चन्दा उठाउन गएका विप्लवका सेक्रेटरीसहित दुई पक्राउ
विराटनगर : मोरङको बेलबारीमा एक व्यवसायीसँग माग गरिएको चन्दा उठाउन जाँदा नेत्रविक्रम चन्द ‘विप्लव’नेत्रृत्वको नेकपाका दुई जना हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका मध्ये राई सरकारद्वारा प्रतिबन्धित ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता हुन् । धिमाल साना हतियारबाट गोली हान्न सिपालु कार्यकर्ता भएकाले उनलाई ‘विप्लव’ समूहले ‘सुटर’का रुपमा प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरुको साथबाट दुईवटा पेस्तोल, १४ राउण्ड गोली र चारवटा म्यागजिन बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । उनका अनुसार प्रहरीले बेलबारी नगरपालिका–४ बुधबारे स्कुलडाँडा भन्ने ठाउँमा नियमित चेकजाँच गरिरहेको अवस्थामा उनीहरु को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा आएका थिए । मोटरसाइकल रोकेर खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट हतियार बरामद भएको जानकारी अधिकारीले दिए ।
प्रहरीले ‘विप्लव’ समूहले चन्दा माग गरिएको भनिएका व्यापारीका बारेमा भने सबै कुरा गोप्य राखेको छ । पक्राउ परेका दुवै जनाका बारेमा मोरङ प्रहरीले केही बेरमा पत्रकार सम्मेलनको आयोजना गरेर सबै कुरा सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस !