहरुले प्रहरीलाई हात पात हुन्।
ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा रहेको होटलमा अत्याधिक मदिरा सेवन गरि घर फर्किने क्रममा भारतीयहरुले सवारी चेकाचमा रहेका प्रहरीलाई हातपात गरेको प्रहरी सहायक निरीक्षक झाले बताए । भारतीयहरु सवार रहेको बीआर २२ जे २०९० र अर्को नम्बर प्लेट नै नभएको मोटरसाइकल चेकजाच गर्ने क्रममा प्रहरीलाई हातपात गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक झाले बताए।
पक्राउ पर्नेमा भारत बिहारको मैनाटाड थाना वडा नम्बर १ का १९ वर्षीय सन्जित कुमार पटेल, २० वर्षीय सनिकुमार पटेल , ३५ वर्षीय बिरिन्ची सिंह, २५ वर्षीय सत्यम साह ,२३ वर्षीय धनन्जय कानु , सन्दिप कुमार पटेल र अलोक सिंह रहेका छन्।
हातपात गर्ने भारतीयलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी सहायक निरीक्षक झाले जानकारी दिए ।
यसअघि गत जेठ २७ गते पनि पर्साकै ठोरी स्थित इलाका प्रहरी कार्यालयको सेन्ट्री डयु्टिमा बसेका प्रहरी जवान प्रसाद चौधरीलाई मदिरा सेवन गरेका पाँच भारतीयले कुटपिट गरेका थिए। जेठ २७ गते ठोरी घुम्न आएका पाँच जना भारतीय युवाहरुले मदिरा सेवन गरी इलाका प्रहरी कार्यालय ठोरीको सेन्ट्रीमा बसेका प्रहरी जवान चौधरीमाथि हातपात गर्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध शीर्षकमा मुद्दा चलाएको थियो ।
यसअघि गत जेठ २ गते पर्साको ठोरी नाकासँग सिमाना जोडिएको भारतको भिखनाठोरी बजारमा लागेको हाटबजारमा किनमेल गर्न गएका पाँच जना नेपालीलाई भारतीयले कुटपिट गरी घाइते बनाएका थिए। उक्त घटनापछि भिखनाठोरी बजार असुरक्षित भएको भन्दै ठोरीका स्थानीयहरु त्यहाँ किनमेल गर्न जान छाडेका थिए।
प्रतिक्रिया दिनुहोस !